कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रेसिङ नहुँदा संक्रमित घरमै

फातिमा बानु

काठमाडौँ — राज्यका जिम्मेवार निकायबाटै बेवास्ता गरिँदा ललितपुरका एक कोरोना संक्रमित घरमै बस्न बाध्य भएका छन् । कन्ट्याक्ट ट्रेसिङ टोली नआउँदा उनको घरका २२ सदस्य पनि संक्रमणको जोखिममा छन् ।

ट्रेसिङ नहुँदा संक्रमित घरमै

ट्रेसिङ गरिदिन ललितपुर स्वास्थ्य कार्यालय, ईडीसीडी र स्वास्थ्य मन्त्रालयमा समेत खबर गर्दा पनि कोही नआएको उनका दाजु रामहरि कार्कीले बताए ।

‘संक्रमित भएपछि के गर्ने, कसरी बस्ने अन्योल भएपछि स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलाललाई फोन गरें,’ उनले भने, ‘लक्षण छैन भने घरमै बसेर निको हुन्छ, ट्रेसिङ गर्न आउँदा छिमेकीले थाहा पाएर विभेद गर्न सक्छन् भन्दै पन्छिए ।’

३२ वर्षीय ती संक्रमितको न्युरोडमा कपडा पसल छ । लकडाउन खुलेपछि उनी नियमित पसल खोल्न गइरहेका थिए ।

गत शुक्रबार उनको पसल रहेकै भवनमा काम गर्ने एक जनामा कोरोना संक्रमण पुष्टि भयो । ‘एउटै भवनमा भएकाले शंका लागेर स्वाब दिन तीनकुनेस्थित कान्तिपुर अस्पताल गएँ,’ उनले भने, ‘मसँगै गएका अन्य साथीको नेगेटिभ आयो, मेरो पोजिटिभ ।’ शनिबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट पोजिटिभ भन्दै उनको मोबाइलमा सूचना आयो । कुनै लक्षण नदेखिएकाले उनले होम आइसोलेसनमा बस्ने निर्णय लिए । अहिले उनमा टाउको दुख्ने, खान मन नलाग्ने समस्या देखिएको छ ।

रिपोर्ट आउनुअघि उनी परिवारसँग घुलमिल भएर बसेका थिए । घरमा साना बालबालिका र ज्येष्ठ नागरिक पनि बस्ने गरेका छन् । यसबीच उनको घरमा केही पाहुना पनि आएका थिए । संक्रमण पुष्टि भएको पाँच दिन बित्दा पनि कन्ट्याक्ट ट्रेसिङका लागि उनको घरमा कोही पुगेको छैन । कान्तिपुर अस्पतालसँग सहयोग माग्दा कुनै प्रतिक्रिया नदिएको उनले बताए । ट्रेसिङ नहुँदा परिवारका कसैको स्वाब संकलन भएको छैन । त्रासका कारण उनीहरू घरमै बसिरहेका छन् ।

स्वाब परीक्षणमा पनि उनी ठगिएका छन् । सरकारले स्वाब परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ । तर, कान्तिपुर अस्पतालले तोकिएभन्दा एक हजार बढी शुल्क लिएर परीक्षण गर्‍यो । ‘अस्पताल जाँदा सूर्य हेल्थकेयर (स्वाब पठाइएको प्रयोगशाला) मा जानु भन्छन्, सूर्यमा जाँदा जनस्वास्थ्य प्रयोगशाला पठाए,’ उनले भने ।

‘जनस्वास्थ्य प्रयोगशालामा त रिपोर्ट नै छैन भन्छन्, अब कता गुहार्ने ?,’ उनले भने । संक्रमितले कोरोना बिमा गराएका थिए । पोजिटिभ रिपोर्ट हात नपर्दा बिमा दाबी गर्न नपाएको उनले गुनासो गरे ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ट्रेसिङ प्रभावकारी नभए कोरोना नियन्त्रण अझै चुनौतीपूर्ण हुने बताउँछन् । ‘लकडाउन हुँदा मान्छेको भेटघाट कम हुन्थ्यो, ट्रेसिङ सजिलो थियो,’ उनले भने, ‘अहिले मान्छे धेरै ठाउँमा पुगेका हुन्छन्, ढिलो सोधपुछ गर्दा आफूले भेटेका सबै मान्छेबारे संक्रमितले सम्झेर नभन्न सक्छन् ।’

ट्रेसिङ छिटोभन्दा छिटो गर्न नसके संक्रमण अझै तीव्र गतिमा फैलिन सक्ने उनको भनाइ छ । संक्रमितले झूट बोल्ने, ठेगाना गलत दिने या मोबाइल अफ गरेर बस्ने प्रवृत्तिका कारण ट्रेसिङको काम जटिल बनेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तर्क छ । ट्रेसिङका लागि महाशाखाको टोलीले जिल्लालाई जिम्मेवारी दिने गरेको निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

‘पोजिटिभ केस भेटिएपछि जिल्लामा जानकारी गराउँछौं र जिल्लाले स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ उनले भने । तर जिम्मेवार निकायहरूको समन्वय नहुँदा कार्कीजस्ता संक्रमितले दुःख पाइरहेका छन् । ट्रेसिङ प्रभावकारी नभएकै कारण उपत्यकामा अहिले केही संक्रमित सम्पर्कबाहिर छन् ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?