कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ राजमार्ग : पाल्पा–बुटवल खण्डमा सधैं पहिरोको पीर, वैकल्पिक सडक अन्योलमा

सुरुङमार्गको काम अघि बढेन
माधव अर्याल

पाल्पा — तराईबाट पहाड जोड्न सोझो पर्छ, सिद्धार्थ राजमार्ग । प्रदेश ५ र गण्डकी प्रदेश जोड्ने सडक ४८ वर्ष अघिदेखि सञ्चालनमा आएको हो । यही राजमार्गको डुम्रेदेखि तल्लो सिद्धबाबासम्म भने वर्षा लागेपछि पहिरो र ढुंगा झर्ने समस्या छ ।

पछिल्लो एक महिनायता चालक र यात्रुले दैनिक सास्ती खेप्‍नु परेको छ । यसको वैकल्पिक सडकको चर्चा भएको पनि ५ वर्ष भएपनि सञ्चालनको कुनै टुंगो छैन ।

संघीय सरकारले दोभानदेखि नुवाकोट हुँदै बेल्बास (महेन्द्र लोकमार्ग) र प्रदेश सरकारले झुम्साबाट चौकीभन्ज्याङ हुँदै चरङ्गे (महेन्द्र लोकमार्ग) जोड्न वैकल्पिक मार्ग बनाइरहेका छन् । संघीय सरकारले दोभानमा दुई पक्की पुल पनि निर्माण गरिसकेको छ । तर दुवै वैकल्पिक मार्ग सञ्चालन हुन अझै सकेको छैन । ‘वैकल्पिक भनेका सडक पनि त्यति धेरै सुरक्षित छैनन्,’ भूगर्भविद् प्रेम पौडेलले भने, ‘दुवै सडकमा चुरे क्षेत्र पर्छ र अहिले ती सडकको अवस्था राम्रो छैन ।’ उनका अनुसार झम्सुाबाट चौकीभन्ज्याङ पुग्‍ने क्षेत्र चुरे भएर जानुपर्छ । पानी पर्नासाथ पहिरो खस्ने गर्छ । नुवाकोटको सडक पनि सुरक्षित छैन ।

सुरुङमार्ग पनि बन्न अझै कम्तीमा ६ वर्ष लाग्छ । स्वीस कन्सल्ट्यान्टका अनुसार निर्माण सुरु भएको कम्तीमा ६५ महिनामा सुरुङ तयार हुन्छ । तर सुरुङमार्ग पनि सहज हुने अवस्था छैन । १ हजार २ सय मिटर मात्रै सुरुङ हुनेछ । माथिल्लो सिद्धबाबादेखि रामापिथेकस पार्क नजिक सुरुङ सकिन्छ । माथिल्लो सिद्धबाबादेखि तल्लो सिद्धबाबा र रामापिथेकस पार्कदेखि दोभान बजारका साथै दोभान बजारदेखि भूतखोलासम्म सडक पूर्णरुपमा क्षतविक्षत छ । ‘सुरुङमार्गले पनि समाधान दिने अवस्था छैन,’ गुल्मी दरबार गाउँपालिकाका सुरज कार्कीले भने, ‘पहिला खतरा भएका क्षेत्र भन्दा अहिले अरु नयाँ स्थानमा खतरा बढेको छ ।’

पछिल्लो समयमा ड्याम साइडमा सडक भासिएको छ । नाग मन्दिर, पैठेडाँडामा पनि सडक भासिएको छ । भूतखोलामा ४ वर्षदेखि सडक भासिएर समस्या छ । झुम्सा र चौबिस माइलमा पनि सडक भासिएको छ । ‘राजमार्गका धेरै स्थानमा सडक भासिन लागेको छ,’ झुम्साका कृष्ण प्रसाद पाण्डेयले भने,‘जतासुकै डरलाग्दो अवस्था भएको छ ।’ स्थानीयका अनुसार यसवर्ष मात्रै दैनिक रुपमा धेरै सडक बन्द भएको छ । दोभानका विष्णुप्रसाद पाण्डेयका अनुसार वर्षा धेरै भएकाले नयाँ स्थानमा ठूला पहिरो खस्ने र सडक भासिने भएको छ ।

‘पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने राजमार्गमा लामो समय बन्द भएर हैरान भएका छौं,’ बाग्लुङ, निसीबाट बुटवल हिँडेकी केशरी रेगामीले भनिन्, ‘यस विषयमा कसैलाई मतलब नै छैन । यतिका धेरै सवारी साधन, यात्रु, बिरामी राजमार्गमै अलपत्र पर्दा कसैलाई मतलब छैन ।’ पहिरो खसेर लामो समय सडक अवरुद्ध हुँदा सडक डिभिजन भने छिटो खुलाउने प्रयास गरेको छैन । ‘हामीले पहिरो खस्ने बित्तिकै पन्छाउन सकेसम्म प्रयास गरेका हौं,’ सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले भने, ‘पहिरो पन्छाउने काम गर्दागर्दै ढिलाइ भएको हो ।’

