कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनएचआरसीले 'प्लाज्मा थेरापी' बारे अनुसन्धान गर्ने, संक्रमणमुक्त भएकालाई प्लाज्मा दान गर्न आग्रह

काठमाडौँ — राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोभिड-१९ का बिरामीको 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्नेबारे अनुसन्धान गर्न कोरोना भाइरस संक्रमणबाट निको भएका बिरामीसँग रगत दान गर्न आव्हान गरेको छ । 

एनएचआरसीले 'प्लाज्मा थेरापी' बारे अनुसन्धान गर्ने, संक्रमणमुक्त भएकालाई प्लाज्मा दान गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ नियमित ब्रिफिङमा मंगलबार प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड-१९ भएर निको भइसकेका बिरामीहरुलाई प्लाज्मा डोनेट गर्न परिषद्ले‌ आग्रह गरेको जानकारी दिए ।

परिषद्ले‌ कोभिड-१९ उपचारका लागि तोकिएको अस्पतालको संयुक्त संलग्नतामा कोभिडका बिरामीलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिई उपचार गर्ने सम्बन्धमा अनुसन्धान गर्न रक्तदाताहरुको माग गरेको हो ।

प्रवक्ता गौतमले कोभिड-१९ लागेर निको भइसकेको इच्छुकलाई परिषद्‌मा सम्पर्क गर्न आग्रह गरे । यसका लागि कार्यालयको समयावधि १० देखि ५ मा इच्छुकले ०१–४२५४२२० एक्सेटेन्सन नम्बर १२४ मा सम्पर्क गर्न सक्नेछन् भने इमेलमा पनि सम्पर्क गर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । जसरी एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्णरूपले निको हुन्छ ।

एउटा स्वस्थ व्यक्तिबाट बिरामी व्यक्तिमा रोग प्रतिरोधक क्षमता प्रतिस्थापन गर्न सकिने मान्यताअनुसार ब्लड प्लाज्मा थेरापी गरिन्छ । यो उपचारका लागि ‘एस्पेरेसिस’ विधिबाट रगत निकालिन्छ । यो विधिअनुसार रगतबाट मात्र प्लाज्मा वा प्लेटेलेट्सजस्ता अवयवलाई निकालेर बाँकी रगतलाई पुन: दाताको शरीरमै फिर्ता गरिन्छ । यसअन्तर्गत कोभिड–१९ रोग निको भइसकेका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ निकालेर कोरोनाले स्वास्थ्य स्थिति जटिल बनेका व्यक्तिमा चढाई उपचार गरिन्छ ।

विशेषज्ञहरूका अनुसार कोभिड–१९ विरुद्ध प्रभावकारी खोप नबनेसम्मको अवस्थामा प्लाज्मा थेरापी कोरोना भाइरसले संक्रमित बिरामीका लागि प्रभावकारी उपचार सावित हुन सक्छ । हालसम्मका अध्ययनअनुसार कोभिड–१९ रोगबाट निको भएका एक जना स्वस्थ व्यक्तिको शरीरबाट निकालिएको प्लाज्माले अन्य चार व्यक्तिको उपचार गर्न सकिन्छ ।

प्रकाशित : असार ३०, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?