कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाभन्दा मान्छेको डर !

जति संक्रमित भेटिन्छन्, गाउँलेले सुरुमा संक्रमण पुष्टि भएकी स्वास्थ्यकर्मीलाई दोष दिन्छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — मास्क लगाएकी युवती दुई तलामाथिबाट भुइँमा ओर्लिइन् । त्यहाँ उनका भाउजू, काका र अरू आफन्त थिए । सबैलाई देख्नेबित्तिकै उनले पिलपिल आँसु झारिन् । आफन्तले उनलाई सम्झाए । उनको सुक्कसुक्क रोकिएन । यो आइतबार दिउँसोको कुरा हो ।

कोरोनाभन्दा मान्छेको डर !

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुकी ती युवती कोरोनामुक्त भएर काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट एम्बुलेन्समा असार २५ गते अपराह्न ५ बजे घर आइपुगेकी थिइन् । नुहाएर खाजा खाइन् । परिवारका सदस्यहरू भेला भएर खुसियाली साटे । बेलुकाको खाना खाने बेला हुँदै थियो, दाइको मोबाइलमा प्रहरी र पाटन अस्पतालबाट फोन आयो । त्यसले उनीहरूको ओठतालु सुकायो । दुई घरमा रहेका ९ जनामा कोरोना संक्रमण भएको खबर प्रहरी र अस्पतालले सुनाएका थिए ।

महालक्ष्मी क्याम्पस नजिकै दाजुभाइका दुई घर सँगै जोडिएका छन् । अघिल्लो दिन २४ गते ती युवतीकी काकी र लुभुकै क्लिनिकका एक चिकित्सकलाई संक्रमण पुष्टि भएको थियो । सँगै स्वाब दिएका युवतीका आमा–बुबालगायत परिवारको रिपोर्टबारे सोधखोज गर्दा सबैको नेगेटिभ रहेको भनिएको थियो ।

९ जनामा एकैपटक संक्रमण पुष्टि भएको खबर आएको दिन उनीहरूलाई आइसोलेसनमा लगिएन । भोलिपल्ट दिउँसो १२ बजेतिर मात्रै उनीहरूलाई लिन एम्बुलेन्स आइपुग्यो । उनीहरू अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । कोरोनामुक्त भएकी ती युवती भने तनावमै छिन् । ‘मेरो कारणले सबैलाई सर्‍यो भनेर आफन्तले समेत अनेकखाले म्यासेज पठाउँछन्,’ उनले भनिन्, ‘के मैले सारूँ भनेर सारेको हो र ? मेरो बोलचाल र भेटसमेत नहुने काकाको घरमा बस्नेलाई पनि पोजिटिभ देखिएको छ । उहाँहरूलाई कसले सार्‍यो ?’

काठमाडौं बल्खुको वयोधा अस्पतालकी ल्याब टेक्निसियन उनी र रिसेप्सनमा बस्ने दुई जनालाई कोरोना पोजिटिभ देखिएको थियो । अस्पतालमा उपचाररत एक बिरामीमा संक्रमण पुष्टि भएपछि अस्पतालले तीन सय जना कर्मचारीको पीसीआर गराउँदा तीन जनामा पोजिटिभ देखिएको ती युवतीले बताइन् । ‘मसँगै काम गर्ने ल्याबको साथीलाई देखिएन । बिरामीको उपचारमा संलग्न चिकित्सकलाई देखिएन तर बिरामीको सम्पर्कमै नभएको म र रिसेप्सनका साथीलाई संक्रमण देखियो,’ उनले भनिन् ।

उनलाई कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परिवारका सदस्य, आमाको उपचार गराउन गएका लुभुकै क्लिनिकका सञ्चालक दुई दाजुभाइको पनि स्वाब निकालिएको थियो । क्लिनिकका दुई जना, उनको परिवारका ६ जना, भाडामा बस्ने ३ जना र उनीसहित १२ जनामा कोरोना देखिएको हो । उनीहरूको घरसँगैको सुन्दर बस्तीमा एक जना, लुभुकै शंखादेवीमा एक, टाउन प्लानिङका एक जनामा पनि पछिल्लो साता कोरोना देखिएको छ ।

महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक टेकराज ओझाका अनुसार लुभुमा मात्रै १५ जना संक्रमित रहेकामा आठ पुरुष र सात महिला छन् । नगर क्षेत्रभरिमा २३ जना संक्रमित छन् । ‘ती युवतीको ट्रेसिङबाट चाहिँ १२ जना मात्रै संक्रमित देखिएका छन्,’ उनले भने, ‘थप ट्ेरसिङ गरेर शनिबार २ सय १३ जनाको स्वाब संकलन गरेका छौं । सबैको रिपोर्ट आएपछि मात्रै कोरोना समुदायमा छ वा छैन ? भन्ने थाहा हुन्छ ।’

