कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरमा दुई हप्ता लकडाउन

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकामा शुक्रबार राति १२ बजेबाट लागू हुने गरी दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुलाई आवश्यकता अनुसार लकडाउन गर्ने निर्णय शुक्रबार गरेपछि महानगरले घोषणा गरेको हो । 

विराटनगरमा दुई हप्ता लकडाउन

महानगरकी उपप्रमुख इन्दिरा कार्कीले समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेकाले नियन्त्रणका लागि प्रदेश सरकारको समन्वयमा दुई हप्ताको लागि लकडाउन घोषण गरिएको बताइन् ।

‘कडाईका साथ लकडाउन पालना गराउने र सीमा क्षेत्रमा लुकिछिपी ओहोर दोहोर गर्नेलाई पूर्ण रुपमा निषेध गर्न स्थानीय प्रशासनसँग समन्वय गरिएको छ,’ उनले भनिन्, ‘लकडाउन अवधिमा पीसीआर परीक्षणको दायरा बढाएर कोरोना नियन्त्रण गर्ने नीति महानगरले लिएको छ ।’ संक्रमित बढेसँगै महानगरमा क्वारैन्टाइनको संख्यासमेत थप्ने निर्णय भएको उनले बताइन् ।

महानगरमा शुक्रबार १० जना संक्रमित थपिएका छन् । महानगरमा हालसम्ममा संक्रमित भएका १ सय ५ जनामध्ये ५३ जनाको कुनै किसिमको ‘ट्राभल हिस्ट्री’ नभएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

अहिले दैनिक एक सय बढी जनाको स्वाब संकलन गर्ने लक्ष्यका साथ अघि बढिरहेको र यसलाई दैनिक ५ सयमा पुर्‍याउन प्रदेश सरकारलाई आग्रह गरेको उनले सुनाए ।

ट्राभल हिस्ट्री नभएका व्यक्तिहरु संक्रमित हुन थालेपछि समुदायमै कोरोना फैलिएको महानगरले निष्कर्षसहित अत्यावश्यक सेवा बाहेकका सबै सेवा ठप्प गरेको छ । कोसी अस्पतालमा हालसम्ममा एक चिकित्सक र एक स्वास्थ्यकर्मी र दुई नर्समा संक्रमण पुष्टि भएपछि बिहीबारदेखि ओपिडि सेवा बन्द गरेको छ ।

विराट नर्सिङ्ग होमका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी हालसम्ममा २१ जनामा संक्रमण पुष्टि भइसकेको छ । नर्सिङ्ग होम पनि सिल गरिएको छ । यसैबीच, प्रदेश १ प्रहरी कार्यालयका २४ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरेर गत बिहीबारबाट अनलाइनबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विराटनगरमा समुदायमा नभइ समूहमा संक्रमण फैलिएको बताए । ‘विराटनगर महानगरमा विराट नर्सिङ्ग होमका चिकित्सकबाट स्वास्थ्यकर्मीमा र प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकारी समूहमा संक्रमण फैलिएको छ,’ उनले भने, ‘अन्य सर्वसाधारणमा एउटै टोल वा समुदायमा धेरै जनामा फैलिएको पाइएको छैन ।’

विराटनगरमा भारतबाट लुकिछिपी आउने र सप्तरीलगायत प्रदेश २ का जिल्लाबाट आउने व्यक्तिहरुबाट सर्वसाधारणमा संक्रमण फैलिरहेको घिमिरेको भनाइ छ । ‘अब पहिलेको जस्तो सबै ठप्प हुने गरी लकडाउन सम्भव नभएकाले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गराउने उपाय अबलम्बन गर्नुपर्छ,’ उनले भने, ‘संक्रमण देखिएको क्षेत्रलाई सिल गरेर कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर परीक्षण गरी निदान गर्ने नीति छ ।’

प्रकाशित : श्रावण १६, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?