काठमाडौंमा झोला फ्याँकेर भागेका ३ जना सुन तस्कर नवलपरासी पूर्वबाट पक्राउ- समाचार - कान्तिपुर समाचार

काठमाडौंमा झोला फ्याँकेर भागेका ३ जना सुन तस्कर नवलपरासी पूर्वबाट पक्राउ

दरबारमार्ग प्रहरीले घटनास्थल परिवर्तन गरेको आशंकामा अनुसन्धान हुँदै
मातृका दाहाल

काठमाडौँ — २ थान पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुनसहितको झोला सडकमा फ्याँकेर भागेका ३ भारतीय नागरिक नवलपरासी पूर्वबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट तीनै जनालाई बुधबार पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार देवान पटेल, विजय पटेल र निलेश सखिया बुधबार दिउँसो पक्राउ परेका हुन् । सखिया १२ दिनअघि नेपाल आएका थिए । अन्य दुई जना केही महिना पहिले नै काठमाडौं आएको खुलेको छ । तीनैजना अभियुक्त गुजरातको राजकोटका नागरिक भएको पनि खुलेको छ ।

उनीहरुलाई राति नै काठमाडौं ल्याइएको छ । प्रहरी जाँचमा परेपछि मंगलबार बिहान कमलादीमा चाँदीको बिस्कुटमा जलप लगाइएको साढे १४ केजी र ५ सय ग्राम सक्कली सुन तथा २ थान पेस्तोल बाटैमा मिल्काएर उनीहरु भागेका थिए । त्यहीदिन उनीहरु काठमाडौंबाट भागेका थिए । महानगरीय अपराध महाशाखाले घटनामा छानबिन गरिरहेको छ ।


महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनास्थल कमलादी बताएको थियो । तर महाशाखाको अनुसन्धानमा घटनास्थल अन्यत्रै रहेको हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले किन त्यसदिन घटनास्थल परिवर्तन गरेको भन्नेमा पनि अनुसन्धान भइरहेको महाशाखा स्रोतले बतायो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनास्थल कमलादीस्थित नबिल बैंक अगाडी भएको बताएका थिए ।

प्रकाशित : श्रावण १५, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

मास्क नलगाई हिँड्ने २ लाख ८ हजारभन्दा बढी नियन्त्रणमा

मातृका दाहाल

काठमाडौँ — लकडाउन खुलेयता मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ ।

त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क नै दिएर छोडिएको गृह मन्त्रालयल् जानकारी दिएको छ । त्यस्तै ९ हजार २ सय ६९ जनालाई संक्रामक रोग ऐन–२०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको छ ।

पक्राउ पर्नेमध्ये एक लाख ३० हजार ६ सय ४८ जना पुरुष र ७७ हजार ५ सय १० जना महिला रहेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रामक रोगसम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैयाँ जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

अधिकारीका अनुसार गत साता गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर मास्कको अनिवार्य प्रयोग गराउन र नलगाउनेलाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो ।

प्रकाशित : श्रावण १५, २०७७ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×