कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैंचोमा गाँस, त्रिपालमुनि बास

बाढीपहिरोका कारण विस्थापित बारेकोटका मात्रै १ हजार ५५ परिवार एक महिनादेखि विद्यालय र जंगलमा बसिरहेका छन् । पिउन खोलाको पानी प्रयोग गरिरहेका छन् । डिपोमै खाद्यान्न सकिएपछि स्थानीय बजारमा प्रतिकेजी मोटो चामल १ सय र नुनको भाउ ७० रूपैयाँ पुगिसकेको छ ।
भीमबहादुर सिंह

जाजरकोट — गाउँमाथिबाट पहिरो खस्न थालेपछि गत असार २५ मा जाजरकोटको बारेकोट–४ सार्कीटोलका मुने सार्कीको परिवारले घर छाडे । घर भत्किएपछि उनका छिमेकी भदिलाल सार्कीको ११ जनाको परिवार पनि एक महिनादेखि पाल टाँगेर गाउँकै सामुदायिक विद्यालयमा बसिरहेको छ । तर उनीहरूका लागि न खाने अन्न छ, न बस्ने गतिलो ठाउँ नै ।

पैंचोमा गाँस, त्रिपालमुनि बास

उनीहरू मात्र होइन, बारेकोटका १ हजार ५५ परिवार पहिरोका कारण विस्थापित भएका छन् । सरकारी बेवास्ताका कारण उनीहरूले राहतका नाममा रेडक्रसले दिएको त्रिपाल र कम्मलबाहेक केही पाउन सकेका छैनन् । ‘भएको अन्नजति सबै सकियो,’ मुनेले भने, ‘राहत ल्याएर आउँछौं भन्नेहरू फेरि फर्केर आएनन्, चार जना अटाउन मुस्किल हुने पालमा १५ जनासम्म बस्नुपर्ने बाध्यता छ ।’ घरबाट ल्याएको सबै अन्न सकिएपछि सरसापटी गरेको चामलले गुजारा चलाइरहेको उनको भनाइ छ ।

बारेकोटमा पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । गाउँपालिकाका अनुसार पहिरोका कारण वडा–१ मा १ सय ४५ परिवार, २ मा १५, ३ मा २५ र ४ मा ३ सय ४५ परिवार विस्थापित छन् । त्यस्तै, वडा–५ का ३ सय १०, ६ का ६०, ७ का १ सय ५० र ८ का ५ परिवारको घर गुमेको छ । एक महिना हुनै लाग्दासमेत भरपर्दो गरी गाँसबासको जोहो नहुँदा भोकमरी खेप्नुपर्ने अवस्था आएको ७३ वर्षीय भदिलालले बताए । ‘पहिरो जानुअघि घरबाट जेनतेन गर्दै झिकेको अन्न सकियो, गाउँका पसलमा चामलको कुरै छाडौं, चिउरा र चाउचाउसमेत पाइन छाडेको छ,’ उनले भने, ‘अब के खाएर बाँच्ने ?’ बाढीपहिरोपीडित परिवार विद्यालयको खेलमैदान र जंगलको खाली ठाउँमा बसिरहेका छन् । पहिरोले बस्ती छियाछिया पारेपछि जिरी, तल्लो जिरी, सार्कीटोल, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्लीलगायत गाउँका बासिन्दा विस्थापित भएका हुन् ।

उनीहरूलाई पिउने पानी र शौचालयको समेत सहजता छैन । शुद्ध पिउने पानीको व्यवस्था नहुँदा महामारी फैलिने जोखिम बढेको छ । खोलाको धमिलो र दूषित पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीय तीर्थ बोहराले गुनासो गरे । ‘जथाभावी शौच गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दूषित पानीकै कारण वृद्ध, महिला र बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् ।’ दूषित पानी र जथाभावी शौच गर्दा ०६५ सालको जस्तो झाडापखालाको महामारी फैलिने खतरा बढेको उनको दाबी छ । बाढीपहिरोकै कारण बारेकोटमा सडक यातायातसमेत पूर्णरूपमा अवरुद्ध छ । पहिरोलगत्तै संघीय र प्रदेश सरकारका मन्त्री र सांसदहरू हेलिकप्टरबाटै प्रभावित गाउँको हवाई निरीक्षण गरी फर्किएका थिए । तर दुवै सरकारले राहत पठाएका छैनन् । विस्थापितका लागि ३ सय ७५ थान त्रिपाल र ३ सय ५० थान कम्मल वितरण गरिएको रेडक्रस सभापति हरिबहादुर बस्नेतले बताए ।

जताततै खसेको पहिरोका कारण खच्चडबाट खाद्यान्न ढुवानी गर्न समस्या भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह बताउँछन् । ‘बाढीपहिरोको कहरलगत्तै खाद्यान्न अभाव चुलियो,’ उनले भने, ‘गाउँपालिकाले मात्रै यत्रो विपत्को सामना गर्न सक्ने अवस्था छैन ।’ उत्पादन न्यून हुँदा बारेकोटका बासिन्दालाई गुजाराका लागि बर्सेनि बजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलको भर पर्नुपर्ने बाध्यता छ । खाद्यान्न आपूर्तिका लागि हवाई मार्गको विकल्प नभएको शाहले बताए । उनका अनुसार भीषण वर्षाका कारण अधिकांश बस्तीमा पहिरो खस्ने क्रम रोकिएको छैन । ‘ठाउँठाउँमा बाढी र पहिरो आएपछि एक घरबाट अर्को घरसम्म आउजाउसमेत बन्द भएको छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले बेवास्ता गर्दा विस्थापितको व्यवस्थापन र खाद्यान्न आपूर्तिमा समस्या भयो ।’

खाद्य डिपो रित्तै

दुई महिनादेखि बारेकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको घाट डिपो रित्तो छ । जसका कारण खाद्यान्न संकटकै अवस्था आएको स्थानीय बताउँछन् । डिपोका लागि गत वर्ष ३ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको थियो । तर कोटाअनुसारको चामल ढुवानी नहुँदा खाद्यान्न अभाव चुलिएको हो ।

गत आर्थिक वर्षको चामल ढुवानीको जिम्मा एमबी बिल्डर्सले लिएको छ । कम्पनीले गत जेठसम्म २ हजार ४ सय ४२ क्विन्टल चामल मात्र ढुवानी गरेको छ । ठेकेदारको लापरबाहीले बर्सेनि बारेकोटमा खाद्यान्न अभाव हुने गरेको सार्कीटोलका विस्थापित मन्दिरे सार्कीले बताए । उनका अनुसार डिपोमा चामल नभएपछि स्थानीय बजारबाटै मोटो चामल पनि प्रतिकिलो १ सय रुपैयाँमा खरिद गर्नुपर्ने बाध्यता छ । आपत्कालीन अवस्थाका लागि सदरमुकामबाट ४ सय क्विन्टल खाद्यान्न पठाए पनि अझै नपुगेको कम्पनीका शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताए । बारेकोटमा नुनको पनि अभाव चुलिएको छ । आफूहरूले प्रतिकिलो नुनका लागि ७० रुपैयाँसम्म तिरेको बारेकोट–५ का प्रकाश गिरीले बताए । ‘चामल र अरू खाद्यान्न त सकियो–सकियो,’ उनले भने, ‘सदरमुकाममा १९ रुपैयाँ पर्ने नुन ७० रुपैयाँमा किनेर खानुपरेको छ ।’

प्रकाशित : श्रावण २५, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?