कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री राउत र मन्त्रीहरुको राजीनामा माग

अजित तिवारी

जनकपुर — संघीय समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग उठेको छ । जनकपुरस्थित मुख्यमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुले सरकार चलाउन नसकेको र बजेटलाई आफ्नो केन्द्रित गरेको भन्दै सांसदहरुले राजीनामा मागेका हुन् ।

सर्लाहीका प्रदेश सांसद अशोककुमार यादवले मुख्यमन्त्री राउत र मन्त्रीहरुले काम गर्न नसकेको भन्दै राजीनामा मागे । ‘मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो जिल्ला र पालिकामा मात्रै केन्द्रित भए । फुटकर र सानातिना योजनामा आखाँ गाँडेका छन् । यसरी प्रदेश सरकार चल्न सक्दैन,’ दलको बैठकमा सांसद यादवले भने, ‘तपाईंहरु सरकार चलाउन सक्नु भएन । राजीनामा गर्नुस् । अर्को टिमले सरकार चलाउँछ ।’

‘प्रदेश सरकारले अहिलेसम्म तीनवटा आर्थिक वर्षको बजेट चलाइसक्यो । प्रदेशमा कहाँ र कुन ठाउँमा प्रभावकारी विकास भएको छ, देखाइदिनु पर्‍यो,’ सांसद यादवले बैठकमा राखेको धारणा उल्लेख गर्दै स्रोतले भन्यो,‘ मन्त्रीहरु आफ्नै स्वार्थमा लागेका छन् । बजेट जति आफ्नै पालिका र क्षेत्रमा खन्याएका छन् । जति भनेपनि सुध्रिनु भएन । अब राजीनामा गर्नुस् ।’

प्रदेश २ मा समाजवादी पार्टीबाट मुख्यमन्त्री राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सरकारमा छन् ।

सांसद यादवले संसदीय दलको बैठकमा सरकार र मन्त्रीहरुको काम–कारबाही प्रभावकारी नभएको भन्दै आलोचना गरिएको बताए । ‘धेरै सांसदहरुले सरकारका मुख्यमन्त्री र मन्त्रीहरु आफ्नै लयतालमा रहेकाले प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना गरे,’ सांसद यादवले कान्तिपुरसँग भने, ‘काम गर्न सक्नुहुन्न भने बाटो खुल्ला गर्न भनिएको छ ।’ प्रदेश सरकारको नेतृत्व गरेको ३ वर्ष नबित्दै सत्तासिन दलमा असन्तुष्टि चुलिएको छ ।

संसदीय दलको बैठकमा सांसद पारस साह, करिमा बेगम, सञ्चमाया मोक्तान लगायतले सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले पनि मन्त्रीहरुको कार्यशैलीप्रति रोष प्रकट व्यक्त गरेका छन् ।

संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपनि प्रदेश २ मा यी दुई दलकै संयुक्त सरकारले छुट्टाछुट्टै संसदीय दल अझै कायम छ ।

प्रकाशित : असार २७, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेवर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।

२६ गते मृत्यु हुने पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो । त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का ४५ वर्षीय १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्नाका २२ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

यो सँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।

प्रकाशित : असार २७, २०७७ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×