कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभाका विषयगत समिति सभापतिहरू निर्विरोध निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । 

राष्ट्रिय सभाका विषयगत समिति सभापतिहरू निर्विरोध निर्वाचित

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल (पार्वती) निर्वाचित भएकी हुन् ।

बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक-एक जनाको मात्रै उम्मेदवारी परेको थियो । उक्त निर्वाचनको घोषणा शुक्रबार भएको हो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा निर्वाचित भएका बिडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्त्वका दास्तावेजलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भएको र अब कार्यान्वयनमा जाने बेला भएको बताए । उनले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरूलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताए । उनले भने, ‘अब सरकारलाई छोडिन्न । अब सरकारलाई के छोडिन्न भने मनलाग्दी कानुन बनाउन छोडिन्न । अब सरकारलाई नियन्त्रण गरिन्छ । सरकारलाई सचेत गराइन्छ र संवैधानिक अंगहरूलाई पनि कानुन मनलाग्दी बनाउन पाइँदैन भनेर रोकिन्छ । चाहे निर्वाचन आयोग होस्, चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस्, चाहे सर्वोच्च अदालत होस्, कानुन बनाउने निकाय ती होइनन् । त्यसकारण तिनीहरूले कानुन बनाउँदा संसदलाई शिरोधार्य गरेर, संसदको न्यायीक अधिकार नमिच्ने गरी संघीय संसदको क्षेत्राधिकार भित्र बसेर हामी उनीहरूलाई प्रत्यायोजित सम्बन्धमा निगरानी गर्छौं, नियन्त्रण गर्छौं, निर्देशन दिन्छौं र कार्यान्वयन गराउँछौं ।’

दिगो विकास तथा सुशासन समिति सभापतिमा निर्वाचित भट्टले समितिले यसअघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिँदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताइन् । उनले विभिन्न मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने विषयलाई निगरानी गर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो कार्ययोजना विभिन्न मन्त्रालय अन्तर्गत १७ वटा लक्ष्यहरू छन । ती मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र खासगरीकन हाम्रो यो समितिले सरकारलाई कहाँ के भइराखेको छ भन्ने कुरामा हामीले निगरानी गर्नेछौं ।’

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति थापाले वार्षिक कार्ययोजना निर्माण गरी समितिका काम कारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

समिति सभापतिमा निर्वाचित गुरुङ र थापा सत्तारुढ नेकपाका सांसद हुन् भने भट्ट प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद हुन् । बिडारी भने राष्ट्रपतिद्वारा मनोनित सांसद हुन् ।

प्रकाशित : श्रावण २३, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?