कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भानुभक्तलाई सम्झिँदै गैरआवासीय नेपालीको अनलाइन संवाद

काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सोमबार २०७औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसका अवसरमा अनलाइन संवाद आयोजना गरेको छ ।

भानुभक्तलाई सम्झिँदै गैरआवासीय नेपालीको अनलाइन संवाद

संघ मातहतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आफ्नो साप्ताहिक अनलाइन कार्यक्रम प्रवासी प्रवाहलाई विशेष जयन्तीका रूपमा मनाएको हो । त्यस क्रममा एनआरएनए आईसीसी अध्यक्ष कुमार पन्तले संघ नेपाली भाषा–साहित्य प्रवर्धनमा सघाउन सधैं तत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले एनआरएनए र प्रतिष्ठानले सहकार्य गर्दै भाषा–साहित्यका क्षेत्रमा धेरै काम गर्न सक्ने धारणा राखे । उनले प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिँदै आएको भानुभक्त पुरस्कारका लागि एनआरएनएलाई सहयोग गर्न आग्रह गरेका थिए । गुरुङले प्रतिष्ठान र एनआरएनएको सहकार्यमा भानु–सर्किट निर्माणको काम अघि बढाउन सकिने जनाउँदै भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसका रूपमा मनाउन प्रतिष्ठानले आवश्यक पहल गर्ने बताए ।

जवाफमा एनआरएनए अध्यक्ष पन्तले भानु पुरस्कारका लागि आवश्यक सहयोग गर्ने र भानु सर्किटको प्रस्तावबारे छलफल गरेर अघि बढ्ने जनाए । कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले आफ्नो कार्यकालमा प्रज्ञा प्रतिष्ठान र एनआरएनएबीच आपसी सहकार्य गरेर जाने सम्झौता भएको र सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । एनआरएनएअन्तर्गत भाषासाहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले नेपाल–नेपालीको पहिचान तथा विशेषता झल्काउन पनि अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको अभियानलाई अघि बढाउनुपर्ने बताएका थिए ।

भर्चुअल संवादमा प्रज्ञा प्रतिष्ठानका सदस्य हेमनाथ पौडेल, पूर्वसदस्यसचिव तुलसीप्रसाद भट्टराई, भाषाविद् माधवप्रसाद पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, रुसमा बसेर नेपाली भाषासाहित्यका क्षेत्रमा क्रियाशील कृष्णप्रकाश श्रेष्ठ, भुटानी मूलका नेपालीभाषी साहित्यकार लक्ष्मीनारायण ढकाल र म्यानमारमा रहेका नेपालीभाषी साहित्यकार प्रवीणहरि प्रधान ‘भिक्टर’लगायतले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदानबारे चर्चा गरेका थिए । उनीहरूले नेपाली भाषा–साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न भइरहेका प्रयास र यसका चुनौतीबारे धारणा राखेका थिए ।

प्रकाशित : असार २९, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?