कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीमुनि अशोक स्तम्भ !

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–५, गोटिहवास्थित ऐतिहासिक तथा पुरातात्विकस्थल अशोक स्तम्भ पानीमा डुबेको छ । पानीमा डुब्दा स्तम्भ क्षयीकरण हुने पुरातत्वविद्हरु बताउँछन् ।

पानीमुनि अशोक स्तम्भ !

स्तम्भ बलौटे ढुंगाबाट बनेको छ । ‘पानीमा डुब्दा क्यापिलरी एक्सन हुन्छ’ वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले भने, ‘त्यसले ढुंगालाई असर पुर्‍याउँछ ।’ ढुंगाले पानी सोस्ने र त्यसले स्तम्भ कमजोर बनाउँदै लैजाने विडारीले बताए । तर संरक्षणमा ध्यान नदिँदा कमजोर बन्दै गएको छ ।

सरोकारवाला निकाय लुम्बिनी विकास कोष चुपचाप बसेको स्थानीय बुद्धप्रकाश चौधरीले बताए । यो वर्ष वैशाखको सुरुदेखि नै डुबेको हो । वर्षाको समयमा हरेक वर्ष वैशाखदेखि भदौसम्म स्तम्भ डुब्ने गरेको स्थानीय बताउँछन् ।

‘जमिनको सहतभन्दा स्तम्भ तल छ,’ लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘पानी पर्ना साथ डुब्छ । स्तम्भ भएको ठाउँमा खाल्डो छ । पानी जमेर स्तम्भ ३ फिट जति डुब्छ । बढी पर्‍यो भने ५ फिट डुब्छ ।’

सरोकारवालाले ध्यान नदिँदा सिंगो बौद्ध इतिहास नाश हुने खतरा रहेको स्थानीय अगुवा तेजकुमार बौद्धाचार्यले बताए । पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाइरहेको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले बताए ।

भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटन गर्न आउँदा गोटिहवा आएका थिए । उनले चिनोका रुपमा स्तम्भ बनाएका थिए । गोटिहवा भगवान बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो ।

‘यस्तो महत्वपूर्ण स्थलको सम्राटले भ्रमण गरे,’ अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘पुजनीय ठाँउमा चिनो राखे तर त्यही चिनोलाई हामी संरक्षण गर्न नसक्नु दु:खद कुरा हो ।’

प्रकाशित : असार २१, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?