१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ज्यानमुद्दाका आरोपीलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मानसिक रोग लागी अशक्त भए मात्रै धरौटीमा छाड्न मिल्ने कानुनी व्यवस्थाको तजबिजी व्याख्या गरी सर्वोच्चले मानसिक अस्पतालको ओपीडी पुर्जी देखाएका भरमा ज्यान मुद्दाका आरोपितलाई छाड्ने ‘आश्चर्यजनक’ आदेश गरेको छ
‘तीन वर्षभन्दा बढी कैद सजाय हुने र तत्कालको प्रमाणबाट हेर्दा कसुरदार देखिने आरोपितलाई धरौटीमा छाड्न मिल्ने कानुनी व्यवस्था नै छैन’
कृष्ण ज्ञवाली

काठमाडौँ — सवारी ज्यान मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई सर्वोच्च अदालतले ‘आश्चर्यजनक रूपमा’ पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । बिनालाइसेन्स अत्यधिक मदिरा सेवन गरेका चालकले चलाएको गाडीको ठक्करबाट बूढानीलकण्ठमा लीला देवकोटाको मृत्यु भएको थियो ।

ज्यानमुद्दाका आरोपीलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सोही घटनासँग जोडिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले आरोपित पृथ्वी मल्ललाई धरौटीमा छाड्ने आदेश गरेको हो । गत बुधबारको आदेश शुक्रबार मात्रै सार्वजनिक भएको हो ।

विवादास्पद आरोपितलाई छाड्ने क्रममा सर्वोच्चले आरोपित मानसिक समस्या र दमको बिरामी भएको दाबीलाई आधार लिएको छ । अस्पतालबाट पेस भएका कागजातको सत्यतासमेत परीक्षण नगरी सर्वोच्चले मल्ललाई धरौटीमा छाडेको हो । ‘कोरोना भाइरस महामारीको अवस्थामा दमका बिरामी उच्च जोखिममा रहेको,’ आदेशमा भनिएको छ, ‘हाल उनी भागी जाने वा प्रमाण लोप गर्ने अवस्थामा समेत नदेखिँदा ५ लाख रुपैयाँ धरौटीमा छाड्नू ।’ सर्वोच्चले उनी फेरि अमेरिका फर्केर जाने सम्भावनालाई ‘अनदेखा’ गर्दै भागी जाने सम्भावना नरहेको व्याख्या गरेको छ । तर विदेश जान रोक लगाउने वा पासपोर्ट रोक्का राख्नुपर्ने खालका आदेश गरिएको छैन ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ को उपदफा ३ मा भएको व्यवस्थालाई आधार देखाई सर्वोच्चले आरोपित मल्ललाई छाडेको हो । उक्त व्यवस्थामा ‘दस वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरमा बाहेक अभियुक्त बालबालिका वा शारीरिक वा मानसिक रोग लागी अशक्त भएको वा सात महिनाभन्दा बढीकी गर्भवती महिला वा ७५ वर्षमाथिको वृद्ध भएमा त्यस्तो अभियुक्तलाई अदालतले धरौटी वा जमानतमा छोड्न सक्नेछ’ भन्ने व्यवस्था छ । तर आरोपितले पेस गरेको मेडिकल कागजात घटनापछिको हो । ‘ती कागजातले मल्ल शारीरिक रूपमा अशक्त छन् भन्ने खुल्दैन,’ स्रोतले भन्यो, ‘घटना हुनुअघि उनी रोगी थिए भन्ने पुष्टि हुने कुनै कागजात पेस भएको छैन ।’

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपितहरु कुनै न कुनै रूपमा संलग्न छन् भन्ने लागेमा अदालतले पुर्पक्ष थुनामा पठाउन आदेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तीनदेखि १० वर्ष कैद हुने मुद्दामा सर्वोच्चले २१ वर्षीय युवक मानसिक रोगी भएको भन्ने आधार देखाई धरौटीमा छाड्ने आदेश गरेको हो । ‘यसरी हेर्ने हो भने पुर्पक्ष थुनामा रहेका सबैले अस्पतालबाट मानसिक समस्या भएको कागजात ल्याउँछन्,’ एक सरकारी वकिलले भने, ‘धरौटीमा छाड्ने व्यवस्थै नभएको अवस्थामा यसरी छाड्नु न्यायालयको मर्यादाको दृष्टिकोणले पनि शोभनीय भएन ।’

