कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवाद चर्काएर फाइदा लिन खोजे : दाहाल

रमेशकुमार पौडेल

चितवन — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र विवाद चर्काउने योजनामा कोही लागेको बताएका छन् । ‘पार्टीभित्रको विवाद चर्काइदिएर फाइदा लिन खोज्नेहरू पनि छन् ।

विवाद चर्काएर फाइदा लिन खोजे : दाहाल

प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर यो बेला केपी शर्मा ओलीलाई छोड्न हुन्न भन्ने अर्कोतिर गएर प्रचण्डलाई छोड्न हुन्न यो बेला भन्ने पनि बुझिएको छ,’ शनिबार चितवनको माडीमा कार्यकर्ता भेलामा दाहालले भने, ‘तपाईंहरू त्यस्तोमा नलाग्दिनुहोला, हामी जित्छौं ।,’

दाहाल बाढी–पहिरोको निरीक्षण गर्न गृह जिल्ला आएका हुन् । उनले पार्टीभित्र उत्पन्न समस्या हल हुने संकेत देखापरेको बताए । ‘अहिलेको क्राइसिस तपाईंहरूले पनि पक्कै महसुस गर्नुभएको छ । तर, जतिसुकै अप्ठ्यारो भए पनि हल निस्कन्छ,’ दाहालले भने, ‘अर्का अध्यक्ष तथा प्रधानमन्त्रीसँग पछिल्लो पटक भएका कुराको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’ आफूले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर राजनीतिक स्थायित्व, विकास र समृद्धिको उद्देश्य राखेकाले पार्टी एकतालाई बचाउन आफूहरूले भरमग्दुर प्रयास जारी राखेको बताए । ‘हामी हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्नेमा सतर्क छौं । म पार्टीको अध्यक्ष र तपाईंको जनप्रतिनिधिको हैसियतले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिनका निम्ति अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउँछु,’ दाहालले भने ।


प्रकाशित : असार २७, २०७७ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?