कांग्रेसमा विवाद चर्कियो : देउवासँग पौडेल र सिटौला समूह चिढिए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसमा विवाद चर्कियो : देउवासँग पौडेल र सिटौला समूह चिढिए

देउवाले पौडेल पक्षको विरोधका बाबजुद २० विभागका संयोजक तोकिसकेका छन् । संयोजक तोकेका विभागमा सदस्य मनोनयन धमाधम भइरहेको छ ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय निकायमा एकपछि अर्को मनोनयन र नियुक्ति गर्दै जान थालेपछि संस्थापन इतर समूह सशंकित बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले देउवाको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष महाधिवेशन हुनेमै संशय व्यक्त गरेका छन् ।

नेतृत्वको पछिल्ला कदमको विरोध गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पौडेल पक्षको बैठक चलिरहेकै बेला सभापति देउवाले केन्द्रीय तहको ज्येष्ठ राजनीतिज्ञ सभामा ४ सय ७९ जनालाई मनोनयन गरेका थिए । पौडेल पक्षको बैठक सकिएलगत्तै मनोनयन गरेको सूची बाहिरिएको थियो । यसअघि भएका पार्टीको विभागका मनोनयन, क्रियाशील सदस्यता वितरणमा चलखेल, राप्रपा नेता सुनिल थापालाई सहमहामन्त्री र अन्य नेतालाई सात केन्द्रीय सदस्य दिने सभापति देउवाको निर्णयमा छलफल गर्न पौडेल पक्षको बैठक बसेको थियो । बैठकमा सबै नेताले देउवाका पछिल्ला कदमलाई रोक्न नसक्ने हो भने महाधिवेशन निष्पक्ष रूपमा हुन नसक्ने धारणा राखेका थिए ।

नेतृत्वको पछिल्ला कदम र निर्णयको विरोध गर्दै सभापति देउवालाई लिखित रूपमै असहमति पत्र बुझाउने र लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो पक्षको धारणा सार्वजनिक गर्ने निर्णयमा पौडेल पक्ष पुगेको छ । यसअघि पनि पौडेल पक्षले लिखित असहमति जनाएको थियो । तर सभापतिबाट मनोनयन नरोकिएपछि औपचारिक रूपमा असहमति पत्र दिएरै पौडेल पक्षले यो मुद्दालाई तल्लो तहसम्म लैजाने निर्णय गरेको छ ।

सभापति देउवाले आफ्नो नेतृत्वमा रहने ज्येष्ठ प्राज्ञ सभामा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानालगायतलाई समेटेका छन् । यो सभा पार्टीमा संघर्ष गरेका पुराना नेता तथा कार्यकर्तालाई सम्मानका लागि बनाइएको निकाय हो । सभामा देउवाले डडेलधुराका २३ जनालाई मनोनयन गरेका छन् । कांग्रेसको जगका रूपमा रहेको मोरङबाट भने तीन जना मात्रै परेका छन् । विधानमा पार्टीका निकाय, विभाग र समिति ६ महिनाभित्र गठन हुनुपर्ने व्यवस्था छ । केन्द्रदेखि तलसम्मको महाधिवेशन/अधिवेशनको तालिका घोषणा गरिसकेको अवस्थामा पार्टीका कुनै पनि निकायको मनोनयन र नियुक्ति आचारसंहिताविपरीत हुने ठम्याइ संस्थापन इतर समूहको छ ।

पूर्वमहामन्त्री सिटौला सभापतिका यस्ता कदमबाट महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका उत्पन्न भएको बताउँछन् । महाधिवेशनका लागि महाराजगन्जमा आफ्नो समूहको सम्पर्क कार्यालय खोलेर गतिविधि चलाइरहेका सिटौलाले मंगलबार थापा नेतृत्वको समूह पार्टी प्रवेश गर्ने कार्यक्रमसमेत बहिष्कार गरेका थिए । थापालाई सहमहामन्त्री दिने र अन्य ७ नेतालाई केन्द्रीय सदस्य दिने निर्णय गर्दा आफूहरूसँग छलफल नभएको भन्दै सिटौला समूहको असन्तुष्टि छ । ‘थापाको प्रवेशले पार्टीको संगठनमा सहयोग नै पुर्‍याउँला, तर महाधिवेशनको कार्यतालिका तोकिसकेपछि केन्द्रीय स्तरका पार्टी निकायहरूमा गरिएका नियुक्ति र मनोनयनले पार्टीभित्र सन्तुलन र न्याय कायम गर्ने गम्भीर आशंका छ,’ सिटौलाले कान्तिपुरसँग भने, ‘यसले महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न खडा गरेको छ ।’ पछिल्लो पटक विभाग, ज्येष्ठ नागरिक सभामा गरिएको मनोनयनप्रति पनि सिटौला असन्तुष्ट छन् । यसअघि विभाग गठनका विषयमा उनी मौन थिए ।

