कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले थुनिएको नौलीखोलाको पानी बग्‍न थाल्यो

हरिराम उप्रेती

गोरखा — शुक्रबार रातिदेखि पहिरोले थुनिएको नौलीखोलामा पानी बग्न थालेको छ ।  शुक्रबार राति पहिरो खसेर ताल बनेको नौलीखोलामा शनिबार दिउँसोदेखि पानी बग्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले बताए । जमेको पानी बिस्तारै बग्न थालेको उनले बताए ।

पहिरोले थुनिएको नौलीखोलाको पानी बग्‍न थाल्यो

धार्चे गाउँपालिका–७ लापु स्थित नौलीखोला शुक्रबार राति ११ बजेदेखि थुनिएपछि स्थानीय त्रसित बनेका थिए । लापुस्थित मापुडाँडामा पहिरोसँगै बगेको ठूला ढुंगाले नौलीखोला थुनिएको थियो । अझै साविकको अवस्थामा पानी भने नबगेको स्थानीय बताउँछन् ।

‘ढुंगा र माटोले खोला थुनेको हो, अहिले माटो खोतल्दै खोला बग्न थालेको छ,’ स्थानीय सरोज गुरुङले भने,‘ नौलीखोलाको झरनामा पनि धमिलो भएर पानी बग्न थालेकाले जोखिम धेरै हट्यो, मन पनि शान्त भएको छ ।’

पानी जमेपछि नौलीखोलाको झरना आसपासका एक दर्जन घरका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । त्यहाँको अवस्था बुझ्नका लागि माछाखोला प्रहरी चौकीबाट टोली खटिएको उनले बताए । पानी बग्न थालेपछि जोखिम घटेको उनले बताए । ‘पहिरो गएको ठाउँमा ठूला–ठूला ढुंगाले खोला थुनेको रहेछ, तत्काल त्यो फुट्ने अवस्था पनि छैन,’ उनले भने ।

नौलीखोला बुढीगण्डकीको सहायक नदी हो । उक्त खोला थुनिएपछि शनिबार बिहान तल्लो तटीय क्षेत्रका स्थानीयलाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १०, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?