कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस व्यवसायीले बुझाए बैंकलाई साँचो

दीपक परियार

पोखरा — किस्ता बुझाउने समय ६ महिना थप गर्नुपर्ने माग पुरा नभएपछि पोखराका यातायात व्यवसायीले बसको साँचो बैंकलाई बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायीले ९० वटा बसको साँचो सोमबार विभिन्न बैंकलाई बुझाएका हुन् ।

बस व्यवसायीले बुझाए बैंकलाई साँचो

उनीहरुले एनएमबी बैंकमा ३०, गरिमा विकास बैंकमा १७, प्राइम बैंकमा १८ र मुक्तिनाथ विकास बैंकमा २५ वटा बसको साँचो बुझाए । कम्तिमा ६ महिना कर्जा सार्न गरेको आग्रह बैंकले नसुनेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बैंकका प्रदेश कार्यालयमा साँचो बुझाएको बताए । ‘बैंक तथा वित्तीय संस्थाले कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिए,’उनले भने, ‘अब धितो फिर्ता गर्नुको विकल्प देखेनौं ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गतका १४ सय सवारी साधन चल्न पाएका छैनन् । कम्पनीका अध्यक्ष केसीका अनुसार १४ सयमध्ये ६० प्रतिशत सवारी साधन स्वरोजगार व्यवसायीबाट सञ्चालित छन् । यातायात व्यवसायमा ७० प्रतिशत वित्तीय संस्थाको लगानी छ । ३० प्रतिशत यातायात व्यवसायीले लगानी गरेका छन् ।


कम्पनीको मात्रै सवारी साधनमा ५ अर्ब ६० करोड रुपैयाँ लगानी रहेकोले लगानी फिर्ता गर्दा बैंक पनि डुब्‍ने खतरा रहेको उनले औंल्याए । एक दिन साँचो संकलन गर्ने र अर्को दिन बुझाउने कम्पनीले जनाएको छ । बुधबारसम्म २ सय बसको साँचो बैंकलाई बुझाउने अध्यक्ष केसीले उल्लेख गरे ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले व्यवसायीको माग जायज भएको बताए । ‘आम्दानी नभएरै कर्जा सार्न माग गर्नु जायज हो,’ उनले भने, ‘हामीले गर्न सक्ने छुट गरिसक्यौं । यस सम्बन्धमा राष्ट्रबैंकबाटै स्पष्ट नीति आउनुपर्छ ।’ ऋणीलाई १ महिनाको ब्याज छुट दिने घोषणा बैंकले गरिसकेको छ ।

सेवा सञ्चालन गर्ने निर्णय भएमा तत्कालै सवारी साधन चलाउन मिल्ने अवस्थामा नरहेको व्यवसायीले बताएका छन् । यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सवारी साधनको ब्याट्री, टायर तथा पार्टपुर्जा फेर्ने लगायत न्यूनतम मर्मतको लागि तत्काल २ लाख रुपैयाँ लगानी गर्नुपर्ने अवस्था रहेको बताए । ‘अहिले यो रकम समेत जोहो गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘महासंघले पटक पटक पहल गर्दा पनि माग सम्बोधन हुन सकेन ।’

यो पनि पढ्नुहोस्ः

बैंकले किस्ता मागेपछि यातायात व्यवसायी तनाबमा

प्रकाशित : असार २२, २०७७ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?