कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरदरभन्दा दोब्बर वर्षा

मनसुन सुरु भएयता १ सय ६७ पटक भारी वर्षा भएको छ । २४ घण्टामा २ सय मिमिभन्दा बढी वर्षा भयो भने भारी वर्षा भएको मानिन्छ । जानकारहरूका अनुसार पहाडी क्षेत्रमा २४ घण्टामा १ सय मिलिमिटर वर्षा भएमा पहिरोको जोखिम अत्यधिक हुन्छ । दुई सय मिलिमिटर वर्षा भए पहिरो सुरु हुन्छ भने ३ सय मिलिमिटर वर्षा भए ठूलो पहिरोको सम्भावना हुन्छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — मनसुन सुरु भएको ४४ दिनमा पहिरो, भारी वर्षा (हेभी रेन), बाढी र अचानक बाढी (फ्ल्यास फ्लड) का कारण देशभरि ५ सय ३३ वटा घटना भए । तिनमा परेर बुधबारसम्म १ सय ५८ जनाको मृत्यु भएको छ । ५७ जना बेपत्ता र १ सय ४१ जना घाइते छन् ।

सरदरभन्दा दोब्बर वर्षा

मनसुनको अवधि अझै ५० दिनभन्दा बढी बाँकी छ । विपद्का घटना पनि बढ्ने सम्भावना छ । वर्षासँगै पहाडी र हिमाली जिल्लामा पहिरो जाने क्रम अहिले पनि जारी छ ।

विशेषज्ञहरूले विपद्का घटना बढ्नुमा वर्षाको मुख्य भूमिका रहेको विश्लेषण गरेका छन् । जल तथा मौसम विज्ञान विभागको अहिलेसम्मको तथ्यांकले मुलुकका केही भागमा सरदरभन्दा बढी वर्षा भएको देखाउँछ । जलवायु शाखाकी प्रमुख इन्दिरा कँडेलका अनुसार मुलुकभरका वर्षा मापन गर्ने २० वटा स्टेसनको तथ्यांकले सरदरभन्दा बढी वर्षा भएको रेकर्ड गरेको छ । करिब दुई महिनाको अवधिमा सबै स्टेसनमा ७ सय २९ मिलिमिटर (मिमि) सरदर वर्षा हुनुपर्नेमा ८ सय ५२.९ मिमि वर्षा भएको छ । यो यही अवधिमा देशभर भएको वर्षाको ५६.७ प्रतिशत हो ।

दक्षिण एसियाली मुलुकका मौसमविद्हरूले गत चैतमा यो वर्ष नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा सरदर वर्षा (नर्मल) हुने आकलन गरेका थिए । वरिष्ठ मौसमविद् कँडेलले नेपालका केही स्थानमा भने सरदरभन्दा बढी वर्षा भएको बताइन् । यो वर्ष सरदरभन्दा २ दिन ढिलो जेठ ३० मा मनसुन भित्रिएको थियो । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशको पोखरा आसपास मुलुकमै सबैभन्दा बढी वर्षा भएको छ । करिब दुई महिना अवधिमा पोखरा क्षेत्रमा २ हजार ३०.१ मिमि वर्षा भएको छ, जबकि सरदर वर्षा १ हजार ५ सय ५६.५ मिमि हुनुपर्ने हो । यो जम्मा वर्षाको ६३.७ प्रतिशत हो ।


अहिलेसम्म गण्डकी प्रदेशका म्याग्दी, गोरखा, बागलुङ, तनहुँ, कास्की, पर्वत र लमजुङलगायत जिल्लामा पहिरोका धेरै घटना भएका छन् । त्यसबाट मानवीय र धनको क्षति पनि बढी नै छ । काठमाडौं आसपासका क्षेत्रमा पनि सरदरभन्दा बढी वर्षा भएको छ । अहिलेसम्म सरदर ५ सय ६४.७ मिमि वर्षा हुनुपर्ने भए पनि बुधबारसम्म ६ सय ६६.२ मिमि वर्षा भइसकेको छ । यो ५८.९ प्रतिशत हो । प्रदेश १ को विराटनगर क्षेत्रमा पनि औसतभन्दा बढी वर्षा मापन भएको छ । विराटनगर क्षेत्रमा यस अवधिमा ८ सय १५.९ सरदर वर्षा हुने आकलन गरिए पनि अहिलेसम्म १ हजार २ सय ९४.२ मिमि वर्षा भएको छ । यो ८३.१ प्रतिशत वर्षा हो ।

प्रदेश १ कै धनकुटा आसपास क्षेत्रमा ६ सय ६४.६ मिमि वर्षा भएको छ । यो अवधिमा सरदर वर्षा ४ सय १९ मिमि आकलन गरिएको थियो । प्रदेश ५ को नेपालगन्ज आसपासमा भने सरदरभन्दा कम वर्षा भएको छ । यस अवधिमा सरदर ६ सय ८७.१ मिमि वर्षा हुनुपर्नेमा ५ सय ४७ मिमि वर्षा भएको छ, यो ४१ प्रतिशत वर्षा हो ।

सुदूरपश्चिम प्रदेशको डडेलधुरा आसपासमा भने सरदरभन्दा केही बढी वर्षा भएको छ । सरदर ४ सय १९.१ मिमि वर्षा हुनुपर्नेमा बुधबारसम्म ५ सय ६३ मिमि वर्षा भएको छ ।

मनसुन सुरु भएयता १ सय ६७ पटक भारी वर्षा भएको छ । २४ घण्टामा २ सय मिमिभन्दा बढी वर्षा भयो भने भारी वर्षा भएको मानिन्छ । जानकारहरूका अनुसार पहाडी क्षेत्रमा २४ घण्टामा १ सय मिलिमिटर वर्षा भएमा पहिरोको जोखिम अत्यधिक हुन्छ । दुई सय मिलिमिटर वर्षा भए पहिरो सुरु हुन्छ भने ३ सय मिलिमिटर वर्षा भए ठूलो पहिरोको सम्भावना हुन्छ ।

सामान्यतया जुन १० देखि असोज पहिलो सातासम्म (सेप्टेम्बर २३) सम्मका १ सय दिन मनसुनी गतिविधि हुन्छ । दक्षिण एसियाली मुलुकहरूका मौसमविद्हरूले यो वर्ष पाकिस्तानको धेरैजसो भाग, भारतको दक्षिणी भाग, बंगलादेश र श्रीलंकाको केही भागमा भने सरदरभन्दा केही प्रतिशत बढी वर्षा हुने आकलन गरेका थिए ।

अफगानिस्तान, पाकिस्तान, भारत र भुटानको उत्तरी भागमा भने सरदरभन्दा पनि कम वर्षा (सुक्खा) हुने देखिन्छ । मनसुन अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ ।

प्रकाशित : श्रावण १४, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?