संक्रमण बढिरहे नयाँ निर्णय लिने तयारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण बढिरहे नयाँ निर्णय लिने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गरेको हो ।

साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला ९ दिनमा १५ जनाको मृत्यु भइसकेको छ । यस्तै, साउन ६ गते संक्रमित संख्या १७ हजार ९ सय ९४ थियो भने साउन १५ गतेसम्ममा उक्त संख्या बढेर १९ हजार ५ सय ४७ भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार सरकारले सीमा क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ । ‘बाहिरबाट मान्छे नआऊन् भन्ने विषयमा पनि छलफल भएको थियो,’ उनले भने । बैठकमा भदौ १ गतेपछि लामो दूरीका यातायात सेवा सञ्चालन र घरेलु र अन्तर्राष्ट्रिय विमान सञ्चालनका सम्बन्धमा सम्बन्धित मन्त्रालयले तयार पारेको मापदण्डमाथि पनि छलफल भएको उनले जानकारी दिए ।

सरकारले साउन ७ गतेबाट यातायात सेवामा जोर–बिजोर नम्बर प्रणाली हटाएको छ भने दुई सिफ्ट सञ्चालन हुँदै आएका सरकारी कार्यालय एकै सिफ्टमा कायम गरिएको छ । यस्तै, बिहीबारबाट ट्रेकिङ, ट्राभल्स, पर्वतारोहण, पर्यटन व्यवसाय, होटल र रेस्टुरेन्ट (सामूहिक भोज, भेलाबाहेक) सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेललाई पनि सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

सरकारले अझै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन तथा तोकिएबाहेकका अन्तर्राष्ट्रिय नाकाबाट प्रवेशमा रोक लगाएको छ । यस्तै, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, सामूहिक खेलिने खेल, खेल मैदानमा हुने प्रस्तुति, धार्मिक, सामाजिक स्थल, पुस्तकालय, संग्रहालय, चिडियाखाना, सभा, गोष्ठी, तालिम, सेमिनार प्रदर्शन, मेला र सम्मेलनमा भने अझै रोक लगाइएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्

आर्तनादमा नुनचुक

शर्मिला पोखरेल

महिलाका जन्मजात कार्यबोझहरू छँदै छन्, त्यसमाथि लैंगिक विश्लेषणले बोझ थपेको छ, जसलाई नारी–हृदयले मात्र बुझ्न सक्छ । महिला हिंसाले उसको सामाजिक–आर्थिक स्थिति र स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । महिलाले कार्यस्थल, शिक्षण संस्था र समुदायमा भन्दा धेरै हिंसा घरमै भोग्नुपर्छ, जुन हिंसाको सबैभन्दा ठूलो रूप हो ।

घरको हिंसा ‘पारिवारिक प्रतिष्ठा’ का खातिर प्रहरीसम्म पुग्दैन । त्यसैले यस्ता घटनाको दर न्यून देखिन्छ, तर यसले भित्रभित्रै महिलामा अनेक जटिलता निम्त्याइरहेको हुन्छ । विभिन्न देशका अनुसन्धानले महिला हिंसालाई शारीरिक, यौन र मनोवैज्ञानिक गरी तीन पाटामा समेटेका छन् । नेपालका विभिन्न जिल्लामा गरिएको एक अध्ययनअनुसार, विवाहितामध्ये एकतिहाइभन्दा बढीले २० देखि २४ वर्षकै उमेरमा घरेलु हिंसाको भोग्नुपर्छ, त्यो पनि जीवनसाथीबाटै ।

केहीअघिको विश्व स्वास्थ्य संगठनको रिपोर्टले पनि विश्वव्यापी रूपमा ३० प्रतिशत महिलाले शारीरिक यातना र यौन हिंसा आफ्नै श्रीमान्बाट भोग्नुपरेको भयावह तथ्य सार्वजनिक गर्‍यो । यौन दुर्व्यवहारसम्बन्धी अनुसन्धानका आँकडाहरू कहालीलाग्दा छन् । हामी महिलाले धेरै पीडा खेपेका हुन्छौं, तर बाहिर भने सजिलै ‘मलाई ठीक छ’ भनिदिन्छौं । सधैं यसरी चल्दैन । हिंसा खेप्नुपरिरहेको छ भने जोसँग मन फुकाउन सकिन्छ, ऊसँग व्यथा बाँड्नुपर्छ । ‘प्रतिष्ठा’ भत्कने नाममा पीडा खपेर ज्यान फाल्नतिर लाग्न हुन्न । हामी आफ्नो घरलाई नै विश्व मान्छौं । प्रसंगवश महिला स्वतन्त्रताका कुरा उठे कतिपय पुरुष छाती फुलाएर भन्ने गर्छन्, ‘कसले बाँधेको छ र ? मीठो खाएकै छन्, राम्रो लाएकै छन्, गहनाले पुरिदिएकै छ, योभन्दा बढी के गर्ने ?’ तर, यस्तै रोमाञ्चक उत्तरहरूमार्फत हिंसालाई ढाकछोप गरिन्छ । महिलाको गुम्सिएको आर्तनादमा छरिएको नुनचुक हुन् यस्ता जवाफ ।

