कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ दिनसम्म पनि पुगेन पहिरो प्रभावित क्षेत्रमा  राहत

म्याग्दी, जाजरकोट, सिन्धुपाल्चोक र संखुवासभामा गरी बाढी पहिरोबाट विस्थापित १७ सय जना गाँसबासकै समस्याले बिचल्लीमा परेका छन् । तनहुँमा पनि सोमबार पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने २ बेपत्ता र ३ घाइते छन् ।
घनश्याम खड्का

म्याग्दी — बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्‍याउन नसकिएको हो ।

४ दिनसम्म पनि पुगेन पहिरो प्रभावित क्षेत्रमा  राहत

दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ । सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ सरकारले खासै पहल नगरे पनि स्थानीय व्यवसायीले हेलिकप्टर उपलब्ध गराएकाले मात्र यसअघि राहत पुर्‍याउन सकिएको हो ।

पहिरोले क्षति पुर्‍याएका धौलागिरिको मराङ, कल्लेनी, राम्चे, रिखार तथा मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न सकिने अवस्था छैन । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरि–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १५० भन्दा बढी परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ । पहिरोले धौलागिरिमा २० र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । चार जना अझै बेपत्ता छन् ।

पहिरोले घरबारविहीन भएका र उच्च जोखिमका क्षेत्रमा रहेकालाई ताकमको हेम मावि, मराङको राम्चे सामुदायिक भवन र बिमको जनविकास आधारभूत विद्यालयमा राखिएको छ । परिवारका सदस्य गुमाएकाहरु त्यहीँ सामाजिक संस्कारअनुसार काजकिरियामा बसेका छन् । केही स्थानीय दिनभर किरियापुत्रीको साथमा रहने त केही खेतबारीमा काम गर्ने, वस्तुभाउको स्याहार गर्ने र साँझ बास बस्न आउने गरेका छन् । पहिरोमा सर्वस्व गुमाएकाहरु मानसिक रूपमा समेत विक्षिप्त बनेका स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनले बताए । ‘दिनभर टोलाएर बस्छन्,’ पुनले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिको टोली खोज उद्धार सकिएको र पीडित पुनर्बासको दायित्व स्थानीय सरकारको भएको भन्दै प्रभावित क्षेत्रबाट फर्किएको छ । स्थानीयलाई गाँसबासकै समस्याले विचल्लीमा परेका छन् । घटनाको चौथो दिनसम्म घर, पशुचौपायालगायत भौतिक क्षतिको लगत संकलन हुन सकेको छैन । बाटाघाटो, खानेपानी आयोजना र वडा कार्यालयमा समेत क्षति पुगेका छन् । आपतकालीन सेल्टरमा राखिएका विस्थापित र स्थानीयले वर्षेमूलको पानीले काम चलाएका छन् ।

उता, संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका ७९ परिवारका ३ सय ४९ जना डेढ घण्टा टाढा शेर्पा गाउँको गुम्बा र केही स्थानीयका घरमा बसेका छन् । उनीहरूका लागि प्रदेश १ सरकारका तर्फबाट राहत सामग्री लिएर इटहरीस्थित सेनाको पूर्वी पृतनाबाट हेलिकप्टर जाने खबर स्थानीय प्रशासनलाई थियो । त्यसैले स्थानीय प्रशासनले राहत पठाउने विकल्प सोचेन । ‘मौसम खराब भएकाले हेली आएन, खानलाई चामल छैन । भएको आलु र मकै हो,’ सिलिचोङ–१ का वडाध्यक्ष अलक्षकुमार राईले भने, ‘राहत ल्याउन मोटरबाटो छैन । वर्षाको बेला छ, मौसम खुल्दैन, कुहिरो लागिरहन्छ ।’ पहिरोपीडितहरू हतारहतार भाग्दा धेरैले लगाउने लुगा पनि बोक्न नपाएको उनले बताए । ‘राहत सजिलै आइपुग्ला भन्ने आस छैन, भोकमरी लाग्ने अवस्था छ,’ उनले भने ।

बेसिन्दाका पहिरोपीडितलाई राखिएको चित्रे भन्ने ठाउँ पुग्न सदरमुकाम खाँदबारीबाट कस्सिएर हिँड्दा एक दिन पूरै लाग्छ । मोटरबाटो पुगेको छैन । पहिरोको खबर आएपछि सदरमुकामबाट आइतबार हिँडेको सेना, सशस्त्र र प्रहरीको थप उद्धार बल सोमबार दिउँसो ४ बजे मात्र घटनास्थल पुगेको छ ।

बाढीपहिरोमा परी जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र संखुवासभामा गरी करिब १७ सय घरपरिवार विस्थापित छन् । जाजरकोटमा प्रदेश सरकारले राहत पुर्‍याउन तदारुकता देखाए पनि अरू जिल्लामा स्थानीय तहकै भरमा उद्धार र राहतका काम भइरहेका छन् । तिनका लागि तत्कालीन राहतको प्रबन्ध स्थानीय तहले गरे पनि प्रदेश र संघीय सरकारको राहत कहिले आउँछ भन्ने आसमा जनप्रतिनिधि छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिन भन्छिन्, ‘हामीकहाँ १ सय २० घर विस्थापित छन् । तत्कालको राहत त बाँड्दै छौं, तर स्थानीय तहको बलले मात्रै उनीहरूलाई पुन:स्थापित गराउन सकिने अवस्था छैन ।’ सिन्धुपाल्चोकका दुई स्थानीय तहमा गरी बाढीपहिरो प्रभावित परिवारको संख्या चार सय हाराहारी छ । ‘बाटो बिग्रिएको छ, जताततै पहिरोको डर छ,’ पाख्रिनले भनिन्, ‘हामीलाई प्रदेश र संघ सरकारको सपोर्ट नहुने हो भने राहत र उद्धारको काम स्थानीय तहको बलले मात्रै गर्न सकिँदैन ।’ तत्कालका लागि खानेकुराको प्रबन्ध स्थानीय तहले मिलाएको भए पनि सहज बसोबास र दीर्घकालीन राहतका लागि के गर्ने भन्ने छलफल हुनै बाँकी रहेको उनले बताइन् ।

जाजरकोटको बारेकोटमा बिहीबार र शुक्रबार बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भयो । चार जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोको जोखिममा परेका करिब ३ सय परिवार आफ्नो थातथलोबाट विस्थापित छन् । उनीहरूलाई विद्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । कतिपय परिवारले आफन्तकहाँ शरण लिएका छन् । ‘प्रारम्भिक रूपमा केही खाद्यान्न र टेन्टहरू वितरण गरिएको छ,’ उनले भने । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार भएको बैठकले रेडक्रसमार्फत राहत सामग्री पुर्‍याउने निर्णय गरेको छ ।

आइतबार नेपाली सेनाको हेलिकप्टरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चामल, च्युरासहित स्वास्थ्य सामग्री लिएर घटनास्थल पुगेका थिए । कर्णाली प्रदेश सरकारले आइतबार र शनिबार हेलिकप्टरबाट खाद्य सामग्री र त्रिपाल पठाएको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले शनिबार नेपाली सेनाको सानो हेलिकप्टरमा च्युरा, चाउचाउ र टेन्टहरू पठाइएको बताए ।

प्रकाशित : असार ३०, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?