कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा समूह-संक्रमणको अवस्था : डब्लूएचओ

अतुल मिश्र

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोभिड–१९ रोग संक्रमण ‘क्लस्टर अफ केस’ अर्थात् ‘समूहमा संक्रमण’ देखिएको जनाएको छ । यो समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो ।

नेपालमा समूह-संक्रमणको अवस्था : डब्लूएचओ

हाल दक्षिण र पूर्वी एसियामा नेपालजस्तै समूहमा संक्रमण भएका मुलुकमा भारत, थाइल्यान्ड, मालदिभ्स, श्रीलंका र म्यानमार हुन् । यसअघि नेपालमा कोरोनाको फैलावट ‘स्पोरोडिक केस’ अर्थात् ‘फाट्टफुट्ट मामिला’ भनेर डब्लूएचओले जनाउँदै आएको थियो ।

डब्लूएचओले कोरोना फैलावटको स्तरलाई ‘स्पोरोडिक केस’, ‘क्लस्टर अफ केस’ र अन्तमा ‘कम्युनिटी ट्रान्समिसन’, अर्थात् समुदायमा प्रसारण भनेर तीन तहमा परिभाषित गरेको छ । हाल दक्षिण र पूर्वीर् एसियाको मुलुकअन्तर्गत बंगलादेश र इन्डोनेसियामा कोरोना संक्रमण समुदायमा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार ‘हालसम्म कोरोना समुदायमा फैलिएको प्रमाणित नभएको’ बताए । डब्लूएचओले नेपाललाई ‘ठाउँ विशेषमा कोभिडको केस’ भन्ने सूचीमा राखेको पनि उनले उल्लेख गरे । तर स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले कान्तिपुरसँग भने, ‘समग्र देशलाई हेर्दा हामीकहाँ कम्युनिटी ट्रान्समिसनभन्दा अगाडिको अवस्था भन्न सकिन्छ तर केही क्षेत्र विशेषका लागि कम्युनिटी ट्रान्समिसनकै अवस्था हो ।’ उनले पर्सा र सप्तरीमा भएको संक्रमणतर्फ संकेत गरे ।

उनका अनुसार जुन समुदायमा फाट्टफुट्ट रूपमा कोरोना देखिएको छ, त्यहाँ भएका समूहहरूमा संक्रमणको जोखिम उच्च छ । यस्तो अवस्था आउनुको कारण संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सही तरिकाले नहुनु रहेको उनको भनाइ छ ।

‘हामी अत्यन्त खतरनाक अवस्थामा छौं । सरकार र समुदायले सकारात्मक भूमिका खेलेनन् भने भारतजस्तो अवस्थामा जानेछौं,’ वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. मधु दीक्षित देवकोटा भन्छिन्, ‘अहिले हामीकहाँ कम्युनिटी ट्रान्समिसन छैन भनेर ठोकुवा गर्ने आधार छैन ।’ उनका अनुसार हालका घटनाहरूले समुदायमा संक्रमणतर्फ संकेत गरिरहेकाले थप सतर्कतासँगै अध्ययन अनुसन्धान आवश्यक छ । अहिलेसम्म मुलुकमा कोरोनाको समुदायमा अवस्था हेर्ने ‘सेरो प्रिभिलेन्स सर्भे’ गरिएको छैन । यो सर्वेक्षण अत्यावश्यक रहेको औंल्याउँदै आए पनि यस विषयमा मन्त्रालयले खासै ध्यान नदिएको गुनासो विज्ञहरूले गर्दै आएका छन् ।

प्रकाशित : श्रावण १३, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?