कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा विवाद नयाँ चरणमा : यस्ता छन् दाहाल–नेपाल समूहले भेलामार्फत ओलीलाई दिएका ४ सन्देश

बबिता शर्मा

काठमाडौँ — डेढ महिनादेखि जारी नेकपा विवाद फराकिलो बन्दै गएको छ । एकले अर्को पक्षमाथि पार्टी विभाजनको कोसिस गरेको आरोप लगाउँदै आएका नेताहरुले गुटगत भेला र छलफललाई बढावा दिएका छन् ।

नेकपा विवाद नयाँ चरणमा : यस्ता छन् दाहाल–नेपाल समूहले भेलामार्फत ओलीलाई दिएका ४ सन्देश

मदन भण्डारी फाउन्डेशनका नाममा अध्यक्ष केपी शर्मा ओली समूहले काभ्रेमा कार्यक्रम गरेको केही दिनमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफू निकट पत्रकारहरुसँग आन्तरिक छलफल गरेका छन् ।

साउन १० मा मदन भण्डारी फाउन्डेशन काभ्रेले गरेको कार्यक्रममा करिब ७ सय नेता–कार्यकर्ता सहभागी कार्यक्रममा परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली प्रमुख अतिथिका रूपमा पुगेका थिए । काभ्रेको कार्यक्रमको १० दिनपछि बुधबार साउन २१ मा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले निकट पत्रकारसँग सामूहिक छलफल गरेका हुन् । पार्टी सचिवालय र खुमलटार भेलाभन्दा फराकिलो संवादमा ४ नेता जुटेको यो पहिलो पटक हो ।

नेकपा विवादमा आफ्नो पोजिसन र आगामी रणनीतिबारे बताउन एकैपटक ४ नेताले पत्रकारसँग संवाद गरेर पार्टीका अर्का अध्यक्ष ओली र उनको समूहलाई केही रणनीतिक सन्देश दिन खोजेको छ । यद्यपि नेताहरुले औपचारिक रुपमा भने यसलाई स्वीकारेका छैनन्, तर कार्यक्रममा उनीहरुले राखेको अभिव्यक्तिमा रणनीति चाहिँ प्रस्टै देखिएको छ । कार्यक्रममार्फत ४ नेताले ओली र उनको समूहमाथि दबाब बनाउने कोसिस पनि गरेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने ओलीको अडानले नेकपामा दाहाल–नेपाल समूह अहिले दबाबमा छ । यसबाहेक ओलीले स्थायी कमिटी बैठकको निरन्तरता र केन्द्रीय कमिटी बैठक आव्हानलाई पनि अस्वीकार गरेका छन् । ओलीको यस्तो कदमले पार्टी संगठन विधि र पद्धतिमा चलाउन गाह्रो हुँदै गएको भन्दै दाहाल–नेपाल समूहले आफू निकट कार्यकर्तामाझ संवाद बढाएका हुन् ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको अवस्थामा नेकपाका दुवै समूहका आन्तरिक सक्रियताले तत्काल विवाद साम्य नहुने संकेत पनि दिएका छन् । यसबाहेक सरकार र पार्टीबीचको विवाद लगानी बोर्डको सीईओ नियुक्तिसम्म आउँदा नयाँ चरणमा पुगेको छ ।

सन्देश १–आफ्नो समूह सक्रिय

एक महिनादेखि सहमतिका लागि भन्दै लगातार ओलीसँग संवाद गर्दै आएका दाहाल–नेपाल समूहका नेताहरु अब भने आफ्नो समूहमार्फत सक्रिय भएका छन् । यो ओली समूहलाई दाहाल–नेपाल समूहको पहिलो सन्देश हो । यसअघि सानो कोठामा सीमित नेताहरुबीच हुने संवाद अब हलमा पुगेको छ । बुधबारको भेलामार्फत भविष्यमा पनि पार्टीका आन्तरिक विवाद नटुंगिने बेलासम्म यस्ता अन्य भेला र बैठक हुने संभावना रहेको सन्देश दाहाल–नेपाल समूहले दिएका छन् । समूहका एक नेताका अनुसार केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीका भेला र बैठक आगामी दिनमा हुने संभावना छ । यो समूहले ओलीका कारण पार्टी गतिविधि ठप्प भएको आरोप लगाएको छ ।

सन्देश २–ओली समूहलाई जवाफ

पार्टी स्थायी कमिटी बैठक चलिरहेको बेला प्रधानमन्त्री ओली समूह मदन भण्डारी फाउन्डेशन र अन्य विभिन्न ब्यानरमा सक्रिय भएको दाहाल–नेपाल समूहको बुझाई छ । पार्टी केन्द्रीय कमिटी बैठक बोलाउने चर्चासँगै ओली समूह सक्रिय भएको दाहाल–नेपाल समूहका नेताहरुको दाबी छ । ओलीले पार्टी गतिविधि रोकेर आफ्नो समूह सक्रिय बनाएको बुझाईमा रहेको दाहाल–नेपाल समूहले बुधबारको कार्यक्रममार्फत ओलीलाई एकतर्फी कदम नचाल्न सन्देश दिएका छन् ।

