कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन खुले पनि सीसीएमसीको काम निरन्तर

मन्त्रिपरिषद्बाट अर्को निर्णय नभएसम्म वा कोरोना भाइरस संक्रमण रहेसम्म कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सचिवालयले काम गरिरहने ।
जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले केही प्रतिबन्धलाई कायम राख्दै चैत ११ देखि लगाएको लकडाउन झन्डै चार महिनापछि मंगलबारबाट हटाए पनि कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खडा गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई भने निरन्तरता दिने जनाएको छ ।

लकडाउन खुले पनि सीसीएमसीको काम निरन्तर

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार कोरोना भाइरसविरुद्ध प्रतिकार्यका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । त्यही समितिअन्तर्गत रही कोरोनाविरूद्ध प्रतिकार्यलाई प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा सम्पादन गर्न सीसीएमसी सचिवालय छाउनीस्थित नेपाली सेनाको रेन्जर गणको हातामा स्थापना गरिएको थियो ।

सरकारले जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उच्चस्तरीय समितिलाई निष्क्रिय पार्दै त्यसको भूमिका पनि उपप्रधान तथा रक्षामन्त्री पोखरेलकै नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिलाई दिएको छ । सीसीएमसी सचिवालयले समितिको निर्देशनअनुसार काम गर्छ ।

सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले मन्त्रिपरिषद्बाट अर्को निर्णय नभएसम्म वा कोरोना भाइरस संक्रमण रहेसम्म कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सचिवालयले काम गरिरहने बताए । उनले आवश्यक नीतिगत कुराहरु सीसीएमसीको निर्देशक समिति र आवश्यक परे मन्त्रिपरिषद्ले पनि गर्ने उल्लेख गर्दै ती निर्देशनहरुलाई सचिवालयले कार्यान्वयन गर्ने जानकारी दिए ।

सीसीएमसी सचिवालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव संयोजक छन् । उक्त सचिवालयमा सेनाका उपरथी, स्वास्थ्य मन्त्रालयका ११ वा १२ औं तहका प्रतिनिधि, अर्थ मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका सहसचिव छन् ।

सीसीएमसी सचिवालयले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि व्यक्तिहरुका ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङ गर्ने क्वारेन्टाइन, आइसोलेसन र ट्रिटमेन्ट गर्ने तथा आवश्यकताअनुसार मृतकहरुको शव व्यवस्थापन गर्न जिम्मेवारी दिइएको छ । ‘केन्द्रदेखि जिल्लासम्म भाइरस संक्रमणलाई रोक्न आवश्यक काम गरिहरने छौं,’ सचिव गुरागाईले भने ।

कोरोना भाइरस रोकथाम सीसीएमसीले मुख्य गरी चार शाखाबाट काम सम्पादन गर्दै आइरहेको छ । स्वास्थ्य सेवा तथा उपचार समूह, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्यशाखा र सूचना तथा प्रविधि कार्य हुन् । सीसीएमसी निर्देशक समितिले गरेको निर्णय र नीतिहरुलाई कार्यान्वयनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एक्सन कमिटी अर्थात् कार्यान्वयन समिति छ । उक्त समितिमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुखहरु छन् ।

कोरोना भाइरस संक्रमण बढ्दै गए सम्बन्धित जिल्लामा त्यस क्षेत्रमा जिल्ला–सीसीएमसीले केन्द्रसँग समन्वय गरेर काम गर्नसक्ने सचिव गुरागाईंले बताए । ‘अन्य बेलामा भने सीसीएमसीले गर्दै आइरहेको कामलाई नेपाल सरकारको अर्को आदेश नभएसम्म निरन्तर जारी राख्नेछ । कोरोना भाइरस संक्रमण नसकिएसम्म हामी काम गरिनै रहने छौं,’ उनले भने ।

प्रकाशित : श्रावण ७, २०७७ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?