कालीकोटमा पहिरो : एकै परिवारका ७ सहित ९ जनाको मृत्यु [अपडेट]- समाचार - कान्तिपुर समाचार

कालीकोटमा पहिरो : एकै परिवारका ७ सहित ९ जनाको मृत्यु [अपडेट]

तुलाराम पाण्डे

कालीकोट — मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।

राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको उनले जानकारी दिए । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको ओलियाले जानकारी दिए ।

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले पूर्वी कैलाली डुबानमा, सयौं परिवार विस्थापित

मोहन बुढाऐर

धनगढी — मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।


स्थानीयलाई सशस्त्र, जनपद प्रहरी र रेडक्रसको टोलीले सुरक्षित स्थानमा सारिरहेको छ । इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनकबहादुर धामीले भजनीका वडा नम्बर ३, ५ र ८ का गाउँ पूरै डुबेको बताए । उनका अनुसार वडा नम्बर ८ को कृष्णनगर काडाढिक, छेला, लालबोझी गाउँमा पथरियाको बाढी पसेको छ । वडा नम्बर ३ को दैलेखटोल र वडा नम्बर ५ को कुलियापुर, ढुसी, जनकपुरलगायत गाउँ पनि डुबेका छन् ।

‘अहिले यहाँका बासिन्दाको उद्धार गर्ने काम जारी छ,’ धामीले भने, ‘स्थानीयलाई ज्यान कसरी जोगाउने भन्ने चिन्ता छ ।’ उनका अनुसार डुबानमा परेकालाई उचाइमा रहेका हुलाकी सडक, स्कुल भवनलगायतमा सार्ने काम भइरहेको छ । थापापुरका गंगा चौधरीले सुनाफाटा, बर्दुवा, कुसुमघाट, गोरुचरुवा, बन्दीपुर गाउँका एक हजारभन्दा बढी परिवार विस्थापित भएको बताए ।

त्यस्तै चुरेबाट बग्ने मोहना नदीले कैलारी गाउँपालिका हसुलिया, भित्रवा, मोहनपुर, शिवरत्नपुर, बेलापरसुवालगायतका बस्ती डुबानमा पारेको छ । टीकापुरको दुर्गौलीलगायत क्षेत्र पनि डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले जिल्लाको पूर्वोत्तर क्षेत्र जलमग्न भएको बताए । ‘कहाँ कति परिवार विस्थापित भए, कति क्षति भयो, यकिन जानकारी आइसकेको छैन,’ उनले भने, ‘स्थानीय प्रहरी उद्धारमै खटिएका छन् । सबै ठाउँमा पुग्न सकिएको छैन ।’ उनले निरन्तर वर्षा भइरहेकाले डुबानमा पर्नेको संख्या बढ्दै जाने बताए ।


प्रकाशित : श्रावण १४, २०७७ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×