कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीई र फेससिल्ड लगाएर कैंची चलाउँदै सैलुन व्यवसायी

बिन्देश्वर भन्छन् : सैलुन नै मेरो खेतीबारी हो
रीना मोक्तान

काठमाडौँ — हिजोआज कपाल काट्न कैंची समात्नासाथ जुरी ठाकुरको मनमा चिसो पस्छ । कतै उक्त ग्राहकमा कोरोना त छैन भन्ने शंकाले मनमा डेरा बसाउँछ । आफूले अपनाएको सावधानीतर्फ ध्यान पुगेपछि भने ढुक्क भएर कैंची चलाउन थाल्छन् । जुरीले पीपीई, अनुहारमा मास्क, हातमा सर्जिकल ग्लोभ्स लगाएर कपाल काट्न थालेका छन् ।

पीपीई र फेससिल्ड लगाएर कैंची चलाउँदै सैलुन व्यवसायी

आइतबार 'जुरी युनिसेक्स पार्लर'मा पुग्दा उनी पीपीई लगाएर नै ग्राहकको कपाल काट्दै थिए । फेससिल्ड पनि लगाएका थिए । सावधानीका लागि यी सब कुरा पहिरँदा उनलाई काम गर्न असहज भने भएको रहेछ। ग्राहकको कपाल काटिदिँदै सुनाए, 'ग्लोभ्स लगाएर कपाल काट्न गाह्रो छ । मजबुरीमा काम गर्नु पर्‍यो । त्यहीमाथि पीपीई सुटले एकदम गर्मी हुने । अब नलगाउँ भने पनि नहुने ।'

जुरीको डेरा पार्लरनजिकै छ । उनी सबेरै घरबाटै पीपीई लगाएर हिँड्दै पार्लर आइपुग्छन् । उनका स्टाफहरुले पनि हातमा ग्लोभ्स शरीरमा पीपीई सुट लगाएर नै काम थालेका छन् । ग्राहकलाई ढोकैमा स्यानिटाइजर लगाउने व्यवस्था छ । स्यानिटाइजर लगाइदिन एक जना स्टाफ ढोकैमा उभिन्छन् । कैंची, काइँयोलाई डिटोलपानीमा सफा गरेर प्रयोग गर्छन् । यस्तै सुरक्षा व्यवस्था अपनाएर जुरीले असार १ गतेबाट पार्लर खोले । बानेश्वरको ठूलो खरिबोट नजिकै छ जुरीको पार्लर । लकडाउनले गर्दा तीन महिना उनको पार्लर बन्द भयो । सरकारले अझै पार्लरहरु खोल्ने अनुमति दिइसकेको छैन । खान पनि धौधौ भएपछि आफूले पार्लर खोलेको जुरी बताउँछन् ।

'सरकारले अहिले अनुमति दिएको छैन । त्यसैले मास्क,पीपीई लगाएर काम गरिरहेका छौं । यो पीपीई सुट नाईं संघले दियो,' उनले सुनाए, 'खानाका लागि पैसा पनि भएन । अलिअलि भएको पैसा पनि सकियो । त्यसैले बिस्तारै थोरै मान्छे राखेर काम थाल्यौं ।'

जुरीको पार्लर सानो छ । एउटा कोठा त्यहीमाथि चारवटा कुर्सी । चार जनाभन्दा बढी ग्राहक बढ्यो भने सामाजिक दूरी कायम गर्न हम्मेहम्मे पर्छ । तर, आफूले सक्दो सामाजिक दूरी कामय गरेको उनको दाबी छ । पार्लर खोलेपछि सुरुवातमा त एक-एक जना ग्राहक राख्दै काम थालेका थिए । तर, अहिले पार्लरमा ग्राहक बिस्तारै बढ्न थालेका छन् । तर, पहिलाको जस्तो बाक्लो भीड नहुने उनी बताउँछन् । 'पहिला त खाना खाने फुर्सद हुन्थेन । कस्टमरहरु धेरै आउनुहुन्थ्यो । अहिले त छैन, चिनेजानेको मान्छे आउनुहुन्छ,' उनले भने ।

