कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढाइएन पीसीआर परीक्षण

असारमा परीक्षण गरिएकामध्ये ६.९१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि
लक्षण नदेखिएका संक्रमितको संख्या ९९.७ प्रतिशत
अतुल मिश्र

काठमाडौँ — सरकारले पछिल्ला दिनमा कोरोना परीक्षण कम गर्न थालेको छ । यसले गर्दा संक्रमण निगरानीसमेत प्रभावित भएको छ । मुलुकका विभिन्न भागमा भएका २५ वटा प्रयोगशालामा बुधबार ५ हजार ९० नमुनाका पीसीआर परीक्षण भएका छन्, जसमध्ये १ सय १६ जना संक्रमित देखिएका छन् ।

बढाइएन पीसीआर परीक्षण

यसले संक्रमण घट्दै गएको संकेत गरेको छ । असारको पहिलो दिन ५ हजार ३ सय ६ नमुनाको पीसीआर परीक्षण भएकामा ४ सय ५१ जनामा कोरोना देखिएको थियो ।

क्वारेन्टाइनमा बस्ने र विदेशबाट आएका व्यक्तिको संख्यामा कमी आएकाले परीक्षणको दायरा घटेको सरकारको दाबी छ । विज्ञहरूले भने संक्रमण समुदायमा फैलिने चरणमा भएकाले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन् ।

सरकारले लक्षण नभएका व्यक्तिमा पीसीआर परीक्षण नगर्ने निर्देशन जारी गरेकाले दायरा घटेको हो । कोरोनाको लक्षण देखिएको, यात्रा इतिहास भएको, पोजिटिभ केसको निकट सम्पर्कमा आएकाहरूको परीक्षण गर्ने मापदण्ड निर्धारण गरिएको छ । हाल त्यहीअनुसार परीक्षण भइरहेको छ ।

पीसीआर परीक्षणमा चाहिने सामग्री, भीटीएम आवश्यकताअनुसार उपलब्ध नभएकाले परीक्षण सीमित भएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । हाल लक्षण नदेखिने (एसिम्प्टोम्याटिक) कोरोना संक्रमित ९९.७ प्रतिशत छन् । लक्षण नदेखिने व्यक्तिबाट कोरोना सर्ने जोखिम बढी हुन्छ ।

‘अहिले पीसीआर परीक्षण कम भइरहेको छ, यो जाँच जुन स्थितिमा जानुपर्ने थियो त्यो गएन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा.बाबुराम मरासिनी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले जनसंख्याको दुई प्रतिशत (करिब ६ लाख) को परीक्षण गर्ने कुरा दोहोर्‍याउनुभयो तर यही गतिमा त्यो सम्भव छैन ।’ पीसीआर परीक्षणमा अपेक्षित वृद्घि नहुँदा कोभिड–१९ को निगरानी प्रभावित भएको उनी बताउँछन् ।

हालसम्म मुलुकमा २ लाख ९८ हजार ८ सय २९ वटा नमुनाको पीसीआर परीक्षण भएको छ । यसमध्ये कतिपय व्यक्तिलाई दोहोर्‍याई, तेहर्‍याई परीक्षणसमेत गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार हालसम्म करिब २ लाख ५० हजार जनाको पीसीआर परीक्षण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता पूरा गर्नसमेत अब करिब साढे तीन लाख पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । ‘दिनहुँ १० हजारका दरले पीसीआर गर्दा एक महिनाभन्दा बढी समयमा प्रधानमन्त्रीको प्रतिबद्धता पूरा हुनुका साथै मुलुकमा कोभिडको स्थितिबारे एउटा सामान्य तस्बिर आउन सक्छ,’ डा.मरासिनी भन्छन्, ‘कोरोनाको स्थिति आकलन भएपछि जाडोयाममा कोरोनाको दोस्रो लहर आउने बेला हामी कसरी जुध्ने भन्ने तयारी गर्न सकिन्छ ।’

पीसीआर परीक्षणको संख्या गत असार १५ गते ७ हजार ७ सय ९१ सम्म पुगेको थियो । त्यसपछि परीक्षणको दायरा घट्दै गएको छ । मध्य असारको गतिमा परीक्षण नभएकाले दिनहुँ १० हजारसम्म परीक्षण गर्ने सरकारको प्रतिबद्धता पूरा भएको छैन । ‘क्वारेन्टाइनमा रहनेको संख्यामा अत्यन्त कम भयो । हालसम्म परीक्षण गर्ने लक्ष्य नै क्वारेन्टाइन निर्धारण गरिएको थियो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘जति भारतबाट आएकाहरूको परीक्षण भयो, विदेशबाट हवाईजहाजमा ल्याइएकालाई होल्डिङ सेन्टरमा राखेर कति ठाउँमा परीक्षण वा कतिपय ठाउँमा बिनापरीक्षण पठाइरहेका छौं ।’ उनले आवश्यकताअनुसार भीटीएम उपलब्ध नभएकाले परीक्षण दायरा बढ्न नसकेको बताए ।

हाल क्वारेन्टाइनमा बस्नेहरूको संख्यामा कमी आएको उल्लेख गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले पहिलो चरणमा देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनको नमुना परीक्षणमा जोड दिएको बताए । ‘अहिले परीक्षणको दायरा अझ बढाउनुपर्ने हो,’ उनले भने, ‘समुदायमा छिटपुट घटना रहेकाले सुरक्षित रहेको वा नरहेको जान्न व्यापक रूपमा नमुना लिनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले परीक्षण गर्नैपर्ने वर्ग कम भएको बताए । ‘परीक्षण कसलाई गर्ने भन्ने प्राविधिक हिसाबले र आर्थिक हिसाबले पनि प्राथमिकता दिनुपर्ने हुन्छ,’सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘हाल प्राविधिक र व्यवस्थापकीय हिसाबले प्राथमिकता दिएर परीक्षण गर्नुपर्ने वर्गको संख्या कम छ । परीक्षण गर्नुपर्ने वर्गको संख्या कम भएपछि रिपोर्टमा पोजिटिभ आउने संख्या पनि स्वतः कम भइहाल्छ ।’ उनले पोजिटिभ नतिजा आउने दर कम रहेको उल्लेख गर्दै धेरै संख्यामा परीक्षण भएन भन्ने कुरा प्राविधिक हिसाबले खासै फरक नपर्ने बताए ।

यसैबीच, बुधबार १ सय १६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १७ हजार १ सय ७७ पुगेको छ । बुधबारसम्म ६ हजार १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित छन् । अरू संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ९७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म संक्रमण निको भएर घर फर्कनेको संख्या ११ हजार २५ रहेको बुधबार पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराए ।

जुम्ला संवाददाताका अनुसार चन्दननाथ नगरपालिका–५ खलंगाका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणका क्रममा ती व्यापारीसहित चिकित्सक र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा संक्रमण फैलन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंगलबार दिउँसो ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनका अनुसार संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ थालिएको छ ।

चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । औषधि पसल र स्वास्थ्य सेवाबाहेकका सबै क्षेत्र पूर्णरूपमा बन्द गर्न भनिएको छ । जुम्लामा हालसम्म संक्रमण पुष्टि भएका ६५ जनामध्ये ५१ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १४ जनाको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?