पौडेल पक्षको बैठकमा बुधबार रामशरण महतले महाधिवेशन प्रभावित पार्ने गरी नेतृत्वले गरेका र गर्न खोजिरहेका कदमविरुद्ध आफूहरूको विरोध रहने बताए । देउवाले पौडेल पक्षको विरोधको बाबजुद २० विभागका संयोजक तोकिसकेका छन् । संयोजक तोकेका विभागमा सदस्य मनोनयन धमाधम भइरहेको छ । तत्कालीन सभापति सुशील कोइरालाले तीन वर्षपछि विभाग गठन गर्दा अहिलेका सभापति देउवाले आफ्नो समूहलाई राजीनामा गर्न लगाएका थिए । उनले त्यति बेला विधान र सहमतिविरुद्ध निर्णय गरिएको भन्दै विरोध जनाएका थिए । देउवाकै विरोधका कारण त्यति बेला कोइराला पछि हटे । गठन भइसकेको विभाग खारेज गरिएको थियो ।

‘अहिले त्यही काम सभापतिजीले गरिरहनुभएको छ । यो विधान र निर्वाचनको आचारसंहिताविपरीत छ, हामी स्वीकार गर्दैनौं, हाम्रो मान्छेलाई नबस्न पनि आग्रह गर्छौं,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘यो महाधिवेशनलाई प्रभावित पार्न गरिएको चाल हो ।’ सभापति देउवाले आगामी महाधिवेशनमा पनि उम्मेदवार हुने घोषणा अनौपचारिक तहमा गरिसकेका छन् । उनले सातै प्रदेशमा आफ्नो पक्षको वर्चस्व स्थापित गराउन रणनीति र कार्यक्रमका लागि संयोजक तोकेर तयारीसमेत अघि बढाएका छन् । देउवाका पछिल्ला कदम महाधिवेशनलाई आफू अनुकूल बनाउनेतिरै लक्षित देखिन्छ । त्यसको पछिल्लो कडीका रूपमा आएको हो सुनिल थापासहित राप्रपाका एघार केन्द्रीय सदस्यको पार्टी प्रवेश ।

केन्द्रीय सदस्य मीनेन्द्र रिजालका अनुसार थापासहितको राप्रपा नेताहरूको प्रवेशलाई पार्टीमा कसैले विरोध गरेको छैन । सभापति देउवाले विधानमा नभएको व्यवस्था पार्टीभित्र छलफल र सहमतिबिनै नगरीकनै प्रयोग भएकामा विरोध रहेको रिजालको भनाइ छ । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू आगामी महाधिवेशनमा स्वतः मतदाता हुन पाउँछन् । थापासहितका नेताहरूलाई जति केन्द्रीय सदस्य दियो त्यति फाइदा देउवालाई हुन्छ । थापालाई सहमहामन्त्री दिने निर्णयप्रति देउवा निकट रहेकै कतिपय नेतालाई समेत चित्त बुझेको छैन । पार्टीमा लामो समयदेखि संघर्ष र त्याग गर्दै आइरहेका धेरै नेताका लागि उक्त शीर्ष पद अझै सपना बनिरहेको छ । ‘पार्टीका लागि बलिदान दिन तयार हुने, जिन्दगीभर संघर्ष गर्ने नेताहरूका लागि यो हदको निर्णयले कति मर्माहत बनाएको होला, आफैं सोच्नुहोस्,’ देउवा निकट एक नेताले भने, ‘सभापतिको यस्तो कदमप्रति हाम्रो पनि चित्त बुझेको छैन । तर के गर्नु, महाधिवेशन मुखमा भएका बेला चित्त नुबझेको कुरा पनि बोल्न सकिँदो रहनेछ ।’ पूर्वमहामन्त्री सिटौला नेतृत्वमा सैद्धान्तिक र नीतिगत दिशामै विचलन देखिएको बताउँछन् । ‘नेतृत्व अहिले स्वार्थको जोडघटाउमा मात्रै छ । निरन्तर योगदान र संघर्ष गर्ने साथीहरूप्रति गरिने न्याय मूल्यांकन गरिएन । स्वार्थको जोडघटाउमा मात्रै लाग्दा पार्टीको मूलधारमै असर गर्ने देखिन्छ,’ उनले भने ।

