‘समयमै भेन्टिलेटर पाएको भए आमा बाँच्‍नुहुन्थ्यो कि !’- समाचार - कान्तिपुर समाचार

‘समयमै भेन्टिलेटर पाएको भए आमा बाँच्‍नुहुन्थ्यो कि !’

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमणबाट सोमबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की एक महिलाको समयमा भेन्टिलेटर नपाएर मृत्यु भएको खुलेको छ । समयमा उचित उपचार पाउन नसकेकाले ज्यान गुमाउनुपरेको मृतकका परिवारका सदस्यले गुनासो गरेका छन् ।

५० वर्षीया ती महिलालाई साउन १८ मा पेट पोल्ने, ज्वरो आउने समस्या सुरु भएको थियो । साउन १९ मा जनैपूर्णिमाका दिन परिवारका साथ घरमै बंगुरको मासु र रक्सी खाएकी थिइन् ।

‘ज्वरो नघटेपछि स्थानीय मेडिकलबाट औषधि ल्याएर खुवायौं,’ मृतकका जेठा छोराले टेलिफोनमा भने, ‘आँखा पनि पहेंलो भएपछि जन्डिस भएको आशंका गरेका थियौं ।’

घरबाट स्थानीय बसमा पाँचखाल झरेका उनीहरूले सुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा देखाएका थिए । त्यहाँ उपचार हुन नसक्ने भन्दै धुलिखेल अस्पताल रेफर गरियो । ‘तर दिदीले भक्तपुर ल्याउनु भनेकोले त्यहाँबाट हिँड्यौं,’ उनले भने, ‘पाँचखालमा चढेको गाडीले धुलिखेलसम्म ल्यायो । साँगासम्म अर्को गाडीमा आएर साझा बस चढेर भक्तपुर दिदीकोमा गएर बस्यौं ।’

साउन २४ मा उनलाई भक्तपुर अस्पताल पुर्‍याइयो । अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि उनीहरू केएमसी अस्पताल सिनामंगल पुगेका थिए । ‘केमएसीको इमर्जेन्सीमा एक घण्टा जति रह्यौं, त्यहाँ महँगो भएकोले कुनै अरू अस्पताल जान सुझाव पाएपछि हामी पाटन अस्पताल गयौं,’ मृतकका छोराले भने, ‘पाटन अस्पतालले करिब ४ घण्टा प्रयास गर्दा पनि भेन्टिलेटर खाली नभएपछि किस्ट अस्पतालमा सम्पर्क गरेर त्यहाँ भर्ना गर्‍यौं ।’

अस्पतालले बिरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको भन्दै जोखिम मोल्न चाहे मात्रै उपचार गर्ने बताएको थियो । मृतकका अर्का छोराले भने, ‘सास रहुन्जेल आस हुन्छ भनेर उपचार थाल्न भन्यौं तर सोमबार बिहान आमाको मृत्यु भयो ।’

उपचार सुरु गर्नुअघि अस्पतालले गरेको स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि सेनाले शव बुझेर अन्त्येष्टि गरेको थियो । मृतकका जेठा छोराले सुरुमा नै भेन्टिलेटरमा उपचार पाएको भए आमालाई बचाउन सकिन्थ्यो भन्ने आशा भएको बताउँछन् ।

‘समयमा नै भेन्टिलेटर पाएको भए आमा बाँच्नुहुन्थ्यो कि भन्ने थियो,’ उनले भने, ‘धेरै अस्पताल चहार्दाचहार्दै आमालाई कोरोना सर्‍यो कि भन्ने पनि लाग्छ ।’ मृतक महिलालाई निमोनिया र फोक्सोमा पानी भरिएको पाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्

लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’

खोक्दै ओछ्यानमा छटपटिँदै 
मकर श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना संक्रमित देखिएकामा १४ जना घरमै आइसोलेसनमा छन् ।

यसरी घरमै बसेकामध्ये एक युवाले स्वास्थ्य मन्त्रालय र विभागका भेट्टाएजति सबै नम्बरमा फोन गरेर अस्पतालको आइसोलेसनका लागि हारगुहार गरिरहेका छन् । सिनामंगलमा भाडामा कोठा लिएर बसेका ती २७ वर्षीय युवामा संक्रमणको लक्षणसमेत छ । उनले आफ्नो अवस्था यसरी सुनाए :

