कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो सबेरै परदेश जाने तयारीमा थिए

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिका–९ माझफाँटका २४ वर्षीय मनोज थापा वैदेशिक रोजगारीका लागि दुबई जान झोलागुन्टा कसेर आइतबार राति सुतेका थिए । सोमबार बिहान काठमाडौं जाने साइत थियो तर उज्यालो हुन नपाई उनी अस्ताए । आफन्तसँग भेटघाट गरी बिदा मागेर सबै तयारी पूरा गरी सुतेका उनी सोमबार बिहानै आएको पहिरोले घरसँगै पुरिए । पहिरोमा उनी र घरका अरू तीन जना पनि पुरिए ।

जो सबेरै परदेश जाने तयारीमा थिए

पहिरोमा मनोजका अतिरिक्त उनकी ४० वर्षीया आमा कमला, श्रीमती २१ वर्षकी अञ्जना र भाइ २० वर्षीय राजेश पुरिएका हुन् । राजेश अझै बेपत्ता छन् भने तीन जनाको शव भेटिएको छ । सोमबार बिहानै उठेर रातिबाटै घरभित्र पसेको पानी तर्काउँदै थिए मनोजका आमाबुबा । मनोज, अञ्जना र राजेश सुतिरहेका थिए । सोमबार बिहान ६:३० बजेतिर अचानक गल्र्याम्म आवाज आयो, घर लडायो । बाबु केशवबहादुर थापाको खुट्टा थिचेजस्तो भयो । कमला, मनोज, अञ्जना र राजेशलाई घरले थिचिसकेको थियो । केशवबहादुर भने जसोतसो भाग्न सफल भए । उनको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले बताए । ‘पहिरोले घरमाथिको भित्तोबाट माटोसँगै ४/५ वटा रूखहरू पनि ल्याएको रहेछ,’ स्थानीय सुदीप न्यौपानेले भने, ‘हिलो र रूखले घरलाई छोपेको थियो ।’

उनका अनुसार वरपरका ४/५ वटा घरका परिवारहरू पनि आफ्नो ज्यान बचाउनमै लागिरहेका थिए । ‘सबैलाई आफ्नै ज्यान बचाउनेतिर ध्यान थियो,’ न्यौपानेले भने, ‘उनीहरूलाई बचाउने ख्याल नै आएन ।’ वर्षा लगातार भएको र पहिरोको कारण हिलाम्मे भएर हिँड्न नसक्ने अवस्थाले पनि उद्धारमा जान नसकिएको उनले बताए ।

पहिरोबाट परिवारकै चार जनाको मृत्यु भएकोबारे अझै विश्वास गर्न नसकेको मनोजकी काकी कल्पना थापा बताउँछिन् । ‘हिजो मात्र म विदेश जान लागेको, भोलि काठमाडौंका लागि निस्कने हो भन्दै थियो,’ उनले भनिन्, ‘आज सबेरै यस्तो देख्नुपर्‍यो ।’ मनोज गत माघमा दुबईबाट छुट्टीमा आएका थिए तर लकडाउनका कारण जान पाएका थिएनन् । अलिक सहज भएपछि उनले शुक्रबार वडा कार्यालयमा गएर काठमाडौं जाने सवारी पासको कागज बनाएका थिए ।

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा आएको पहिरो । तस्बिर सौजन्य : सुदीप न्यौपाने

मनोजका भाइ राजेशले पनि प्लस टु सकेर विदेश जानका लागि पासपोर्ट बनाइसकेका थिए । ‘विदेश जाने प्रक्रिया उसले पनि चालिरहेको थियो, केही पैसा काठमाडौंमा बुझाएँ भन्थ्यो,’ कल्पनाले भनिन् ।

माँझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । व्यास–११ ओडारेका ५२ वर्षीय पदम भुजेल पहिरोले पुरिएर बेपत्ता छन् । व्यास–९ की २६ वर्षीया झनुमाया कुँवर घाइते भएकी छन् । उनको दमौलीमा उपचार भइरहेको छ ।

परिवारकै पाँच जनाको मृत्यु

सोमबारै रिसिङ गाउँपालिका–८ भैंसीकिलेमा अनबहादुर थापाको घर पहिरोले पुर्दा पाँच जनाको मृत्यु भएको छ । अनबहादुरका ३० वर्षीय छोरा भेषबहादुर, २९ वर्षीया बुहारी नानुमाया, २२ वर्षका छोरा महादेव, कान्छी बुहारी १९ वर्षीया मनिसरा र नातिनी ५ वर्षीया अमिशा मृत भेटिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

पहिरोमा परी घाइते भएकी ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ ।

यसैगरी म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ ।

प्रकाशित : असार ३०, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?