तीन महिना पार्लर बन्द हुँदा जुरीले साथीभाइसँग ऋण गरेर दैनिकी चलाए । बचत गरेको केही रकमले लकडाउनको सुरुवाति महिना काटे । कोठा र पार्लरको भाडा सम्झेपछि लकडाउनमा उनको छटपटी बढ्यो । पार्लरको मासिक भाडा १० हजार । तीन महिनाको भाडाको चिन्ताले त्यसपछि उनलाई ढुक्कले घरमा बस्न दिएन ।

'तीन महिना घरमै बसियो । अभाव त भइहाल्यो । हामीजस्तो सानो मान्छेलाई त गाह्रो भइहाल्छ । साथीभाइसँग सापटी लिएर काम चलायौं,' जुरी सुनाउँछन्, 'पार्लरको भाडा कसरी तिर्ने ? पार्लर पनि खुल्न दिएको भए हुन्थ्यो । सबैथोक त खुलिसक्यो । हामी खुलेन भने कहाँबाट ल्याउनु भाडा तिर्नु, खानु । काठमाडौंमा त्यतिकै महँगो छ ।'

पार्लर खोलेसँगै सप्तरीमा रहेका परिवार उनलाई लिएर चिन्तित छन् । जुरीलाई बारम्बार फोन गरेर सुरक्षित हुन भनिरहन्छन् ।

अहिले पार्लरको सटर खोलेसँगै जुरीलाई आफूले लिएको ऋण चुक्ता गरिदिन पाउने, परिवारलाई खर्च पठाउने कुराले आशावादी बनाएको छ । पार्लरमा ग्राहक आउन थालेपछि उनको चिन्ता कम हुँदै गएको छ । 'अब त बिस्तारै काम गर्दै गएपछि समस्या समाधान हुँदै जान्छ जस्तो लाग्छ, ' मुसुक्क हाँस्दै सुनाए ।

कोरोनादेखि डर लाग्दैन ? हामीले सोध्यौं ।उनले जवाफमा भने, 'डर त लागिहाल्छ । आफ्नो ज्यानभन्दा प्यारो के छ र । तर खानलाई पैसा छैन । त्यसैले पार्लर खोल्न बाध्य भयौं ।'

जुरीले जीवनमा कपालमा कैंची चलाउने बाहेक अन्य कुनै पेसा अँगालेनन् । बुवाबाट सिकेको यो पेसा उनको लागि प्यारो बन्यो । उनी यसमै रमाउन थाले । जुरीले कैंची चलाउन थालेको १९ वर्ष भयो । खरिबोटमा पसल खोलेकै १९ वर्ष भएको उनको दाबी छ । यसरी लकडाउन बढ्दै जाने हो भने आफूलाई घाटा हुने उनी बताउँछन् । उनले भने, 'लकडाउन लम्बिँदै जाने हो भने हामीलाई धेरै घाटा हुन्छ । कामै नभएपछि पैसा कहाँबाट ल्याउने । काम भए पो घरभाडा तिर्ने, घरमा पठाउने हुन्छ त ।'

अब सरकारले सुरक्षा व्यवस्था अपनाएर सैलुन, पार्लरहरु खोल्न अनुमति दिनुपर्ने उनी बताउँछन् । 'यस्तै पीपीई, मास्क लगाएर पार्लर खोल्न दिनुपर्छ सरकारले,' उनले भने, 'सरकारले राहत दिनुपर्‍यो । पसलको भाडा छुट गराइदिनुपर्‍यो ।'

पार्लर खोलेसँगै जुरीका घरबटी उनलाई सतर्क भएर काम गर्न सल्लाह दिन्छन् । जुरी कलाकारका कपाल पनि काटिदिन्छन् । लकडाउनअघि पार्लर बढाउने सोच बनाएका जुरीको सपना कोरोनाले गर्दा पूरा भएन । तर, पार्लर नबढाए पनि अहिले उनले स्टाफसंख्या बढाएका छन् । अवस्था सामन्य हुँदै पक्कै जुरीको सपना पूरा होला ।

***

२० वर्षदेखि नाई पेसा थालेका ३८ वर्षीय बिन्देश्वर ठाकुरले जीवनमा कहिल्यै यस्तो महामारीको सामना गरेनन् । तर कोरोना महामारीले गर्दा जीवनमा पहिलो पटक उनले तीन महिनासम्म ललितपुरको बागडोलमा रहेको 'नेपाल सैलुन' बन्द गरे । भोकले मर्ने स्थिति आएपछि आफूले पार्लर खोलेको उनी बताउँछन् ।

