मन्त्रीले नै उल्लंघन गरे सरकारको निर्णय

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले २५ जना भन्दा बढी भेला हुने सभा, सम्मेलन, गोष्ठी, भोजभतेर, धार्मिक कार्यक्रममा रोक लगाएपनि संघीय सरकारका मन्त्रीले नै उल्लंघन गरेका छन् ।

मन्त्रीले नै उल्लंघन गरे सरकारको निर्णय

नेकपाका करिब ७ सय नेता कार्यकर्ता सहभागी भएको मदन भण्डारी फाउण्डेशन काभ्रेको जिल्ला भेलामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथीको रुपमा सहभागी भएका हुन् ।

बनेपाको होटल उग्रचण्डीको हलमा आयोजित कार्यक्रममा पूर्वमन्त्री आनन्द पोखरेल, गोकुल बाँस्कोटा, संविधानसभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाईं, गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघ अध्यक्ष समेत रहेका धुलिखेल नगरप्रमुख अशोक व्याञ्जु लगायत पनौती, बनेपा, नमोबुद्ध नगरपालिकाका प्रमुख उपप्रमुख सहभागी थिए । खचाखच हलमा पनि नअटाएपछि कार्यकर्ताहरु बरण्डा र आँगनमा बसेर समेत कार्यक्रममा सहभागी थिए ।

मन्त्री ज्ञवालीले सरकारकै निर्णयको बर्खिलाप भएपनि सहभागी भएको प्रतिक्रिया दिए । ‘कोरोना संक्रमणको जोखिम अझै घटेको छैन, सरकारले २५ जना भन्दा बढी सहभागी नहुनु भनेका छ, एक हिसाबले भन्ने हो भने सरकारको निर्णयको बर्खिलाप भएपनि म यसमा सहभागी भएँ’ मन्तव्यको सुरुवात र अन्त्यमा सोबारे प्रतिक्रिया दिएका मन्त्री ज्ञवालीले भने, ‘लकडाउन केही खुकुलो भएपनि संक्रमण बढ्ने जोखिम अझै छ, सजग, सचेत र सुरक्षित रहनुहोला, यो कार्यक्रममा सहभागीहरु ट्रेसिङमा जानुहोला ।’

थर्मल गनको माध्यमबाट सहभागीको ज्वरो नापिएपनि सहभागीबीच भौतिक दुरी कायम हुने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भेलाबारे औपचारिक जानकारी नभएको बताए । ‘औपचारिक कुनै जानकारी छैन, मापदण्ड भन्दा बढी भेला भएर कार्यक्रम गर्नु ठिक कुरा हैन,’ उनले भने, ‘व्यक्ति स्वंयम सचेत हुनुपर्ने हो, अन्य दल, संस्थाले पनि कार्यक्रम गरेको जानकारी आएको छ, सम्बन्धितसँग कुरा गर्छौं ।’

केही दिन अघि कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई प्रमुख अतिथी बनाएर पनौतीस्थित श्रीराम हलमा बीपी विचार समाजले गरेको कार्यक्रममा नेपाली कांग्रेसका करिब ४ सय नेता कार्यकर्ता सहभागी थिए ।

अधिकांस समय सरकारको बचाउमा खर्चिएका मन्त्री ज्ञवालीले कामको समिक्षाको आधारमा सरकार परिवर्तन हुनुपर्ने अवस्था नरहेको बताए । कार्यकर्ताहरु पार्टी एकताको पक्षमा भएको भन्दै विभाजनले कसैलाई फाइदा नगर्ने तर्क गरे ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको नाम नलिइकन उनले २ वर्षपछि दुई तिहाई आउने यकिन नभएकोले यही बेला पालै पालो बनौं भन्ने केहीलाई लागेको हुन सक्ने तर्क गरे । सरकारले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै उनले पार्टी र कर्मचारीबाट सहयोग नभएको आरोप लगाए । ‘प्रतिपक्ष भन्दा चर्को विरोध संसदमा कसले गर्छ देख्नुभएकै छ,’ उनले भने, ‘सबैको साथ हुने हो भने ५ नम्बर गियरमा सरकार चल्यो, अहिले ३ नम्बर गियरमा चलेको छ ।

नेकपाका दोस्रो पुस्ताका नेताहरु पनि ६० वर्ष नाघेका तर्क गर्दै पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्ने तर्क गरे ।

नेकपा काभ्रेमा विवाद

परराष्ट्रमन्त्री ज्ञवाली सहभागी भएको मदन भण्डारी फाउण्डेशन काभ्रेको भेलामा नेकपाको विवाद पोखिएको छ । भेलामा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता तथा कार्यकर्ता मात्रै सहभागी थिए । नेकपा काभ्रे अध्यक्ष रुकु चौलागाईंले फेसबुकमार्फत ‘पार्टीको एकतामा आँच पुर्याउने खालको कुनै पनि क्रियाकलापमा संलग्‍न नहुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे का सम्पुर्ण नेता ,कार्यकर्ता ,समर्थक, शुभेच्छुकहरुलाई अनुरोध’ गरेकी थिइन् । साविक (माओवादी केन्द्र) की चौलागाईं अध्यक्ष र साविक एमालेको तर्फबाट माधव कुमार नेपाल निकट टोकबहादुर वाइवा सचिव छन् । कार्यक्रममा दुवै जना सहभागी छैनन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपा काभ्रे पनि गुटका आधारमा विभाजित छ ।राष्ट्रिय युवा संघ र अनेरास्वियुको जिल्ला नेतृत्वमा रहेका ओली पक्षका नेता कार्यकर्ताले ‘स्वतन्त्र युवा विद्यार्थी’ को नाममा ओलीको पक्षमा बनेपामा प्रदर्शन गरेपछि अर्को समूह चिढिएको हो । लगत्तै दाहाल र माधव नेपाल समूहका नेता कार्यकर्ताले जनवर्गीय संगठनका नाममा पार्टी अध्यक्ष र सचिवलाई एकता कायम राख्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

जिल्लाका जनवर्गीय संगठनका नाममा अमुक व्यक्तिले हस्ताक्षर बुझाएको भन्दै ओली निकट समूहले पनि ध्यानाकर्षण पत्र बुझाउन लागेपनि पार्टी अध्यक्ष र सचिव अनुपस्थित भएपछि कार्यलयको भित्तामा टाँसेर फर्किएका थिए ।

प्रकाशित : श्रावण १०, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?