कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी भन्छन्– ‘डरैडरमा कसरी परीक्षा दिनु ?’

उपत्यकाबाहिर भएका विद्यार्थी भन्छन्, ‘घरबेटीले घरभित्र नछिराए कहाँ गएर परीक्षाको तयारी गर्ने ?’
त्रिवि भन्छ– ‘विद्यार्थीहरुले तयारी गर्दै गरुन् भनेर सूचना निकालेका हौं’
बुनु थारु

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको चौथो सेमेस्टरका विद्यार्थी हुन् उज्ज्वल खतिवडा । परीक्षाको पर्खाइमा रहँदै गर्दा काठमाडौंमा कोरोनाको महामारी फैलिएको चर्चा चुलिन थालेको थियो । त्यसैले उनी लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि नै झापास्थित घर गए ।

विद्यार्थी भन्छन्– ‘डरैडरमा कसरी परीक्षा दिनु ?’

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने सूचना निकालेका छन् । यस्ता सूचनाले काठमाडौंबाहिर रहेका विद्यार्थीलाई परीक्षाको तनावसँगै कसरी काठमाडौं फर्किने भन्ने चिन्ता बढाइदिएको छ ।

‘काठमाडौंमा घर हुने विद्यार्थीलाई पो यसबेला परीक्षा दिन सजिलो होला । तर, उपत्यकाबाहिर घर भएका हामीजस्तालाई आउनै गाह्रो छ,’ खतिवडाले भने, ‘भदौ १ गतेबाट लामो दूरीको गाडी चल्ने रे, गाडीमा आउँदा पनि संक्रमणको जोखिम हुन सक्छ । बल्लतल्ल आइयो भने पनि घरबेटीले कसरी घरमा छिराउला भन्ने पीर ।’ उनका अनुसार सकेसम्म अनलाइनबाट परीक्षा लिने, नभए अरु विकल्प अपनाउन सकिन्छ ।

पत्रकारिता विषयमा स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत सुशील पोखरेल पनि त्रिविले सूचना निकालेकोमा खुसी छैनन् । पेप्सीकोला बस्ने उनी पनि चैत ९ को परीक्षा स्थगित भएपछि वैशाख १६ गते स्थानीय तहको पहलमा विराटनगरस्थित घर गएका थिए । ‘संक्रमणको जोखिमभन्दा पनि अरु समस्याले दुःख पाइएला भन्ने चिन्ता लाग्ने गरेको छ । मलाई विराटनगरबाट काठमाडौं आइपुग्न एक दिन लाग्छ, गाडी खुलेपछि धेरै मान्छे आउन खोज्छन् होला, गाडीमा संक्रमण हुने सम्भावना हुन्छ नि,’ उनले भने, ‘आउन खोज्दा टिकट पाइएला कि नपाइएला ? त्यसमाथि अहिले त कोरोनाको पीसीआर टेस्ट नगराई घरबेटीले भित्र छिर्न नदिने भन्ने सुनेको छ । टेस्टको पनि छुट्टै खर्च लाग्ने भयो ।’

लकडाउनमा घर गएका उनीहरुजस्ता सबैजसो विद्यार्थीलाई त्रिविको सूचनाले तनाव दिएको छ । कोरोनाको त्रास र जोखिम घटिसकेको अवस्था हैन यो । मंगलबार मुलुकभर ३ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ ।

नेपाल सरकारले कोरोना संक्रमणको जोखिम घटाउन चैत ११ देखि पूर्ण लकडाउन घोषणा गरेको थियो । यही साउन ६ गते १२० दिन लामो लकडाउन अन्त्य भएको छ । तर, केही क्षेत्र सञ्चालन गर्न अहिले पनि निषेध गरिएको छ ।

कोभिड–१९ का कारण चैत पहिलो सातादेखि नै शिक्षण संस्थामा पठनपाठन रोकिएको थियो । सरकारले भदौ १ देखि विद्यालयले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न सकिने बताएको छ । तर, कोरोना नियन्त्रण नभएसम्म परीक्षा सञ्चालन र विद्यालय खोल्न नहुने विज्ञहरु तर्क गर्छन् ।

लकडाउन अन्त्य भएसँगै विश्वविद्यालयहरुले परीक्षाको सूचना निकाल्न थालेका छन् । स्नातकोत्तरका परीक्षा भदौबाट हुने भएका छन् भने स्नातकका परीक्षा असोज महिनामा हुने बताइएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार परीक्षा दिँदा एकै ठाउँमा धेरै जना बस्ने हुनाले त्यहाँ रहेका अधिकांशलाई संक्रमणको जोखिम रहन्छ । कोरोना नियन्त्रण नभएसम्म भिडभाड हुने विद्यालय, कलेज तथा परीक्षाहरु सञ्चालन नगरेकै राम्रो हुने उनी बताउँछन् ।