साउन १० गते मदन भण्डारी फाउन्डेशन काभ्रे जिल्ला कमिटीले भेला गरेको थियो । भेलामा परराष्ट्रमन्त्री रहेका स्थायी कमिटी सदस्य ज्ञवालीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको बताएका थिए । यसबाहेक पार्टी बैठकमा बहुमत सदस्यले दुवै पदबाट ओलीको राजीनमा मागेपछि प्रधानमन्त्रीले आफू निकटका युवा तथा विद्यार्थीहरुलाई आफ्नो समर्थनमा सडकमा प्रदर्शन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि देशका विभिन्न जिल्लाहरुमा ओलीको समर्थनमा नारा जुलुस भएका थिए भने राजीनामा माग्ने नेताहरुलाई भारतीय एसेट्को प्रचार भएको थियो ।

बुधबारको भेलामा वरिष्ठ नेता खनालले पनि अध्यक्ष ओलीले चरम गुटबन्दी गरिरहेको बताए । मदन भण्डारी फाउन्डेशनका नाममा वडासम्म कमिटी बनाउने, गुटबन्दी गर्ने र आफूहरुलाई बदनाम गर्ने काम भइरहेको उनले बताएका छन् ।

सन्देश–३ मिडियालाई सन्तुलन

पार्टी विवाद उत्कर्षमा रहेकै बेला आफू निकट पत्रकाहरु भेला गरेर दाहाल–नेपाल समूहले मिडियालाई सन्तुलनमा राख्न खोजेका छन् । बुधबार चारै नेताले जनमत निर्माणमा मिडियाको भूमिका हुने भन्दै आफूहरु पदका लागि नलडेको बताएका छन् । अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतिका लागि संघर्ष भइरहेको बताएर आफ्ना मुद्दाबारे प्रस्ट पारे ।

अहिले दुई अध्यक्षबीच पदको लडाइँ हो भन्ने प्रचारको चारै नेताले खण्डन गरे । दाहालले, 'मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर मंसिर ४ मा सहमति गरेको हुँ । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन’ भनेर यस्तो सन्देश दिएका छन् ।

आफूहरुसँग मिडियाको पनि समर्थन रहेको सन्देश ओली समूहलाई दाहाल–नेपाल समूहले दिएका छन् ।

सन्देश–४ संभावित जोखिमको पूर्वतयारी

नेकपामा अहिले पनि दुवै पक्ष एकअर्का माथि पार्टी विभाजन उन्मुख भएको आरोप–प्रत्यारोपमा छन् । यदि शक्तिसंघर्ष सहमतितिर उन्मुख नभई विभाजन उन्मुख भयो भने आफ्नो समूहको शक्ति परीक्षणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुन्छन् । दाहाल–नेपाल समूहले आफ्नो समूहमा मात्र होइन ओली समूहलाई पनि बुधबारको कार्यक्रममार्फत संभावित जोखिमको पूर्व तयारीको सन्देश दिएका छन् । विगतमा विभिन्न पार्टी विभाजन हुँदा यस्तो अभ्यास हुने गरेको थियो । यसको संकेत अध्यक्ष दाहालले पनि गरेका छन् । पार्टीका अर्का अध्यक्ष ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको उनको आरोप छ । पार्टीमा बहस भइरहेका बेला अर्का अध्यक्षको सक्रियतामा निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता गरिनु, मदन भण्डारी फाउन्डेशनका नाममा भेला बैठक हुनु र त्यसमा स्थायी कमिटीकै नेताहरु सहभागी भएर भाषण गर्नु, जनताको बहुदलीय जनवादको नारा लगाइनु, राष्ट्रवादी र दलालको नारा लिएर सडकमा भइरहेका नाराबाजी त्यसको प्रमाण भएको उनले बताए ।

‘हामीले अहिले पनि पार्टी विभाजन हुन नदिन प्रयत्न गरेका छौं । तर यो अब हाम्रो हातमा मात्रै रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ । ताकि भोलि त्यो परिस्थित आयो भने मानिसहरु नआत्तिउन, अचम्मित नहोउन् ।’

के भने नेताहरुले ?

