कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाका स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द

सार्वजनिक यातायात भदौ १५ सम्म बन्द गर्न सरकारलाई आग्रह
उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुहरूमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन 'नगरपालिका मेयर फोरम'को सोमबार बसेको बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

उपत्यकाका स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय लिएको बताए ।

बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखाना भित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय उनीहरूले गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरूको बैठकले गरेको छ । काठमाडौं उपत्यकामा अत्यन्त घनाबस्ती रहेकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुहरूमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले गरेको छ ।

यस्तै, क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरूले गरेका छन् ।

यस्ता छन् निर्णयहरु :



संक्रमण फैलनसक्ने अवस्थालाई ध्यान दिएर सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुसलगायतका गतिविधि गर्न कडाईका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा, पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

यस्तै, मास्क नलगाई आवतजावत गर्न तथा मास्कलाई उपयुक्त रूपमा प्रयोग नगर्नेहरूलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।

व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेष्टुरेन्ट कोभिड- १९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारबाही गर्ने निर्णयसमेत भएको छ । पीसीआर परीक्षणको आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने भएकाले परीक्षणको दायरा र दरलाई बढाउनेमात्रै भन्दा पनि संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि बैठकले गरेको छ ।

अनाधिकृत रूपमा उपत्यका प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकामा बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ बिहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकल मार्फत गरिने व्यापारलाई भदौं १५ गते सम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

*यसअघि स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द हुनुपर्नेमा अन्यथा भएकोले सच्च्याइएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?