कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन छ कि छैन ?

शैक्षिक संस्थाहरू, फिल्म हल, पार्टी प्यालेस, नियमित आन्तरिक र बाह्य उडानबाहेक मुलुक पूर्ण रूपमा खुला भइसकेको छ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — दुई जनालाई कोभिड–१९ संक्रमण देखिएपछि सरकारले चैत ११ मा लकडाउन (बन्दाबन्दी) सुरु गरेको थियो । समस्या बढेपछि जेठ २६ बाट लकडाउन केही खुकुलो बनाइयो । त्यसबेला मुलुकभर ३ हजार ७ सय ६२ संक्रमित थिए भने १४ जनाले ज्यान गुमाएका थिए । शनिबारसम्म आइपुग्दा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगिसकेको छ भने ३८ जनाको मृत्यु भएको छ ।

लकडाउन छ कि छैन ?

पछिल्लो २४ घण्टामा ७० जना संक्रमित थपिएका छन्, तीन जनाको मृत्यु भएको छ । यहीबीचमा सरकारले असार २६ गतेबाट उपत्यका र अन्य जिल्लाभित्र सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको छ, अर्कोतर्फ सरकारले लकडाउनलाई खुकुलो बनाउँदै छ । शैक्षिक संस्थाहरू, फिल्म हल, पार्टी प्यालेस, नियमित आन्तरिक र बाह्य उडानबाहेक मुलुक पूर्ण रूपमा खुला भइसकेको छ । सार्वजनिक स्थलको गतिविधि हेर्दा लकडाउन छ कि छैन भन्ने प्रश्न उठ्छ ।

कोरोना भाइरसको संक्रमणलाई नै ध्यान दिएर हेर्नुपर्ने र हेरिरहेको निकाय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने बाहिरको अध्ययन र आन्तरिक गृहकार्य गरेरै सरकारले लकडाउनलाई खुकुलो बनाएको दाबी गरेको छ । सीसीएमसीका एक उच्च अधिकारीका अनुसार सबैभन्दा पहिले सीसीएमसीको औषधि, उपचार तथा अन्य स्वास्थ्य सामग्री आपूर्ति कार्य समूह र त्यसपछि त्यहाँकै शान्तिसुरक्षा समूहले गृहकार्य गरेर लकडाउन खुकुलो पार्ने प्रस्ताव अघि बढाइएको हो ।

उक्त प्रस्ताव त्यसपछि असार १५ गते बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा पठाइएको थियो । त्यसपछि उक्त प्रस्तावलाई मन्त्रिपरिषद्मा पठाइयो । मन्त्रिपरिषद्को असार २३ को निर्णयले लकडाउनलाई थप सहज बनाउँदै जाने गरी निर्णय गरेको हो । जसमा सार्वजनिक यातायात सञ्चालनको विषयमा पनि समेटिएको थियो ।

जनस्वास्थ्य विज्ञ डा. शरद वन्त लकडाउन सधैं लगाउन नहुने बताउँछन् । ‘लकडाउनकै भरमा हामीले संक्रमणलाई रोक्न सक्दैनौं । लकडाउन एउटा विशेष परिस्थितिमा निश्चित अवधिका लागि लगाउने प्रावधान हो । त्यो बेलासम्म हामीले गर्नुपर्ने तयारीहरू गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले जब लकडाउनलाई सहज बनाउँदै, अरू सुरक्षाको व्यवस्थापनलाई एकदमै चुस्त बनाउनुपर्छ । सुरक्षा वा रोकथामको अन्य व्यवस्थापनलाई ध्यान नदिई लकडाउन खुकुलो बनायौं भने जोखिम बढ्छ ।’

उनले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, हात धुने, सेनिटाइजर प्रयोग गर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रो बनाउने, परीक्षणको व्यवस्थापन एकदमै बढी हुनुपर्ने र कुनै पनि संक्रमितलाई छाड्न नहुने बताए । ‘त्यसरी पहिचान भएका संक्रमितहरूलाई सुरक्षित रूपमा आइसोलेसनमा राख्न सक्नुपर्‍यो । त्यसपछि मात्र यो लकडाउनलाई खुकुलो पार्नुको अर्थ हुन्छ,’ उनले भने, ‘औपचारिक रूपमा स्कुल, पार्टी प्यालेस खुलेको छैन । मलहरूले चाहिँ केही दिनअघि आफैं खोल्न सुरु गरे । सार्वजनिक यातायात चलाउने कुरा छ । हिजोको जस्तो गरी सार्वजनिक यातायात खोल्ने हो भने त्यसले दुर्घटना हुन्छ ।’