महिला हिंसा सर्वत्र छ, तर आफूलाई सभ्य र सम्भ्रान्त भन्ने तथाकथित उच्च घरानियाँ परिवारमा झन् बढी छ । हालै न्यायमूर्तिले श्रीमतीको हत्या गर्ने अपराधीको जन्मकैद घटाएर आठ वर्षमा झारेको घटनाकी पीडित महिला यसको ज्वलन्त उदाहरण हुन् । ठूलठूला महलका महिलाहरूले भोगेका यस्ता कैयौं प्रताडना र हिंसा अँध्यारो कुनामा आँसुसँगै बग्ने गरेका छन् । तिनले व्यथाको कति घुट्को पिइरहेका होलान् ? कतिको त्यस्तै अवस्थामा अन्त्य भयो होला ? महिला जति पीडित भइरहे पनि पीडकहरूले अपेक्षित सजाय नपाउनु विडम्बनापूर्ण छ । कुनै साइकल चोरलाई छ महिना लगाएर पक्डिन सक्ने प्रहरी प्रशासनले त्यस्ता पीडकलाई किन केही गर्न सक्दैन । महिलाको नृशंस हत्या गर्नेहरूलाई, अपराधीहरूलाई संरक्षण दिने कस्तो कानुन हो ?

महिला हिंसा रोक्न राज्यले यथाशीघ्र विशेष पहल थाल्नु अत्यावश्यक भइसकेको छ । महिला आफैंले पनि अब अबलाका रूपमा होइन, कालीका रूपमा प्रस्तुत हुनुपर्ने समय आएको छ । अहिलेका महिला पहिलाकै जस्ता ‘अनपढ, गँवार’ छैनन् । बाटामा कसैले सुसेलेर अपमान गर्न खोज्यो भने विगतमा झैं चुप लागेर अगाडि बढ्ने होइन कि प्रतिकार गरिहाल्नुपर्छ । किनकि त्यही सुसेली/सिटी यौन दुर्व्यवहारको सुरुआत हुन सक्छ । कार्यालयमा कुनै पुरुष मित्रले कार्यक्षमताको सट्टा मुख वा कपडाको सुन्दरताको नचाहिँदो प्रशंसा गर्न थाल्यो भने उसको मुख तुरुन्त बन्द गराइहाल्नुपर्छ । महिला हिंसा कतैबाट उडेर/गुडेर आउने होइन, वरिपरि भएका निकट भनिएका व्यक्तिबाटै हुने हो । त्यसैले आफ्नो लक्ष्मणरेखा आफैं कोर्नुपर्छ । त्यो रेखा काट्ने जोकसैको पनि तत्काल यथोचित प्रतिवाद वा प्रतिरोध गर्नुपर्छ । यसो गर्दा पारिवारिक बेमेल बढेको अनुभव भए छलफल गरेर समस्याको समाधान गर्नुपर्छ । आफ्नै भनिएका मान्छेभित्र कुनै पनि बेला दानव सवार हुन सक्छ । साथीभाइ एवं परिवारका सदस्यहरूको आफूप्रतिको व्यवहारमा आएको परिवर्तनबारे पनि हेक्का राख्नुपर्छ । हिंसा र प्रेमबीच अन्तर सुरुमै छुट्याउन नसक्दा जीवनमा ठूलो दुर्घटना आउन सक्छ । छोरीहरूलाई आत्मरक्षाका लागि तयार पार्नुपर्छ । छोराहरूलाई पनि सही शिक्षा दिन थाल्नुपर्छ, ताकि भविष्यमा कसैकी छोरीचेलीमाथि नराम्रो नजर नलगाऊन् ।

महिला सम्मानसम्बन्धी नैतिक शिक्षा श्रीमान् र छोराहरूले पढ्नुपर्छ । ‘तिमी छोरो हौ, त्यसैले रुनु हुन्न’ भन्ने होइन कि, ‘छोरो भएर जीवनमा अरूलाई रुवाउन हुन्न’ भनेर सानैदेखि सिकाउनुपर्छ । आखिर हाम्रा सन्तति नै यो देशका भविष्य हुन् । अहिलेदेखि सुधार्दै गए भोलि सुन्दर र समतामूलक समाज बन्ला । खालि नारा र कागजी दस्तावेजमा महिला अधिकारका कुरा राखेर समाजको रूपान्तरण हुन सक्दैन ।

(पोखरेल त्रिविको स्वास्थ्य तथा जनसंख्या विभागकी उपप्राध्यापक हुन् ।)

प्रकाशित : श्रावण १६, २०७७ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×