***

‘मलाई कोरोना लागेको शनिबार राति ११ बजे थाहा पाएँ । अफिसले शुक्रबार मसहित अरु साथीहरुको निजी प्रयोगशालालाई पैसा तिरेर कोरोना परीक्षण गराएको थियो । मेरो मात्रै पोजिटिभ रिपोर्ट आयो । संक्रमण तीव्र भएसँगै यताउता जाँदा पनि निकै सावधानी अपनाउँथें । कहाँबाट सर्‍यो थाहै छैन ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले फोन गर्छन् र सरकारी एम्बुलेन्समा राखेर आइसोलेसन लैजान्छन् भन्ने सुनेको थिएँ ।

फोन आउला कि भनेर रातभरि कुरिरहें । न फोन आयो न त एम्बुलेन्स नै । कतैबाट फोन नआएपछि मन्त्रालयको टोल फ्रि ११३० नम्बरमा फोन गरें । आइतबार डाक्टर आएपछि फोन गर्ने जवाफ उताबाट आयो । अरू रोग भए पो

ट्याक्सी चढेर वा साथीको मोटरसाइकलमा नजिकैको क्लिनिक र अस्पताल जानु ! आफूलाई कोरोना पोजिटिभ छ भन्ने थाहा हुँदाहुँदै लुखुरलुखुर कहाँ जानु ? कोरोना लागेको थाहा पाएको रात त सुत्नै सकिएन 

आइतबार पनि स्वास्थ्य मन्त्रालयबाट फोन आउला भनेर कुरिरहें । दिउँसो भइसक्दा पनि कसैले फोन गरेन । फेरि मन्त्रालयको ११३० र १११५ नम्बरमा फोन गरें । एउटा नम्बर पाएपछि कल गरेर कुरा गरें । मलाई कोरोनाको लक्षण भएको सुनाएँ ।

उहाँले अस्पतालमा बेड खाली छैन, केही दिन पर्खनुस्, बेड खाली भएपछि खबर गरौंला भन्नुभयो । तीन दिन भयो । कतैबाट खबर आएको छैन ।

सुरुमा मैले जोसँग कुरा गरेको थिएँ उहाँले पनि अर्को मान्छेको नम्बर दिनुभयो । उहाँलाई पनि मलाई सुक्खा खोकी भएको, सास फेर्न गाह्रो भएको, स्वाद थाहा नपाउने जस्ता समस्या रहेको सुनाएँ । तर अस्पतालमा बेड खाली नभएकाले भर्ना गर्न नसकिने जानकारी दिनुभयो । सोमबारसम्म पनि उहाँले फोन गरेर स्वास्थ्य अवस्था सोध्नुभयो । मलाई थप समस्या भयो भने जतिबेला पनि फोन गर्नुस् भन्नुभएको छ । तर उहाँले मेरा लागि बेड खोज्न सक्नुभएन ।

सरकारले कोरोना लक्षण भएकालाई अस्पतालको आइसोलेसनमा पठाउने गरेको समाचार हेर्छु, सुन्छु । मैले स्वास्थ्य मन्त्रालय, विभाग सबैतिर हारगुहार गरें तर मेरो समस्या कसैले सुनेनन् । यतिसम्म कि मन्त्रालयमा बारम्बार फोन गरेपछि एक जना कर्मचारीले त हिँडेर केएमसी अस्पताल जानुस्, आफ्नो समस्या सुनाउनुस् समेत भने । मलाई थाहा छ, कोरोना पोजिटिभ भएपछि जहाँ पायो त्यहाँ भर्ना लिइँदैन । उनको कुरा सुनेर रिस उठ्यो । मान्छे मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ भनेर रिसाएँ । मैले जति मान्छेलाई फोन गरें, सबैले अस्पतालमा बेड खाली छैन भन्छन् । त्यसैले आज (मंगलबार) त कसैलाई फोन पनि गरिनँ ।