महाधिवेशन आफूअनुकूल बनाउन देउवा विदेशस्थित जनसम्पर्क कार्यालय र क्रियाशील सदस्यता वितरणतिर पनि लक्षित छन् । करिब पाँच हजार मतदातामा जनसम्पर्कबाट मात्रै करिब २ सय हुन्छन् । जनसम्पर्क कार्यालयमा आफूअनुकूलको परिस्थिति निर्माण गर्न नेतृत्व लागेको आरोप पौडेल पक्षको छ । अमेरिका र भारतको जनसम्पर्क समितिका सभापतिलाई देउवाले केन्द्रीय आमन्त्रित सदस्यमा मनोनयन गरेका छन । केन्द्रीय सदस्य रिजालका अनुसार केन्द्रीय आमन्त्रित सदस्य भइसकेपछि अर्कोलाई नेतृत्व नदिँदा ती ठाउँमा विवाद बढेको छ । ‘महामन्त्री शशांक कोइरालाले भेटेरै सभापतिजीलाई अर्को व्यक्तिलाई सभापति तोक्न आग्रह गर्नुभयो तर उहाँले मान्नुभएको छैन,’ रिजालले भने । बेल्जियम, अस्ट्रेलियालगायत जनसम्पर्क समितिलाई पनि आफूअनुकूल बनाउन खोजिएको भन्दै पौडेल पक्षले विरोध गरेको छ ।

पार्टीको क्रियाशील सदस्यता मुख्य लफडाका विषय बन्न थालेको छ । क्रियाशील सदस्यताबाट आफूअनुकूल महाधिवेशन प्रतिनिधि ल्याउन सकिने भएकाले त्यसतर्फ समेत नेतृत्वले ‘धाँधली’ गर्न थालेको पौडेल पक्षको भनाइ छ । देउवा पक्षीय एक नेताले भने दुवै पक्षले महाधिवेशन आफ्नोअनुकूल पार्नका लागि हरसम्भव तयारी अघि बढाएको बताए । ‘उहाँहरू महाधिवेशनलाई आफूअनुकूल बनाउन विरोधमा लाग्नु भएको हो । सभापतिले पनि पौडेल पक्षले काम नै गर्न सकेन भनेर लगाउँदै आएको आरोप मेट्न विभाग गठन गर्नेजस्ता काम गर्नु भएको हो,’ ती नेताले भने, ‘उहाँहरूकै सहमति खोज्दा ढिलाइ भयो । केही नहुनु भन्दा त यो पनि राम्रै मान्नुपर्छ ।’

प्रकाशित : श्रावण १५, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

बढ्दो छ निराशा

‘यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एउटा नागरिकको अपेक्षा के हुन्छ होला ? उत्तर सरल छ, दैनिक गुजारा चलाउने आधार र टाउको लुकाउने बलियो छाना ।’
जनकराज सापकोटा

काठमाडौँ — लकडाउन अवधिमा र यो हटाएपछि कान्तिपुरसँग अनौपचारिक रूपमा जोडिएका नागरिकले कोरोनाले समाजमा पारेको प्रभावबारे आफ्ना धारणा व्यक्त गरेका छन् । कोरोनाले पारेको देखिने/नदेखिने प्रभाव समाजमा गहिरोसँग गाडिएको छ । कोरोना संक्रमणको प्रभाव रोक्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्‍यो । १ सय २० दिन लामो लकडाउन ६ गते रोकिए पनि यो बीचमा सामाजिक र आर्थिक जनजीवन नराम्रोसँग खलबलियो । कोरोना संक्रमणभन्दा तीव्र गतिमा फैलिएका अनेकन अप्ठ्याराले जनजीवन नराम्रोसँग प्रभावित भयो ।