वन्त संक्रमण बढे कुनै पनि बेलामा फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । ‘योबीचमा फेरि संक्रमणको रफदार बढ्यो भने कुनै पनि बेला लकडाउनको आवश्यकता पर्न सक्छ । कति मुलुकहरूले त दोहोराएर, तेहराएर लकडाउन पनि गरेका छन्,’ उनले भने ।

उनले लकडाउन भनेको संक्रमणको चेनलाई ब्रेक गर्ने एउटा व्यवस्था भएको बताए । ‘लकडाउनबीचमा तयारी गर्नुपर्ने थियो, त्यो गरिएन । सुरुआतमा लकडाउनलाई नागरिकका तर्फबाट सहयोग रह्यो तर छोटो समयपछि नागरिकको पक्षबाट कार्यान्वयन गर्न लापरबाही भयो । यसमा दुवै पक्षका कमजोरी छन् । लकडाउनको व्यवस्थापन गर्न नसक्ने सरकारको कमजोरी त छँदै छ, त्यसमा शंका छैन,’ उनले भने, ‘हाम्रो पनि कमजोरी छन् । अहिले पनि हामीले पालना गरिरहेका छैनौं । त्यसैले सुरुमा जसरी प्रभावकारी भयो, पछिल्ला दिनमा त्यो अझ प्रभावकारी हुन सकेन । यसको प्रभावकारिताका लागि सरकारलाई पहिले दोष दिन्छौं तर हामी पनि भूमिका निर्वाह गर्न चुकेका छौं ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले संक्रमण जहाँ–जहाँ फैलिएको छ, त्यहाँ–त्यहाँ मात्र केही परीक्षण भइरहेको बताए । ‘यसलाई ‘स्याम्पलिङ वायस’ भनिन्छ । त्यसले तपाईंलाई गलत नतिजा दिन्छ । त्यसले समग्र संक्रमणको प्रतिनिधित्व गर्दैन । अब भएको त्यही छ । क्वारेन्टाइनमा परीक्षण भइरहेको छ । पहिला पनि स्याम्पलिङ वायस नै थियो,’ उनले भने, ‘क्वारेन्टाइनका परीक्षणहरूको आधारमा संक्रमित बढी देखिएको थियो । अहिले क्वारेन्टाइनका मानिसहरू घटे । अहिले अधिकांश परीक्षण भएकाहरू काठमाडौंका अस्पतालबाट गएकै छन् ।’

उनी अस्पतालबाट बाहिर गएका केहीको र उपत्यका बाहिर पनि केही स्थानहरूमा परीक्षण भइरहेको मान्छन् । ‘तर अहिले खासै स्वाब आएको छैन, लक्षण भएको मान्छेको परीक्षण पनि गर्दैन । यसले के भ्रम दिन्छ भने नेपालमा संक्रमण घटिरहेको छ, अब लकडाउन खुकुलो बनाउने र सार्वजनिक गतिविधि बढाउने बेला होइन,’ उनले भने, ‘अस्पतालहरूमा त्यहाँका कर्मचारी संक्रमित भएको बढी भेटिन थालेका छन् । त्यसले संक्रमण भित्रभित्र फैलिरहेको भन्ने देखिन्छ । यो सचेत र सतर्क हुने बेला हो । महामारीको स्थितिमा पुग्नु भनेको खतरा हुन्छ ।’

अर्का जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित सरकारले लकडाउन खुकुलो बनाउँदै जानुलाई स्वाभाविक मान्छन् । ‘सुरुआतदेखि नै मैले लकडाउनलाई खुकुलो पार्नुपर्छ भनेर भनेको हुँ, केही समय लकडाउन गरेपछि जति सर्नु थियो, सर्‍यो । जसरी मान्छेहरूले भयावह आकलन गरेका थिए, त्यो भएन । संक्रमित बढ्छन् । संसारभरिबाटै हामी छुट्टै रहन सक्दैनौं,’ उनले भने, ‘जुन स्तरमा हाम्रो मृत्युदर र संक्रमण दर हुने आकलन थियो, त्यो भएन । मैले अहिले काठमाडौंलाई चाहिँ उच्च जोखिममा राखेको छु तर अन्य स्थानहरू जोखिमबाट घट्दै गइरहेका छन् ।’

प्रकाशित : असार २८, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?