कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फरक समूहको रगत चढाउँदा जनकपुरमा सुत्केरीकाे मृत्यु भएको आरोप, चिकित्सक र रेडक्रस कर्मचारी प्रहरी नियन्त्रणमा

सन्तोष सिंह

धनुषा — जनकपुरस्थित रामजानकी अस्पतालमा फरक समूहकाे रगत चढाउँदा सुत्केरी महिलाकाे मृत्यु भएकाे आरोप परिवारका सदस्यले लगाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार गलत रगत चढाएकै कारण महोत्तरी गौशाला नगरपालिका–११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएकाे परिवारको दाबी छ ।

फरक समूहको रगत चढाउँदा जनकपुरमा सुत्केरीकाे मृत्यु भएको आरोप, चिकित्सक र रेडक्रस कर्मचारी प्रहरी नियन्त्रणमा

‘ओ पोजिटिभ' ब्लड ग्रपुको साटो ‘बी पोजिटिभ' ब्लड चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको लापरबाहीले सुत्केरीको ज्यान गएको दाबी छ ।

व्यथा लागेपछि बिहीबार अपराह्न ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अप्रेसनमार्फत गंगादेवीले छोरी जन्माएकी थिइन् । पछि शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत स्याम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।

रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि 'ओ पोजिटिभ'को ठाउँमा 'बी पोजेटिभ' रगत चढेको पत्ता लागेको थियो । त्यसको केही बेरमा सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान राजकिशोर महतोले बताए ।

अस्पतालले भने अनुसार नै स्याम्पल लिएर रेडक्रसबाट रगत ल्याएको र त्यहीमध्ये एउटा पोका 'बी पोजेटिभ' रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन् ।

दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपूर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए ।

यता अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको शरीरमा 'ओ पोजिटिभ' को ठाउँमा 'बी पोजिटिभ' चढेको दाबी गरेको छ । अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको स्याम्पल अनुसार रेडक्रसले रगत दिएको र त्यही चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दाबी गरेका छन् ।

महिलाकाे मृत्युपछि उपचारमा संलग्न चिकित्सक, रेडक्रसका कर्मचारी र अन्यलाई जिल्ला प्रहरीमा ल्याइएकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रकाशित : श्रावण २३, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?