कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली–दाहाल छलफल सकारात्मक, शुक्रबार फेरि बस्ने

बबिता शर्मा

काठमाडौँ — नौ दिनपछि भेटवार्ता गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेका छन् । दुई अध्यक्षबीचको बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो संवाद सकारात्मक भएको बताइएको छ ।

ओली–दाहाल छलफल सकारात्मक, शुक्रबार फेरि बस्ने

दाहालको सचिवालयले भेटघाट सकारात्मक भएको र शुक्रबार पुनः बस्ने सहमति भएको जानकारी दिएको छ । महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ ।

दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको थियो । महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा दुई अध्यक्षबीच संवाद र सहमति जुटाउने कोशिषमा लागेका थिए । बिहीबारको ओली र दाहाल संवादमा केही समय पौडेल, पोखरेल र शर्मा पनि बसेका थिए ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्‍‍नुपर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन । यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ ।

दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ । बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए ।

बुधवार नै अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई र उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए ।

प्रकाशित : श्रावण २९, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?