'जटिल छ हजुर । रोग भन्दा भोगले मर्ने स्थिति आयो । त्यही भएर ज्यान थापेर पनि काम गर्नुपर्योल भनेर काम सुरु गरें,' उनले भने,'यो पसल नै मेरो खेतीबारी हो । पाँ चजनाको ज्यान यसैले पाल्नुपर्छ । अहिले पसलमा स्यानिटाइजर राखेको छु । पीपीई सुट लगाउँछु ।'

२ हप्ता भयो बिन्देश्वरले सैलुन खोलेको । सुरुवातको दिनमा ग्राहक ह्वात्तै बढे पनि अहिले फेरि घटेको छ । काठमाडौंमा संक्रमण बढेसँगै ग्राहकमा डर देखिएको उनको अनुभव छ । 'अहिले ग्राहक पनि धेरै आउनुहुन्न । काठमाडौंमा कोरोना बढेर उहाँहरु डराउनु भएको छ,' उनले सुनाए । ग्राहकजस्तै आफूलाई पनि काठमाडौंमा संक्रमण बढेको समाचार बढ्दा डर लाग्ने गरेको उनी बताउँछन् ।

तीन महिनाको सैलुनको भाडा ४५ हजार तिर्नुपर्छ उनले । घरभाडा पनि दिन सकेका छैनन् । सैलुन चले भाडा तिर्न सहज हुन्थ्यो । सुरक्षा अपनाएर खोलेको सैलुन खाली देख्दा परिवारको चिन्ताले थप पिरोलेको उनले सुनाए । उनले पनि 'नेपाल नाई ट्रेड युनियन'बाट पीपीई सुट ल्याएर काम थालेका हुन् । आफूले सरकारबाट राहतको आश गरेको उनले बताए । 'सरकारले घरभाडामा छुट दिन्छ भनेर राहतको आश छ,' बिन्देश्वरले भने ।

अर्का नाई व्यवसायी भैरव ठाकुरले ललितपुरको बागडोलमा सैलुन खोलेको २२ वर्ष भयो । आफ्ना दुई छोराछोरीलाई उनले यही पेसा गरेर हुर्काए, पढाए । लकडाउन अवधिमा अन्य व्यवसाय खोलेको देख्दा उनले पनि सैलुन खुल्ला राखेका थिए । तर, प्रहरीले खोल्न दिएन । तीन महिना उनको सैलुनमा ताल्चा लाग्यो । जसोतसो छोराछोरीलाई लकडाउन अवधिभर खुवाए । तर, अहिले गोजी नै रित्तो भएपछि आफूले सैलुन खोलेको उनी बताउँछन् । 'गाह्रो भो । तीन महिना पसल बन्द गरेर,' ४२ वर्षीय भैरवले सुनाए, 'अहिले एकदम सरसफाइमा ध्यान दिएको छु । राती सैलुनमा स्यानिटाइजर छर्कन्छु । अनि कस्टमरलाई पनि स्यानिटाइजर लगाउँछु ।'

मंगलबार नाई व्यवसायीले आन्दोलन नै गरे । कैंची, काइँयो बोकेर उनीहरु सडकमा उत्रिए । उनीहरुको एउटै माग थियो, नाई व्यवसायीलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने ।

लकडाउनले गर्दा नाई व्यवसायी मारमा परेको भन्दै आफूहरुले सरकारमा राहतको माग गर्दै आएको ट्रेड युनियन गजेन्द्र ठाकुरले बताए । उनी सैलुन र पार्लर चाँडै खोल्न दिनुपर्ने बताउँछन् । 'श्रमिकहरु मर्कामा छ । सरकारले

लकडाउन अवधिको बैंक ब्याज, पसल तथा कोठा भाडा मिनाहा गरिदिनु पर्यो् । सैलुन र पार्लर खोल्न क्याबिनेटमा निर्णय गरिदिनुपर्योर ।' उनले नाई व्यवसायीलाई नि:शुल्क पीपीई सेट उपलब्ध गराउनुका साथै ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताए।

प्रकाशित : असार ३१, २०७७ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?