ढलमा भाइरस देखियो भन्दैमा नआत्तिनू : स्वास्थ्य मन्त्रालय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढलमा भाइरस देखियो भन्दैमा नआत्तिनू : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा भाइरस देखियो भन्दैमा नआत्तिन र नडराउन अनुरोध गरेको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरस देखिए पनि समुदायमा फैलियो भन्‍न नमिल्ने बताएका हुन् ।

प्रवक्ता गौतमले भने, 'विश्वका अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड १९ संक्रमित रहेको अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरस आरएनए फ्रयाक्टमेन्ट अर्थात् भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ । जुन सामान्यतया रोग सार्ने खालको हुँदैन ।'

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म भाइरस बाँच्ने उनले बताए । प्रवक्ता गौतमले ढलको पानीमा भाइरसको पहिचान भए पनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए । उनले ढलमा अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरे ।

विशेषगरी कोरोना संक्रमण स्वासप्रश्वासबाट, संक्रमित व्यक्तिले हाँछ्यु गर्दा वा खोक्दा नजिकमा रहेका व्यक्तिहरुलाई छिटाको माध्यमबाट वा संक्रमितका हातले छोएको कुनै पनि सतह भाइरस केही घन्टा वा केही दिनसम्म जीवित रहन सक्ने प्रवक्ता गौतमले बताए ।

मन्त्रालयले अबदेखि क्वारेटाइनमा बस्दा/राख्दा अनिवार्य मास्क लगाउन र निस्कनुपूर्व अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।

प्रकाशित : असार २१, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

विदेशीलाई नागरिकता र राहदानी दिने अधिकृत पक्राउ

कान्तिपुर संवाददाता

काँकडभिट्टा — २०७२ असार १० मा झुटो विवरण पेस गरी विदेशी नागरिकलाई नागरिकता र राहदानीसमेत बनाइदिएको आरोपमा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका एक अधिकृत काठमाडौंको गठ्ठाघरमा पक्राउ परेका छन् । 

अदालतले वारेन्ट जारी गरेका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले शनिबार गठ्ठाघरबाट पक्राउ गरेको थियो ।

आरोपलाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : असार २१, २०७७ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×