राजमार्गमा अघिल्लो वर्षसम्म वर्षेनी वर्षायाममा १० बढीले ज्यान गुमाउने र भौतिक क्षति हुने गरेको थियो यसवर्ष भने लकडाउन र रातिको समयमा यात्रा गर्न नपाएपछि मानवीय क्षति हुन पाएको छैन । राजमार्ग सुनौलीदेखि पोखरासम्म १ सय ८० किलोमिटर छ । तर गुल्मी, अर्घाखाँची, बाग्लुङ जान तानसेनबाट रिडी भएर जाने गर्छन् ।

सुरुङमार्गको ठेक्का भएन

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षमै सहमति दिए पनि ठेक्का हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष नै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुरुङ मार्ग निर्माण खरिद प्रक्रिया अगाडि बढाउन सहमति दिएको थियो ।

अर्थले वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोडको सीमाभित्र रही प्रचलित कानून बमोजिम वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी काम बजेट स्वीकृत गरेको हो । १५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनका लागि आवश्यक बजेट सुनिश्चितताका लागि आग्रह गरेको थियो । बहुवर्षीय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पूरा गरी विस्तृत आयोजना प्रतिवेदनअनुसार डिजाइन निर्माण तथा सञ्चालन कार्य अघि बढाउन अनुमति दिएको थियो । सिद्धबाबामा सुरुङ निर्माणका लागि २०७५ माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको गुरुयोजना निर्माण गर्न अध्ययन गरेको थियो ।


राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्रलाई पहिरोको अति जोखिमयुक्त मानेर सुरुङ बनाउने योजना अघि बढाएको थियो । १ हजार १ सय २४ मिटर सुरुङमार्ग र सुरक्षित सडक निर्माण गर्न ६६ महिना लाग्‍ने विस्तृत परियोजना प्रतिवेदनमा छ । राजमार्गको २८ प्लस २ सय (तल्लो सिद्धबाबा) देखि ३० प्लस ६ सय (रामापिथेकसपार्क) सम्मको क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार छ । प्रतिवेदन तयार गर्न स्वीजरल्याण्ड सरकारले कन्सल्ट्यान्ट मार्फत् प्रतिवेदन तयार पारेको हो । यसको डीपीआर सडक विभाग र सरोकारवाला निकायमा प्रस्तुति भएको थियो । स्वीस कन्सल्ट्याण्ट आइटीईसीओ–एएफले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गरेको हो ।

अध्ययनले सिद्धबाबा क्षेत्रको २ दलमलव ५ सय ८३ किलोमिटर क्षेत्र बढी जोखिम भएको अध्ययनले देखाएको छ । तल्लो सिद्धबाबादेखि दोभान चौकी नजिकैसम्मको क्षेत्र प्रतिवेदनमा छ । सुरुङमार्ग बनाउन पर्ने १ हजार १ सय २४ मिटर मात्र उल्लेख गरेको छ ।

माथिल्लो सिद्धबाबादेखि दक्षिणतर्फको ९ सय ८ मिटर खुल्लासडक हुने डीपीआरमा छ । यही राजमार्गको सिद्धबाबा क्षेत्रमा रकसेड गर्नुपर्ने ७ सय ९० मिटर औंल्याएको छ । डीपीआर अनुसार सरासर काम हुने हो भने नोभेम्बर २०२५ सम्म काम सक्ने उल्लेख छ । ३९ महिनामा सुरुङमार्ग, विद्युतीय र मर्मत कक्ष १५ महिना र थप १५ महिनामा सडकको बाहिर काम हुने उल्लेख गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रबाट गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, बाग्लुङ लगायत दर्जन बढी जिल्लाका बासिन्दाको तराई र भारत जाने गर्छन् । यहाँ दैनिक १० हजार बढी सवारी साधन ओहोरदोहोर गर्छन् । प्रकाशित : श्रावण १७, २०७७ १४:३९

प्रतिक्रिया
पठाउनुहोस्

नक्सालबाट ‘इनफ इज इनफ’ अभियानका २० जना पक्राउ [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — शनिबार नक्सालस्थित भाटभटेनी सुपरमार्केट अगाडि शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्चा, पम्पलेटबिना शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै पक्राउ गरिएको अभियानकी सदस्य भावना राउतले बताइन् । प्रहरीले राउतसहित, शशिविक्रम कार्की, विजयबाबु सिवाकोटीलगायत २० जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकालाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कान्तिपुरलाई बताए ।

‘इनफ इज इनफ’ अभियानले केही दिनदेखि कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटरअघि अभियानको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको थियो । शुक्रबार रन्जु दर्शजा, सुदन गुरुङ, आलोक सुवेदी, सुधन मानन्धर, शशिविक्रम कार्की, वृतान्त खनाल, सौरभ न्यौपाने, पवन थापालगायत ५० भन्दा बढीलाई नियन्त्रणमा लिएर छाडिएको थियो ।

प्रकाशित : श्रावण १७, २०७७ १३:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×