कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली र दाहालबीच आइतबार पनि छलफल, निस्किएन निष्कर्ष

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आइतबार पनि छलफल भएको छ । 

ओली र दाहालबीच आइतबार पनि छलफल, निस्किएन निष्कर्ष

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन । छलफललाई निरन्तर अगाडि बढाउने विषयमा दुई अध्यक्षबीच समझदारी भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको थियो । बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आजका लागि तय भएको स्थायी कमिटीको बैठक भने यही साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

यस्तै अध्यक्ष दाहालले आजै पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग पनि छलफल गरेका थिए । यस्तै महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग पनि अध्यक्ष दाहालले कुराकानी गरेका थिए ।

प्रकाशित : श्रावण ४, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?