संक्रमणको ग्राफसँगै आममानिसका निराशा र छटपटीलाई बुझ्न साउन १ देखि कान्तिपुरले ‘कान्तिपुर कुरा’ सुरु गरेको थियो । सुरुवाती केही दिनमा म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमेलमार्फत कयौले आफ्ना छटपटी र समस्या साटेका छन् । आमनागरिकले हामीसँग साटेका प्रतिनिधि अनुभवहरूले बताउँछन्, समाजमा निराशा झाँगिँदै छ र यसले मानसिक समस्याको रूप लिँदै छ ।

आफ्नो परिचय सार्वजनिक गर्न नचाहने भक्तपुरका २४ वर्षीय युवकले कोरोना संकटपछि आफू निराश भएको बताएका छन् । कान्तिपुर कुराको भाइबरमा उनले लेखेका छन्, ‘जीवनमा यति धेरै तनाव बढिरहेको छ, जसको म व्याख्या पनि गर्न सक्दिनँ ।’ उनले आफ्नो अगाडि कुनै विकल्पहरू नरहेको भन्दै लेखेका छन्, ‘दिमागमा नकारात्मक विचारबाहेक अरू केही आउँदैन । म पूरै डिप्रेसनमा छु ।’

आफ्नो परिचय सार्वजनिक गर्न नचाहने अर्का युवाले भाइबरमा पठाएको सन्देश पनि निराशाजनक छ । उनले व्यापार चौपट भएको, ऋणको ब्याज बढ्दै गएको र ब्याजको ताकेता गर्दै आउने फोनले आफूलाई तनाव दिएको बताएका छन् । उनले लेखेका छन्, ‘मजस्ता युवा धेरै छन् । पीडा अलग होला तर समस्या एउटै छ । यस्तो अवस्थामा हामीजस्ता युवाका लागि सरकारले केही सोच्नुपर्ने हो कि ?’ उनले आफूभित्र आत्महत्याको सोच नआइसके पनि निराशा बढ्न सक्ने संकेत गरेका छन् ।

खासगरी थोरै आर्थिक लगानीमा व्यापार–व्यवसाय गर्नेले पनि कान्तिपुरसँग आफ्नो समस्या साटेका छन् । भक्तपुर सानो थिमिमा खडानन्द शिवाकोटीले लकडाउनको दुई महिनाअघि १७ लाख लगानीमा पसल खोलेका रहेछन् । कान्तिपुर कुरालाई पठाएको इमेलमा उनले लेखेका छन्, ‘लकडाउनका तीन महिना पसल बन्द भयो । भाडा मासिक १ लाख छ । कहाँबाट तिर्ने ?’ उनले आफूजस्ता साना व्यवसायीको कुरा सुन्ने कुनै ठाउँ नभएकोमा चिन्ता जनाएका छन् ।

शिवकोटीकै जस्तो विचार सिद्धार्थ नगरपालिका रूपन्देहीका भानुभक्त शर्माले ह्वाट्सएपमार्फत कान्तिपुरसँग साटेका छन् । उनले कोभिडले नराम्रोसँग आर्थिक, सामाजिक र मानसिक असर पारेको उल्लेख गर्दै लेखेका छन्, ‘भाडामा विवाद भइराख्दा व्यावसायिक मानसिकता र उद्यमशीलतामा समेत नकारात्मक असर पार्छ ।’

मनमैंजु बस्ने एक निजी स्कुलका शिक्षकले भाइबरमार्फत आफ्नो समस्या साटेका छन् । उनले नियमित तलब नआउँदा परिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको बताएका छन् । उनले लेखेका छन्, ‘कोरोनाले धेरै कुरामा असर गरेको छ । दैनिक छाक टार्न गाह्रो भएको छ ।’ बाल उदय मासिकका सम्पादक नरेन्द्र नगरकोटीले लेखेका छन्, ‘सहकार्य गरिरहेका साथीहरूलाई तिर्न नसकिएको महिनौंको तलब रकम, भाखा नाघेको ऋणको ब्याज, हर्जाना र किस्ता रकम, महिनौंदेखि तिर्न बाँकी घरभाडा, प्रेस र अन्य विभिन्न शीर्षकमा भुक्तानी गर्न बाँकी रकम आदिले थिचिएर किचिएर हाम्रो सिर्जनाशक्ति र काम गर्ने ऊर्जाको निधन भएमा कसको मन रोला ? हामी हाम्रो कर्मबाट विचलित हुनुपर्दा र सपना पलायन हुँदा पर्ने असर कस्तो होला ?’

