कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्स्याङ्दीपारिको पहिरोले वारिका २ घर पुरिए, ३ जना घाइते

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ मा पर्ने सुरुङमार्गको माथिल्लोपट्टी मस्र्याङ्दी नदीतर्फको ढिस्को खस्दा वारिपट्टि वडा नं. ३ को खहरेखोलामा २ घर पुरिएको छ ।

मर्स्याङ्दीपारिको पहिरोले वारिका २ घर पुरिए, ३ जना घाइते

ढिस्को खसेर मर्स्याङ्दीको बाढीमा छाल आउँदा करिब ५० मिटरमाथिको २ घर पुरिएको हो । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार पारिपट्टि सुरुङमार्गमाथिको डाँडाको ढिस्को नै खस्दा यसले वारिपट्टिको घरमा क्षति पुर्‍याएको हो । बुधबार राति १२ बजेतिरको पहिरोका कारण घर पुरिँदा ४२ वर्षीया लालकौंरी तामाङ, उनका पति ५२ वर्षीय कुमबहादुर तामाङ र छिमेकी ७४ वर्षीय बलबहादुर थापा घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर थापाले बताए ।

उनका अनुसार लालकौंरीको दाहिने हात भाँच्चिएको र अन्यको अवस्था भन्दा केही गम्भीर रहेकाले उनलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरेको छ । कुमबहादुरको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गरिएको र बलबहादुरको स्थानीय मेडिकलमै उपचार गरिएको डीएसपी थापाले बताए ।

पारिपट्टिको भित्ता भासिएर वारिपट्टि क्षति पुर्‍याएको घटनाले स्थानीय अचम्ममा परेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार बाढीपहिरोले वारिपट्टिको बाटो हुँदै मनाङ जाने सडकमा पनि क्षति पुर्‍याएको छ ।

प्रकाशित : श्रावण ८, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?