कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा विवाद : बदलिँदै मनस्थिति, फेरिएला समीकरण ?

बबिता शर्मा

काठमाडौँ — दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति गरेर विवाद टुंगाउनुपर्ने मत बलियो बन्दै गएपछि नेकपामा माधव नेपाल समूहमाथि दबाब परेको छ । यद्यपि अहिलेसम्म दाहाल र नेपाल समूहको समीकरण त टुटिसकेको छैन । 

नेकपा विवाद : बदलिँदै मनस्थिति, फेरिएला समीकरण ?

तर, दाहाल समूहका केही नेताहरुसमेत दुई अध्यक्षबीच सहमतिको पक्षमा देखिएपछि नेपाल समूह भिन्दै छलफल र आफ्नै रणनीति बनाउने ठाँउमा पुगेको छ । आन्तरिक विवादको समाधान अर्का अध्यक्ष दाहालसँगकै लेनदेन गर्नुपर्ने ओली समूहमा सुरुदेखिकै रणनीति हो । त्यसैले ओलीले स्थायी कमिटी बैठकयता लगातार दाहालसँग धेरैपटक संवाद गरेका थिए । ओली समूहका नेताहरु पटक–पटक दाहालकहाँ पुगेर दुई अध्यक्षबीच सहमति गर्ने प्रस्ताव अगाडि सार्दै आएका छन् ।

संसदीय दलका उपनेता सुवास नेम्वाङ् भन्छन्,‘दुई अध्यक्षले पार्टी एकता गर्नु भएको हो । अब पनि उहाँहरु नै मिलेर अगाडि बढ्नु पर्छ ।’ओली समूहको रणनीतिसँग मेल खाने पूर्व माओवादी समूहका नेताहरुको धारणा देखियो । साउन ५ मा दाहालले आफ्नै निवासमा बोलाएको पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरुले पार्टी विवाद समाधानका लागि मूल नेतृत्वसँगै सहमति गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।

पार्टीका समस्या र मुद्दाका आधारमा अस्थायी रुपमा जोसँग समीकरण बनाए पनि अहिलेको शक्ति सन्तुलन र आवश्यकतालाई ध्यान दिए प्रधानमन्त्री ओलीसँग सम्झौता गर्न दाहाललाई नेताहरुको सुझाव थियो । केहीसमय अगाडिसम्म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानमा रहेका दाहाल समूहका नेता अहिले ओलीसँग सम्झौताको तहमा पुगेका हुन् । लगातार दबाबपछि पनि ओली टसमस नभएपछि दाहाल समूह नयाँ रणनीतिमा पुगेको हो ।

आफूनिकट र वरिष्ठ नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेको अर्को दिन दाहालले आफूनिकट नेताहरुसँग परामर्श लिएका थिए । छलफलमा पार्टीमा देखिएका समस्याको निकास प्रधानमन्त्री ओलीसँगको संघर्ष र एकताबाटै मात्रै सम्भव हुने र यसका लागि वार्ता भइरहेको दाहालको भनाई थियो । दाहालले पूर्व एमालेको कुनै पनि समूहसँग मुद्दाका आधारमा सहकार्य हुने र कसैसँग स्थायी समीकरण नहुने बताएका थिए । पार्टी एकता गर्दा ओलीसँग र विधि प्रक्रियामा नेपालसँग सहकार्य भएको उनको भनाई थियो । दाहालको यो भनाई पूर्व माओवादी समूहभित्र बदलिएको मनस्थितिको संकेत हुन सक्छ,’दाहालनिकट एक स्थायी कमिटी सदस्यको बुझाई छ ।

हुन त दाहाल समूहका कतिपय नेताहरु खुलैरै यस्तो मत राखेका छन् । ओलीले दुवै पदबाट राजीनामा दिनुनपर्ने उनीहरुको मत छ । स्थायी कमिटी सदस्य मणि थापा त ओलीले दुवै पदबाट राजीनामा दिए पार्टी विभाजन हुने बताउँछन् ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भन्छन्, 'दुई अध्यक्ष मिलेर पार्टी एकता गर्नु भएको हो । पार्टी एकतालाई बचाउनु पर्छ । असन्तुष्ट मतहरुलाई सम्बोधन गर्दै समस्याको समाधानका लागि दुई अध्यक्षले नै पहल लिनुपर्छ ।’

यद्यपि मंसिरमा महाधिवेशन गर्ने र एकल नेतृत्व लिने ओलीको प्रस्तावमा सुरुमा सहमति जनाएर पछाडि हटेका दाहालले नेपाल समूहलाई विश्वासमा लिने कोशिष भने गरिरहेका छन् । यता ओली र दाहाल समूहबीचको निकटता र नेताहरुको बदलिँदो मनस्थितिले नेपाल समूह सशंकित छ ।

स्थयी कमिटी सदस्य बेदुराम भुसालले इकान्तिपुरसँगको अन्तर्वार्तामा भनेका छन्, ‘केपी ओलीले दुवै पदबाट राजीनमा दिनुपर्छ भनेर सुरुमा प्रचण्डले भन्नु भएको हो । आफैंले उठाएको विषयलाई उहाँले किन छोड्दिनु भयो भन्ने प्रश्न उठेको छ । यद्यपि उहाँले कुनै सहमति भएको छैन त भन्नु भएको छ । म धेरै आशंका गर्दिनँ । तर, किन यसो गर्नुभयो भन्ने प्रश्नचाहिँ हो ।’

नेपाल समूह दाहालले धोका दिएको निष्कर्षमा भने अझै पुगेको छैन । साउन ७ को साँझ नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भेलाले दाहालसँग सहकार्य गरेरै अगाडि बढ्ने निष्कर्ष निकालेको छ । ओली र दाहालबीचको सम्झौताबाट अहिलेको विवाद समाधान सम्भव छ भन्ने ? प्रश्नमा नेपाल निकटका स्थायी कमिटी सदस्य गोकर्ण विष्ट भन्छन्, अहिलेको मुख्य विषय पार्टीलाई विधि पद्धतिमा चलाउनु पर्छ भन्ने हो । को व्यक्ति के हुने भन्ने गौण हो । दुई अध्यक्ष मिल्दा वा नमिल्दा दुवै अवस्थामा पार्टीलाई विधि पद्धतिबाट चलाईएन भने फेरि पनि समस्या कायम नै रहन्छ । त्यसले पार्टी र आन्दोलनलाई बलियो बनाउन मद्दत पुग्दैन ।’

प्रकाशित : श्रावण ८, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?