सर्वोच्चको आदेशअनुसार ‘हाल सिभियर डिप्रेसनमा रहेका’ मल्ल दमका समेत बिरामी हुन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको लगनखेल मानसिक अस्पतालको २०७६ फागुन ३० गतेको ओपीडी बुक र सोही अस्पतालको डिस्चार्ज समरीबाट उनी मानसिक समस्यामा देखिएको सर्वोच्चको व्याख्या छ । उनी दमको समेत बिरामी रहेको भन्दै चिरायु अस्पतालको मेडिकल रिपोर्टलाई पनि उद्धृत गरिएको छ । ‘उनी करिब ७ महिना थुनामा बसी अनुसन्धानमा सहयोग गरिसकेको देखिँदा,’ आदेशमा भनिएको छ, ‘उनलाई पुर्पक्ष थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेश बेरीतको देखिएकाले बदर हुने ।’

अध्ययनका लागि अमेरिका गएका मल्ल २०७६ मंसिर २३ गते नेपाल आएका थिए । त्यसको चार दिनपछि मंसिर २७ बेलुका नक्साल नारायणचौरस्थित जिम हल गए । त्यहाँबाट साथीहरुसँग बालुवाटार रेस्टुरेन्टमा खाना खाई राति क्लबसमेत पुगेर बिहान साढे ५ बजे घर जाने क्रममा थिए । अत्यधिक मदिरा पिएका उनले चलाएको कार बूढानीलकण्ठमा पुग्दा लेनको अर्कोपट्टि पोलमा ठोक्किएको थियो । ठक्करबाट लीला देवकोटा पनि घाइते भइन्, अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।

सवारीसाधन चलाएका बेला उनीसँग लाइसेन्ससमेत थिएन । स्वास्थ्य परीक्षणका क्रममा मदिरा सेवन गरी सवारीसाधन चलाएको खुल्यो । जिल्ला अदालतले सवारीसाधन अनियन्त्रित अवस्थामा रहेको, तीव्र गतिमा कुदाइएको र सोही रफ्तारको कारण व्यक्तिको ज्यान गरेको औंल्याएको छ । मल्लले भने मदिरा सेवन नगरेको, स्वास्थ्य परीक्षण प्रतिवेदन झूटो बनाइएको दाबी गरेका थिए । उनको साथमा रहेका करिश मास्केको बयानअनुसार सो दिन रातभर उनीहरु ठमेल गएर बियर पिए, क्लब गए, रिसोर्टमा गई खाना अर्डर गरी प्याक गर्न लगाई घर फर्किए । उनीहरु गएको रेस्टुरेन्टका सुरक्षा गार्डका अनुसार त्यो रात अत्यधिक मदिरा सेवन गरेका मल्लले साथमा रहेका युवतीसँग पनि ‘त्यस्तै व्यवहार’ गरेका थिए । घटनापछि कारबाट निस्केर युवतीहरु भागेको प्रत्यक्षदर्शीको भनाइ थियो ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने र तत्कालको प्रमाणबाट हेर्दा कसुरदार देखिने आरोपितलाई धरौटीमा छाड्न मिल्ने कानुनी व्यवस्था नै छैन । चालक अनुमतिपत्र नभएको र मादक पदार्थ सेवन गरेकाले मल्लको संलग्नता र कसुरको मात्रा बढ्दो छ । ‘उनीमाथि कम्तीमा पनि तीन वर्ष सजाय हुने भनेपछि धरौटीमा छाड्न हुँदै हुँदैन,’ स्रोतले भन्यो, ‘त्यसरी छाड्ने हो भने देशभरका कारागारमा रहेका र मानसिक सन्तुलन ठीक नभएका सबैलाई छाड्ने व्यवस्था हुनुपर्छ ।’ कारागार व्यवस्था विभागको पछिल्लो प्रतिवेदनअनुसार करिब १३० जना मानसिक बिरामी देशभरका कारागारमा छन् ।

प्रकाशित : श्रावण २, २०७७ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?