मलाई सास फेर्न एकदम गाह्रो भइरहेको छ । सुक्खा खोकी रोकिएको छैन । थुक निल्न पनि अप्ठ्यारो हुन्छ । सुत्न त झन् गाह्रो हुन्छ । रुघा पनि छ । कोठामा एक्लै छु । कोठामा आवश्यक सामान साथीहरूलाई ल्याइदिन भन्छु । म संक्रमित भएको घरबेटीलाई थाहा छैन । घरबेटीले थाहा पाए भने निकालेर पठाउँछन् । अनि कहाँ जानु ? घरबेटीले थाहा नपाउन् भनेर साथीहरूलाई सामान ल्याएर ढोका बाहिर छाडेर सुटुक्क जानू भन्ने गरेको छु । साथीहरू बाहिर गएपछि अनि हतारहतार सामान भित्र ल्याउँछु । सास फेर्न गाह्रो भएपछि तातोपानीको बाफ लिन्छु । बिहान उठेर सुरुमा तातोपानीमा बेसार, नुन, अदुवा र मरिच राखेर एक ग्लास खान्छु । त्यसपछि उसिनेको अण्डा र फलफूल खान्छु । दिउँसो पनि तातोपानी तुलसी खान्छु । बिहानबेलुका खाना खान्छु । बेलुका पनि बेसार, अदुवा पानी खान्छु । सुत्ने बेला दूधमा बेसार राखेर खान्छु ।

कोठामा कोही नभएकाले सकिनसकी आफैं पकाएर खान्छु । म अस्पतालको आइसोलेसनमा हुन्थें भने के खाने के नखाने, डाक्टरसँग सोध्न सकिन्थ्यो । अरू संक्रमितसँग कुरा गर्दा तनाव कम हुन्थ्यो । घरमा चिन्ता हुन्छ भनेर आमाबुबालाई पनि म संक्रमित भएको खबर सुनाएको छैन । पैसा चाहिन सक्छ भनेर दाइभाउजूलाई चाहिँ खबर गरें । अफिसमा साथीहरूलाई थाहा छ । आवश्यक सामान अफिसले नै पठाइदिने गरेको छ ।

मलाई सरकारले आइसोलेसनमा लगेको भए मैले अरूलाई सामान ल्याइदेऊ भनेर हारगुहार गर्नुपर्दैनथ्यो ।

लक्षण भएका म जस्तालाई चाहिँ अस्पतालमै लगेर उपचार होस् भन्ने मेरो अनुरोध छ । अस्पतालमा हुँदा चिकित्सक, नर्ससँग कुरा गर्न सकिन्थ्यो । उनीहरूलाई आफ्नो समस्या सुनाउन पाइन्थ्यो । कोठामा बसेर कसलाई सोध्नु ? मैले चिनेको एक जना डाक्टरलाई सोधेर भिटामिन सी र सुक्खा खोकी हटाउन एलेग्रा १८० खाइरहेको छु । बिहान शारीरिक व्यायाम गर्छु । तीनतले घरको भुइँ तलामा खोक्दै कहिले ओछ्यानमा छटपटिन्छु, कहिले बाथरुममा छिर्छु । अलि समस्या भएजस्तो हुँदा सुत्छु । कुनै बेला गाह्रो भयो भने कहाँ जानु, कसलाई भन्नु भन्ने चिन्ता लाग्छ ।

सास फेर्न गाह्रो भएको व्यक्तिलाई अक्सिजन चाहिन्छ भन्ने सुनेको छु । त्यसैले मलाई अस्पतालमा आइसोलेसनको व्यवस्था गरिदिन अनुरोध गर्छॅ । कोरोना संक्रमितको संख्या बढ्छ भन्ने अनुमान हुँदाहुँदै पनि आइसोलेसनको व्यवस्था छैन भन्दा दिक्क लाग्छ । अहिले दिनमा सय हाराहारी संक्रमित देखिँदा त सरकारको तयारी यस्तो छ भने अरू देशमा जस्तो हजारौं देखिए भने संक्रमितको व्यवस्थापन कसरी होला ? भोलि–पर्सिको स्थितिलाई कसरी व्यवस्थित गर्ने योजना बनाउन पनि ढिलाइ नहोस् । मजस्ता संक्रमितले आइसोलेसनको अभावमा कोठामा छटपटाउन नपरोस् ।’

प्रकाशित : श्रावण २८, २०७७ ०६:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×