त्यसै गरी जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, ‘नेपालका विभिन्न समुदायमा संक्रमण फैलिरहेको छ । परीक्षण पर्याप्त छैन । काठमाडौंबाहिर घर भएका विद्यार्थी कसरी आउने ? एउटै परीक्षा केन्द्रमा धेरै विद्यार्थीहरु जम्मा भएर परीक्षा दिनुपर्ने हुन्छ । असुरक्षित यात्रा गरेर आउँदा संक्रमणको जोखिम झन् बढ्छ ।’

उनका अनुसार एउटै हलमा कम्तीमा ५०–६० जना ३–४ घण्टा एकै ठाउँ हुने भएकाले तिनमा कोही स‌ंक्रमित रहेछ भने अझ बढी जोखिम हुन्छ । ‘संक्रमण धेरै फैलिएको जिल्लाबाट विद्यार्थी आएका छन् भने त थाहै नपाई अरुलाई पनि संक्रमणको सम्भावना बढी हुन्छ । अहिले नै परीक्षा लिइहाल्नुपर्ने आवश्यकता छ जस्तो लाग्दैन,’ उनले भने । पाण्डेको भनाइमा परीक्षा लिनैपरे खुला चौरमा दुरी कायम गरेर लिँदा बढी उपयुक्त हुन सक्छ । ‘हलमा परीक्षा दिन लगाउने हो भने उपयुक्त भेन्टिलेसन हुनुपर्छ । जनस्वास्थ्यका दृष्टिकोणले हेर्दा अहिले नै परीक्षा गरिहाल्न त उपयुक्त देखिँदैन । स्थानीय तहमा नै परीक्षा लिने व्यवस्था गरिनुपर्छ,’ उनले भने ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य मदन विष्ट अहिले परीक्षा दिने वातावरण नभएको बताउँछन् । ‘अनलाइनबाट परीक्षा गर्न सकिन्थ्यो होला । तर, त्यो पनि सबै स्थानमा सम्भव छैन । काठमाडौंमा त इन्टरनेटको पहुँच राम्रो छैन, गाउँगाउँमा बसेका विद्यार्थीहरुलाई कसरी सम्भव होला र ?’ उनले भने, ‘धेरै विद्यार्थी गाउँ गएका छन् । लकडाउन हटे पनि निर्धक्क भएर हिँडडुल गर्ने स्थिति छैन । डरका बीचमा कसरी विद्यार्थीले परीक्षा दिन जानु ?’

उनका अनुसार विद्यार्थी संघ–संगठनले सहज अवस्था आएपछि लिखित परीक्षा लिँदा राम्रो हुने भनी त्रिवि पदाधिकारीसँग छलफल गरिरहेका छन् । ‘यो महिनासम्म के हुन्छ हेरौं भन्नुभएको छ । संक्रमितको संख्या एकदमै बढ्ने र फेरि लकडाउन भयो भने कसरी परीक्षा सम्भव होला र ?’ उनले भने ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार पनि भदौ पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने वातावरण अहिले देखिएको छैन । ‘हामीले औपचारिक रुपमा विज्ञप्ति नै प्रकाशित गरेर हाललाई परीक्षा लिइहाल्ने वातावरण छैन भनेका छौं,’ उनले भने, ‘सम्बन्धित पक्षलाई अझै केही समय परीक्षा नलिन आग्रह पनि गरेका छौं । यस्तो बेला विद्यार्थीलाई आतंकित होइन, संयमित बनाउन मद्दत गर्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार मिति तोकिए पनि स्थिति हेरेर मात्र परीक्षा सञ्चालन गरिनेछ । ‘अहिलेको अवस्था सुध्रिँदै गयो भने परीक्षा लिन्छौं भनेका हौं,’ उनले स्पष्ट पारे । उनले विद्यार्थीका लागि जहाँ नजिक छ त्यहीँ परीक्षा केन्द्र व्यवस्था हुने भन्दै अनलाइन परीक्षाबारे पनि छलफल भइरहेको जानकारी दिए ।

‘संक्रमण बढेको अवस्थामा त पक्कै जाँच हुँदैन । हामीले एक महिनाको समय तोकेका छौं । यो समयमा अवस्था के हुन्छ हेरौँ भनेर हो,’ उनले भने, ‘परीक्षाका लागि विद्यार्थी तयारी अवस्थामा रहून्, एलर्ट भएर बसून् र पढून् भनेर हामीले सूचना निकालेका हौं ।’

पूर्वाञ्चल विश्वविद्यालयले भने भदौ पहिलो सातादेखि लिने भनिएका परीक्षा स्थगित गरिएको जनाएको छ ।कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेल परीक्षा नलिने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

यस्तै अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमा पनि परीक्षा हुने/नहुने विषयले अन्योल बढाएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?