कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जमलमा राष्ट्रिय पुस्तकालय बन्‍ने

डीपीआरअनुसार जमलमा रहेका पुराना भवनहरू असार दोस्रो साताबाट भत्काउन थालिएको छ
गणेश राई

काठमाडौँ — भूकम्पले भत्काएको ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालय काठमाडौंको जमलमा बन्ने निश्चित भएको छ । सरकारले उपलब्ध गराएको करिब ८ रोपनीमा पुस्तकालय बन्‍ने भएको हो ।

जमलमा राष्ट्रिय पुस्तकालय बन्‍ने

काठमाडौं महानगरपालिकाले मौलिक कला, संस्कृति र परम्परा झल्कने डिजाइनसहितको पुस्तकालयको नक्सा पास गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार जमलमा रहेका पुराना भवनहरू असार दोस्रो साताबाट भत्काउन थालिएको छ ।

‘असारभित्र पुराना संरचनाका सबै सामग्री हटिसक्छन्,’ पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले भने, ‘त्यसपछि नयाँ संरचना निर्माण प्रक्रिया अघि बढ्नेछ ।’ काठमाडौं–१ जमल कित्ता नं.१२७० को क्षेत्रफल ४०६७ दशमलव ८५ वर्गमिटर जग्गा राष्ट्रिय पुस्तकालयको नाममा धनीपुर्जा रहेको छ । त्यसभित्र चारवटा ठूला भवन तथा टहरा छन् । ती संरचना भत्काउने जिम्मा जेभी स्क्रेभ कम्पनीले लिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा पुस्तकालयको गुरुयोजना निर्माण भई स्वीकृत भएको हो । गुरुयोजनाअनुसार चालु आवमा बनेको डीपीआर स्वीकृत तथा ४ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । आगामी आव २०७७/७८ बाट पुस्तकालयको निर्माण सुरु हुनेछ । त्यसका निम्ति अर्थ र शिक्षा मन्त्रालयले १० करोड रुपैयाँ मोबिलाइजेसन बजेट स्वीकृत गरेको छ । योजना आयोगबाट बहुवर्षीय ठेक्का आयोजनासमेत स्वीकृत भएको छ ।

राष्ट्रिय पुस्तकालयको नयाँ भवन संरचनाको नक्सा ।

योजनाअनुसार राष्ट्रिय पुस्तकालयको पहिलो तला बालबालिकाका निम्ति हुनेछ । दोस्रो र तेस्रो तलामा अपांगता भएका र चौथो तला ज्येष्ठ नागरिकका लागि छुट्याइनेछ । पाँचौं तला अनुसन्धाताका निम्ति तथा छैटौं र सातौं सर्वसाधारणका निम्ति प्रयोग गरिनेछ । ‘पुस्तकालय आईसीटीमैत्री हुनेछ,’ प्रमुख मैनाली भन्छन्, ‘नयाँ संरचना दैनिक दस हजार पाठक बसेर अध्ययन गर्ने क्षमताको हुनेछ ।’ आगामी असोजमा भवन शिलान्यास गर्ने योजना रहेको उनले बताए । २०८१ भित्र भवन बनाई प्रयोगमा ल्याइने लक्ष्य राखिएको छ ।

भूकम्पले पुस्तकालयको भवन जीर्ण भएपछि त्यहाँका डेढ लाख पुस्तक अझै बोरामा छन् । त्यसमा तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थहरूसमेत छन् । पुस्तकालयको प्रशासनिक काम हरिहर भवन घोडातबेला टहरामा सुचारु छ ।

राष्ट्रिय पुस्तकालय निर्माण गर्न जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको भवन भत्काउँदै कामदार । तस्बिर : दीपक केसी/कान्तिपुर

पुस्तकालय प्रमुख मैनालीका अनुसार भूकम्पपछि ८० हजार थान काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा राखिएका छन् । करिब २१ हजार थान पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाममा छन् । आधा जतिमात्र र्‍याकमा राखिएका छन् । झन्डै सात हजार थान बालपुस्तक र नयाँ खरिद गरिएको तीन हजार पुस्तक हरिहर भवनकै बालशाखामा गोदामभित्र बोरामा राखिएका छन् ।

ऐतिहासिक महत्त्वका हजारौं पुस्तकलाई कीरा लाग्नबाट जोगाउन कपुर र बेगन प्रयोग गरिएको छ । तर, बर्खामासमा पानी पसेर किताब भिजेका छन् भने धमिरासमेत लागेको छ । कतिपय पुस्तक तथा कागजातहरू धुजाधुजा अवस्थामा छन् । हस्तलिखित ग्रन्थहरूमध्ये केहीलाई कपडाले बेरेर राखिएको छ । यसअघिको रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी सामग्री छन् ।

पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा तीलगायत मराठी, पाली, फ्रेन्च, जापनिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् ।

प्रकाशित : असार २२, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?