परीक्षण सफल भए २ महिनापछि मेलम्चीको पानी काठमाडौं आउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण थालिएको छ । अस्थायी संरचनाबाट पानी पठाएर सुरुङको परीक्षण थालिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री बिना मगरले मेलम्चीका लागि तयार पारिएका अस्थायी संरचना निर्माण पुरा भएको बताएकी छन् । दन्त्य कथाजस्तै बनेको मेलम्ची अब सञ्चालनमा आउने उनले दाबी गरेकी छन् ।

'प्राविधिक र सामाजिक रूपमा चुनौती थिए । राजनीतिक रूपमा हाम्रो टाउकोमा जिम्मेवारी थोपर्ने काम पनि गरिएको थियो,' उनले भनिन्, 'मेलम्चीलाई विफल आयोजनाको रफमा हेर्ने गरिन्थ्यो । त्यस्तो अवस्थाको अन्त्य भएको छ ।'

पानी पथान्तरणको काम सुरु भएको र छिट्टै उद्घाटनको मिति सार्वजनिक गर्ने मन्त्री मगरले बताइन् । उनले ठेकेदार कम्पनी र प्राकृतिक रूपमा समस्या देखिए पनि अहिले भने त्यस्ता समस्या नरहेको दाबी गरिन् । 'छिट्टै खानेपानी आयोजना उद्घाटन गरेर जनताको उपभोगका लागि वितरण गर्नेछौं,' उनले भनिन् ।

मन्त्रालयका सचिव माधव बेल्बासेले परीक्षणका लागि पानी सुरुङमा पठाइएको र तीन तहमा निरीक्षण भइरहेको जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेस खत्रीले कोरोना भाइरसको संक्रमणकाबीच पनि नियमित काम गरेर सुरुङ परीक्षण गर्ने स्थितिमा आएको बताए ।

उनले परीक्षण अहिलेको अवस्थामा नै सफल भएमा अबको भदौ अन्तिमबाट जनताको उपभोगका लागि वितरण गरिने बताए । यसअघि सुरुङलाई विभिन्‍न चरणमा विभाजन गरेर परीक्षण गरिएको र आइतबार बिहानदेखि पुरै टनेल परीक्षण थालिएको बताए ।

मेलम्चीको हेडवर्क्स निर्माणको कार्य तत्काल पुरा नभएको खत्रीको भनाइ थियो । पुससम्म हेडवर्क्स निर्माणको काम सम्पन्‍न गर्ने ठेक्का सम्झौता भएपनि त्यसभन्दा अगावै सकिने सम्भावना रहेको उनले बताए ।

अहिले सुरुङमा प्रति सेकेन्ड २६० लिटरका दरले पानी पठाइएको बताउँदै खत्रीले यही दरमा पानी पठाउँदा सुरुङ भरिन २० दिनसम्म लाग्‍ने बताए । २६ किलोमिटर लामो सुरुङमा हावा बाहिर निकाल्दै पानी भरिँदै गरिएको बताइएको छ ।

पानी भरेपछि एक हप्ता त्यत्तिकै राखिने र त्यसपछि १५ देखि २० दिनसम्म लगाएर निकास गरिने आयोजनाले बताएको छ । त्यसपछि सुरुङभित्र निरीक्षण गरेर समस्या नदेखिएमा फेरि पानी भरेर जनताको उपभोगको लागि वितरण गरिने बताइएको छ ।

प्रकाशित : असार २१, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनले नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३१ हजार ५७३ र ९ हजार २ सय ३ आइसोलेसनमा छन् ।

गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले बताए ।

जिल्लागत संक्रमितको विवरण

  • कन्चनपुर ३२
  • रौतहट २७
  • काठमाडौं २७
  • धनुषा २७
  • कैलाली २७
  • बाजुरा २०
  • सल्यान १५
  • महोत्तरी १२
  • प्यूठान ११
  • सुर्खेत १०
  • डडेलधुरा ९
  • दैलेख ७
  • सर्लाही ७
  • बर्दिया ५
  • रुकुम पश्चिम ४
  • अर्घाखाँची ४
  • झापा २
  • पाँचथर १
  • ताप्लेजुङ २
  • मोरङ २
  • सिराह १
  • पर्सा १
  • बैतडी ३
  • रौतहट २
  • सल्यान १
  • मकवानपुर १
  • बाँके १
  • नुवाकोट २
  • भक्तपुर १
  • रामेछाप २
  • सिन्धुपाल्चोक २
  • इलाम १
  • ललितपुर २
  • म्याग्दी १
  • धादिङ १
  • बागलुङ १
  • तनहुँ २
  • कास्की २
  • लमजुङ १
  • गोरखा १
  • कपिलवस्तु २
  • नवलपरासी (पश्चिम) १
  • डोटी ३
  • रुपन्देही २
  • सुर्खेत २
  • स्याङ्जा १
  • अछाम १
  • बैतडी १

प्रकाशित : असार २१, २०७७ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×