कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

कमजोर भूबनोट’ ले भोटेकोसी र सुनकोसी क्षेत्र उच्च जोखिममा

विज्ञहरू भन्छन्– ‘पहिरो खसेर बनेको थुम्कोमा नै बस्ती बसाएकाले भोटेकोसी–सुनकोसी क्षेत्रमा पटक–पटक दोहोरिने पहिरोजन्य क्षतिको जोखिम अत्यधिक ।’
अब्दुल्लाह मियाँ

काठमाडौँ — भीषण वर्षापछि बुधबार राति पहिरो गएको भोटेकोसी–बाह्रबिसे क्षेत्र पहिरोका हिसाबले जहिल्यै सबैभन्दा उच्च जोखिममा देखिएको छ । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालका अनुसार उक्त क्षेत्र पहिरो र हिमताल विस्फोटपछिको बाढी (ग्लफ) का हिसाबले ‘हट स्पट’ मानिन्छ ।

कमजोर भूबनोट’ ले भोटेकोसी र सुनकोसी क्षेत्र उच्च जोखिममा

‘भोटेकोसी र सुनकोसी आसपासको भूबनोट अत्यधिक कमजोर छ,’ खनालले भने, ‘२०७२ को भूकम्पले त्यो क्षेत्रको समग्र भूभाग हल्लिएर थप कमजोर बनाएको छ । त्यसमाथि त्यहाँको पहाड बढी भिरालो भएकाले वर्षापछि पहिरो गइरहने हुन्छ ।’

उनले भोटेकोसी जलाधारसहितको समग्र क्षेत्रलाई पहिरोजन्य जोखिमयुक्त भनेर पहिल्यै सूचीकरण गरिएको बताए । ‘भूकम्पमा सबैजसो भाग हल्लिएर थिलथिलो भएको हरेक वर्षायाममा पहिरो जाने देखिन्छ,’ उनले भने, ‘बाहिर सग्लोजस्तो देखिए पनि भित्र छियाछिया परेकाले पानी पर्नेबित्तिकै माटो बग्ने गरेको छ ।’

भोटेकोसी र सुनकोसी नदी आसपासको भूगोलमा विगतका वर्षमा पनि भीषण पहिरो गएका छन् । २०७२ को भूकम्पपछि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बाट खटिएका खनालसहितका विशेषज्ञले सिन्धुपाल्चोकको उक्त क्षेत्रलाई पहिरोका हिसाबले जोखिमयुक्त क्षेत्र पहिचान गरेको थियो । इसिमोडले भूकम्पले बढी क्षति गरेका १४ जिल्लाको भूगोलबारे अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा १४ जिल्लाका करिब १ लाख ५५ हजार घर पहिरोजन्य जोखिममा रहेको उल्लेख छ ।

सन् २०१४ मा सिन्धुपाल्चोककै मांखा, जुरे पहिरोबारे पनि खनालसहितका विशेषज्ञले अध्ययन गरेका थिए । उक्त अध्ययनले पनि समग्र अरनिको राजमार्ग जोखिमयुक्त क्षेत्र पहिचान गरेको थियो । ‘त्यो क्षेत्रमा विगतदेखि नै ठूला पहिरो गएको र हिमताल फुटेर आउने बाढी (ग्लफ) ले समेत पटक–पटक क्षति गरेकाले जोखिमयुक्त क्षेत्र भनेका थियौं,’ उनले थपे, ‘तर जोखिमयुक्त क्षेत्र भनिए पनि बस्ती विकास हुने क्रम रोकिएन ।’

भोटेकोसी आसपासकै खागदल र मालाती जलाधार क्षेत्रमा तीन वर्षअघि नै पहिरो देखिएको थियो । मंगलबार राति त्यही स्थानमा वर्षापछि आएको पहिरो बगेर तल्लो क्षेत्रमा वितण्डा मच्चाएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगतमा पहिरोपछि आएको डेब्रिज (थुम्को) मै बस्ती बसाउँदा पटक–पटक पहिरोजन्य क्षति निम्तिने गरेको बताए । उनका अनुसार मंगलबार क्षति पुगेको जाम्बु क्षेत्र विगतमा पहिरोपछि डेब्रिज आएर बनेको थुम्को हो र त्यसैमा बस्ती बसाइएको हो । ‘जोखिमयुक्त क्षेत्रमा बस्ती विकास गर्नु हुँदैन भन्ने बुझाइ हुन नसक्दा पटक–पटक समस्या निम्तिरहेको छ,’ उनले भने, ‘भोटेकोसी क्षेत्रका अहिलेसम्मका पहिरोलाई विश्लेषण गर्ने हो भने सबैमा उस्तै कारण देखिन्छन् ।’ उनले केही दिनअघि बझाङ, केही वर्षअघिको लोथर तथा मातातीर्थको पहिरो र मंगलबार भोटेकोसी क्षेत्रको क्षतिको कारण उस्तै भएको बताए ।

भौगर्भिक इन्जिनियर तथा त्रिचन्द्र क्याम्पसका अध्यापक सुबोध ढकालले पनि भोटेकोसी क्षेत्रका धेरै बस्ती विगतका ठूलो पहिरोपछिको समथर भागमा बनेकाले ती क्षेत्र पहिरोका हिसाबले जहिल्यै जोखिमयुक्त हुने बताए । ‘भूगोल धेरै भिरालो भए पनि तल्लो क्षेत्रमा बाक्लो बस्ती भएकाले ती क्षेत्र जोखिममा छन्,’ उनले भने, ‘खहरे खोलाकै दायाँबायाँ पनि बस्ती छन्, ती सबै जोखिमयुक्त हुन् ।’

ढकालले एक पटक पहिरो आएर समथर बनेको भाग (डेब्रिजको थुम्को) मा बस्ती बसाउनु नै गलत भएको बताए । सन् २०१४ मा जुरे क्षेत्रमा भीषण पहिरो गएको थियो । त्यसभन्दा ७० वर्षअघि पनि त्यही क्षेत्रमा पहिरो गएको थियो । ठूलो पहिरो गएको क्षेत्रको भुबनोट जहिल्यै कमजोर हुने र पुन: डेब्रिज आएर क्षति गर्ने उच्च सम्भावना भएकाले त्यस्ता क्षेत्रमा बस्ती बसाउन नहुने उनको भनाइ छ । ३५ वर्षको मनसुनको अवधिमा भोटेकोसी र सुनकोसी आसपासका क्षेत्रमा भीषण पहिरो गएको देखिन्छ ।

प्रकाशित : असार २६, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?