कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो- समाचार - कान्तिपुर समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घन्टामा ४ मृतकमा कोरोना पुष्टि भएसँगै कूल संख्या ८३ पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार धनुषाका दुई, काभ्रेपलाञ्‍चोक र सिन्धुपाल्चोकका एक/एक जनाको मृत्यु भएको हो । धनुषा विदेह नगरपालिका ८ बस्ने ६० वर्षका पुरुषको सोमबार राति प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो । ती पुरुष साउन ८ गते निमोनिया भइ अस्पतालमा आईसीयूमा उपचारमा थिए । उनमा क्षयरोगसमेत थियो ।

यस्तै मिथिला विहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि स्वाब नमुना संकलन गरी परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको हो । ती पुरुष झाडापखाला लागी मोटरसाइकलमा आस्पताल जाँदै गर्दा बाटोमा बेहोस भइ लडेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अर्का मृतकमा काभ्रे पाँचखाल नगरपालिका १ का ५० वर्षीया महिला छिन् । उनको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मंगलबार मृत्यु भएको हो । आइतबार निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार नै कोरोना पुष्टि भएको हो । ती महिलामा फोक्सो तथा पित्तथैली सम्बन्धी रोग पनि थियो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ निवासी ८४ वर्षीय पुरुषको २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो । मुटु तथा मिर्गौला सम्बन्धी समस्याका कारण २१ साउनमा अस्पताल भएका ती वृद्धामा मंगलबार कोरोना पुष्टि भएको हो ।

प्रकाशित : श्रावण २७, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्

अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द, 'टेक अवे' सेवामात्र सञ्चालन गर्न पाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । 

होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने मन्त्री खतिवडाले बताए । 'यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो । तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ,' मन्त्री खतिवडाले मंगलबारको पत्रकार सम्मेलनमा भने ।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर होटल व्यवसाय सञ्चालन गर्न दिइएपनि भीडभाड हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

प्रकाशित : श्रावण २७, २०७७ १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×