पदका लागि पार्टीभित्र झै–झगडा गरेको आरोप लागिरहेका बेला बुधबार भेलामार्फत ४ नेताले अहिलेको लडाइँ पदका लागि नभएको दाबी गरेका छन् । ओलीको व्यक्तिवादी प्रवृत्तिका कारण सरकार र पार्टीमा समस्या पैदा भएको भन्दै उनीहरुले सामूहिक असन्तुष्टि पोखे ।

भेलामा अध्यक्ष दाहालले पार्टी भित्रको लडाइँ पदको लागि नभएको बताए । उनले सत्ताले विवेकको नेतृत्व गर्ने कि विवेकले सत्ताको नेतृत्व गर्ने भन्ने अहिलेको मुख्य प्रश्न रहेको पनि बताए । उनले माघको केन्द्रीय कमिटी बैठकपछि ओली समूहको भेलाले पोलिसी सिफ्ट गरेर आफूमाथि आक्रमणमा लागेको आरोप लगाए ।

‘कार्यकारी अध्यक्ष भनेर लेखिएपछि मैले सचिवालयका दुई, स्थायी र केन्द्रीय कमिटी एक/एक बैठकको अध्यक्षता गरेँ । ती बैठकहरु अन्य बैठकभन्दा निकै फरक भए । केन्द्रीय कमिटी बैठक सकिएर बाहिर निस्कँदा सबै सदस्य उत्साहित हुनुहुन्थ्यो । तर, त्यो बैठक उहाँहरुका लागि विडम्बना बन्न पुग्यो,’ दाहालले भने, ‘बैठकको केही दिनमै आफूहरु अब रक्षात्मक हुने भयौं भनेर उहाँहरुले आफ्नो भेला गर्नु भयो । र ‘पोलिसी सिफ्ट’ गर्नुभयो । पूर्व एमालेहरुलाई एक बनाउनुपर्छ । असन्तुष्ट रहेका पूर्वमाओवादी समूहलाई पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भनेर लागियो ।’

दाहालले त्यही रणनीतिअनुसार ओलीले आफैं उपस्थित भएर गरिएको पार्टी सचिवालयको निर्णयसमेत मान्दिनँ भनेको उल्लेख गरे । उनले कोही निजामती कर्मचारी आफूसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउनेसम्मका काम भएको बताए । ‘अध्यक्षको कुर्सी हटाउनु प्राविधिक विषयमात्र थिएन । त्यहाँ अनौठो चरित्र लुकेको थियो । अरुलाई अपमान गर्दा आनन्दको अनुभूति गर्ने प्रवृत्ति...तपाईंहरू सबैले देख्नुभएको छ,’ दाहालले भने ।

वरिष्ठ नेता झलनाथ खनालले ओलीले पार्टीलाई भन्दा गुटलाई महत्व दिएर देशभर गुटका भेला चलाएको भन्दै त्यस्ता गुटबन्दी र प्रवृत्तिका विरुद्ध बहस गर्नुपरेको बताए । पार्टीमा अहिले भइरहेको अन्तर्संघर्ष व्यक्ति र पदका लागि नभएर ओलीको रुपान्तरणका लागि भएको खनालले बताए ।

ओलीले पार्टी र संसदीय दललाई भर्‍याङ बनाएर प्रधानमन्त्री भएपछि पार्टीलाई महत्व नदिएको भन्दै ओलीका गतिविधिले विस्फोट हुने अवस्था आएको बताए । ‘आफूले पार्टी बैठक अस्वीकार गर्ने । उहाँ स्थायी कमिटीलाई हुल्लडबाज भन्नुहुन्छ । केन्द्रीय कमिटीलाई सडक छाप भन्नुहुन्छ । उहाँले पार्टी कता लैजानु हुन्छ ? अहिले बिस्फोट हुने अवस्थामा पुगिसक्यो,’ खनालले भने ।

वरिष्ठ नेता नेपालले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण समस्या पैदा भएको बताए । ‘पार्टी लठिभद्र अवस्थामा छ, पार्टी कागजमा सीमित गरियो, आइ एम द स्टेट, आइ एम द पार्टी भन्ने मनोगत शैलीका कारण पार्टीमा समस्या आयो,’ नेता नेपालले भने ।

पार्टी विधानको धारा ६० मा बहुमतको निर्णय पार्टीको निर्णय भनेर प्रस्ट लेखिए तापनि कसैले त्यसको गलग व्याख्या गरेर एकता महाधिवेशनसम्म सहमतिबाट निर्णय हुनुपर्छ भन्ने तर्क सुनिएको पनि उनले बताए । नेता नेपालले निर्णय प्रति असहमति भए अध्यक्षले पनि फरक मत राख्ने व्यवस्था भएको बताए । उनले सरकार र पार्टी सञ्चालनमा गम्भीर प्रश्नहरु उठेको भन्दै नेता नेपालले अहिलेको लडाइँ पदको नभएर विधि, पद्धतिको भएको बताए ।

प्रवक्ता श्रेष्ठले अहिलेको लडाइँ पदको नभई प्रवृत्तिको रुपान्तरणका लागि भएको बताए । त्यसका लागि पहिला नकारात्मक प्रवृत्तिका पात्रहरूलाई आत्मालोचना गराएर रुपान्तरण गर्ने र दोस्रो पात्रहरूको भूमिका परिवर्तन गरेर भएपनि विवाद समाधान गर्नुपर्ने विकल्प रहेको बताए ।

प्रकाशित : श्रावण २१, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?