नगरमा एकैचोटि धेरै संक्रमित देखिएपछि नगरपालिकाले लुभु क्षेत्रमा २५ गतेदेखि लकडाउन गरेको मेयर रामेश्वर श्रेष्ठले बताए । लुभुमा एकै घरमा १० जना संक्रमित भेटिएपछि स्थानीय त्रासमा छन् । लुभु क्षेत्रका पसल र कार्यालय बन्द छन् । सर्वसाधारण घर बाहिरसमेत निस्कँदैनन् । सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका छन् । एकै पटक ९ जनालाई पोजिटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि पीसीआर गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि प्रहरीले उक्त घरमा लगाएको सिल खोलेको छ । मूल सडकबाट करिब २० मिटरको दूरीको गल्लीमा रहेको यो घरका सदस्य भने आइतबारदेखि आँगनमा निस्कन थालेका छन् । ‘बाहिर जाऔं भने सबैको छि:छि: दुरदुर छ,’ परिवारका एक सदस्यले भने, ‘घर बाहिर निस्कँदा पनि अरू भाग्छन् ।’

‘जति संक्रमित थपिए, उति मलाई दोष दिन्छन्’

वयोधा अस्पतालमा काम सुरु गरेको १२ दिन मात्रै भएको थियो । अस्पतालमा एक जना बिरामीलाई कोरोना पुष्टि भयो । अस्पतालले १४ गते तीन सयको स्वाब निकालेको थियो । १७ गते रिपोर्ट आउँदा मसहित तीन जनाको पोजिटिभ देखियो । त्यही दिन नै अस्पतालबाट हामीलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा राखियो । ९ दिनको बसाइमा दुई पटक पीसीआर गर्दा पनि रिपोर्ट नेगेटिभ आयो । ममा कोरोनाको कुनै लक्षण थिएन ।

अस्पताल लगेको तीन दिनपछि गाउँमा हल्ला चलेछ । त्यसपछि मलाई राति भेन्टिलेटरमा छस् कि आईसीयूमा छस्, कहिले मर्दैछस् भनेर फोन र म्यासेस आउँथ्यो । किन दु:ख देखाउनु भनेर हाँसीहाँसी कुरा गर्दा पनि यसलाई त त्यहाँ खुब मोज रहेछ, त्यहाँ त खाएर बसिरहेकी रहेछ भन्थे । यसलाई टेन्सन नै छैन भन्थे । टेन्सन छ कि छैन, मलाई थाहा थियो । घर सिल गरेको थियो । मेरो घरका मान्छेले खान पाए कि पाएनन्, कति चिन्ता थियो । भाउजू बिरामी हुँदा एम्बुलेन्स त परको कुरा, औषधि ल्याइदिने पनि कोही भएन । यहाँका मान्छेले मेरो र परिवारको कुरा काटिरहे । आइसोलेसनमा बस्दा यहाँका मान्छेका कुरा सुनेर फर्केर आउन मन पनि थिएन । मलाई कोरोनाभन्दा पनि मान्छेको डर हो । मेरा घरका मान्छेलाई त मैले सारें, ल म मान्छु । तर मैले सार्छु भनेर सारेको त होइन । काकाको घरमा भाडामा बस्नेसँग मैले बोलेको पनि थिइनँ । उहाँहरूको पोजिटिभ आएको छ ।

म हेल्थ वर्कर हो । फ्रन्टलाइनमा काम गर्नुपर्छ भनेर सबैले प्रोत्साहन दिनुपर्नेमा उल्टै हतोत्साही बनाइरहेका छन् । सबैले मैले रोग सारेको भन्छन् । मेरो कुरा सुन्दिने कोही भएनन् । मेरो कुरा नबुझी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट गर्छन् । अस्पतालले टेस्ट गराइदियो । त्यसमा मेरो पोजिटिभ आयो । मेरो गल्ती छ ?

अस्पताल बस्दा धेरैको फोन आउँथ्यो । १०/१५ दिन अगाडि मैले भेटेकाले पनि मेरो पीसीआर गराइदे भन्थे । पीसीआर गरेर किन हिँडडुल गराएको पनि भन्थे । नेगेटिभ आउनेमा म ढुक्क थिएँ । तर १७ गते पोजिटिभ आयो । अस्पतालमा पनि बिरामी पोजिटिभ देखिएको थियो । तर मैले त्यो मान्छे भेटेको दुई दिन मात्रै भएको थियो । ल्याबमा काम गर्दा सुरक्षाका उपाय अपनाएकै थिएँ ।

जति धेरै संक्रमित भेटिन्छन्, त्यति नै मलाई दोष दिने गरेका छन् । हिजो २ सय १३ जनाको पीसीआर गर्न स्वाब निकालिएको छ । उनीहरूमा पोजिटिभ आयो भने पनि मलाई दोष दिने होला भनेर चिन्ता लाग्छ । आमा, बुबा, दाइलाई आइसोलेसनमा राखेकामा मलाई चिन्ता छँदै छ । समुदायबाट मलाई सरेको पनि हुन सक्छ । मेरो कारणले हो भने वयोधामा ३ सय जनाको पीसीआर गर्दा पेसेन्टसँगको कन्ट्याक्टमा भएकाको नेगेटिभ आएको छ । हाम्रो पोजिटिभ आयो । जबकि मसँगै ल्याबमा काम गर्नेको टेकुमा परीक्षण गराउँदा नेगेटिभ आयो ।

-कुराकानीमा आधारित

प्रकाशित : असार २९, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?