कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकताका लागि साझा र विवेकशीलले बनाए वार्ता समिति 

आचार्य र खनालले छोडे साझा पार्टी

काठमाडौँ — साझा पार्टी र विवेकशील नेपाली दलले पुन: एकताका लागि वार्ता समिति बनाएका छन् । साझाले आइतबार बसेको केन्द्रीय समितिको अनलाइन बैठकले विचार मिल्ने पार्टी तथा समूहसँग एकीकरणका लागि भन्दै वार्ता समिति बनाएको हो । वार्ता टोलीमा समीक्षा बाँस्कोटा, केशव दाहाल, किरणकृष्ण श्रेष्ठ सदस्य छन् ।

एकताका लागि साझा र विवेकशीलले बनाए वार्ता समिति 

बैठकका निर्णयबारे साझाका सहप्रवक्ता शरदराज पाठकले भने, 'पार्टीले समान सोच भएका पार्टी, समूह र व्यक्तिहरुसँग एकीकरणको प्रक्रियालाई अगाडि बढाउन वाग्मती प्रदेश संयोजक समीक्षा बाँस्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गर्‍यो ।'

विवेकशीलले यसअघि नै ३ सदस्यीय वार्ता टोली बनाएको थियो । समितिमा रमेश पौडेल, निर्देश सिलवाल र रन्जु दर्शना छन् ।

साझाको २६ गते बसेको सचिवालय बैठकमै विवेकशील लगायतसँग एकता गर्ने दुई प्रस्ताव पेस भएको थियो । उक्त बैठकमा प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले एकताका लागि अहिले पार्टी संरचना भंग गरेर संयोजकमात्र राख्ने र अन्य नेताहरुले एकताका लागि वार्ता टोली बनाउने प्रस्ताव राखेका थिए । वार्ता टोली बनाउने प्रस्ताव आइतबारको बैठकबाट पारित भएको हो ।

आचार्य र खनालले छोडे साझा पार्टी

पार्टी पुनर्संरचनाका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टीमा संयोजकमात्रै राखेर अन्य संरचना खारेज गर्दै साझा पार्टी निर्माणको अभियानमा लाग्‍नुपर्ने प्रस्ताव राखेका थिए । तर आइतबारको केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेपछि आचार्य र खनालले पार्टी नै छाडेका हुन् । तर सहप्रवक्ता पाठकले आचार्यले पार्टी नत्यागेको र खनालले राजीनामा दिएको दाबी गरे । 'पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता सूर्यराज आचार्यले पार्टीको सबै जिम्मेवारी त्याग गरेर पार्टीको संरचनाभन्दा बाहिर बसेर वैकल्पिक पार्टी निर्माणमा भूमिका निर्वाह गर्नु भएको प्रस्तावलाई आजको बैठकले स्वीकृत गर्‍यो ।त्यसैगरी केन्द्रीय सदस्य मुमाराम खनालले व्यक्तिगत कारणहरु जनाइ दिनुभएको राजीनामा स्वीकृत गर्‍यो ।'

उनका अनुसार केन्द्रीय सदस्यद्वयले पार्टी निर्माणदेखि पुर्‍याएको योगदानको कदरस्वरुप आइतबारको केन्द्रीय समिति बैठकबाट धन्यवाद प्रस्ताव पारित गरेको छ ।

यी दुई पार्टी एकताको १७ महिनापछि २०७५ पुस अन्तिम साता विभाजित भएका थिए ।

प्रकाशित : असार २८, २०७७ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?