इन्जिनियरिङका विद्यार्थी शिशिर अर्यालले कान्तिपुर कुराको इमेलमा विद्यार्थीहरू पनि कसरी डिप्रेसनको सिकार हुन सक्छन् भन्ने इंगित गरेका छन् । उनले लेखेका छन्, ‘लामो समय पठनपाठन बन्द हुँदा प्राविधिक विषय पढ्ने विद्यार्थीहरूको वैदेशिक अध्ययन र रोजगारीजस्ता कुरामा पनि प्रभाव पर्ने र दिमाग असिर्जनशील, अनुत्पादक र बोधो भइसकेको हुन्छ । यही कारणले कतिले मानसिक तनाव खेप्ने र मानसिक रोग बढ्ने नहोला भन्न सकिन्न ।’ अर्घाखाँचीका प्रदीप आचार्यले म्यासेन्जरमार्फत विदेश पढ्न जाने विद्यार्थी अन्योलमा परेकाले कोरोना संक्रमण कम र नियन्त्रण भएको देशमा पढ्न जान लागेका विद्यार्थीलाई पठाउन पहल गर्नुपर्‍यो भनेका छन् ।

कान्तिपुरसँग आफ्नो कुरा साट्नेहरूमा व्यापारी, व्यवसायीदेखि विभिन्न पेसाकर्मी र विद्यार्थी छन् । धेरैजसोले आगामी दिन कस्तो हुने हो ? आफ्नो भविष्य कसरी अगाडि बढ्ने हो र आफूले भोगिरहेको समस्याको समाधान कसरी हुने भन्नेमा अन्योल रहेको बताएका छन् । भैंसेपाटी, ललितपुरका गोकर्ण अधिकारीले कान्तिपुर कुराको इमेलमा सर्वसाधारणलाई कोभिड–१९ पछि दैनिकी गुजारा चलाउन नसक्ने अवस्था भइरहेको उल्लेख गरेका छन् । उनले आफैंसँग प्रश्नोत्तर गर्दै लेखेका छन्, ‘यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एउटा नागरिकको अपेक्षा के हुन्छ होला ? उत्तर सरल छ, दैनिक गुजारा चलाउने आधार र टाउको लुकाउने बलियो छाना ।’

खासगरी हठात रोजगारी गुमाएका र आर्थिक संकटमा फसेकाहरूले आफूभित्र निराशा बढ्दै गएको अनुभव कान्तिपुरसँग साटेका छन् । ट्राभल एन्ड टुर्स क्षेत्रमा कार्यरत ३६ वर्षीया महिलाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा कान्तिपुर कुरालाई इमेल गरेर संक्रमणका कारण आफ्नो जागिर प्रभावित भएको र करिअर अनिश्चित भएको बताएकी छन् । यतिबेला न आफू फरक क्षेत्रमा गएर नयाँ करिअर सुरु गर्न सक्ने न भएकै जागिर सुचारु हुन सक्ने अवस्था रहेको भन्दै लेखेकी छन, ‘जागिर नै मेरो मुख्य समस्या भएको छ ।’

कान्तिपुरसँग कुरा साट्ने अधिकांशले आफ्नो छटपटी, सरकारले चालेका कदमप्रतिको निराशा र अनिश्चित दिनहरू कहिले सकिने हुन् भन्ने चासो व्यक्त गरेका छन् । एकाध नागरिकले भने कोभिड संक्रमणले आफूलाई थप नयाँ तरिकाले सोच्ने मौका मिलेको बताएका छन् । पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठले लेखेका छन्, ‘कोभिडले मलाई धेरैपछि विश्राम लिने समयका साथै समाजमा सहयोग गरी आत्मानुशासित जीवन जिउने मौका पाएँ ।’

प्रकाशित : श्रावण १५, २०७७ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×