प्रदेश ५ का जनप्रतिनिधिलाई सुविधै सुविधा

संशोधित कानुनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले विभिन्न १४, वडाध्यक्षले १२ र सदस्यहरूले ९ शीर्षकमा पहिलेको तुलनामा ३० देखि ४० प्रतिशत बढी रकम बुझ्दै
अमृता अनमोल

बुटवल — प्रदेश नम्बर ५ को प्रदेशसभाले स्थानीय तहका जनप्रतिनिधिले पाउने सुविधा ३० देखि ४० प्रतिशतसम्म बढाउने प्रस्ताव गरिएको विधेयक पारित गरेको छ । विधेयकमा एउटै शीर्षकमा दोहोरो सुविधासमेत राखिएको छ । विधेयकमा स्थानीय तहका अध्यक्ष एवं प्रमुख र उपाध्यक्ष एवं उपप्रमुखले मासिक १ सय २० लिटर इन्धन र १२ हजार रुपैयाँ यातायात सुविधा पाउने व्यवस्था गरिएको छ । इन्धन सुविधा पाएकालाई यातायात सुविधा दिनु दोहोरो र पहिलेभन्दा बढी हो ।

संशोधित कानुनअनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखले विभिन्न १४, वडाध्यक्षले १२ र सदस्यहरूले ९ शीर्षकमा सुविधाका नाममा रकम पाउने भएका छन् । अब गाउँपालिका अध्यक्षले मासिक ४५ हजार ५ सय रुपैयाँ पाउनेछन् । यसबाहेक मासिक रूपमा १ सय २० लिटर इन्धन बुझ्नेछन् । बैठक भत्ता प्रतिदिन एक हजार, भ्रमण भत्ता दैनिक १ हजार ८ सय, विदेश भ्रमण भत्ता दैनिक एक सय डलर पाउनेछन् । यस्तै मोबिल त्रैमासिक रूपमा ५ लिटर, चाडपर्व खर्च १५ हजार र यात्रा बिमा प्रतिभ्रमण १० लाख रुपैयाँ तोकिएको छ । पहिलेको कानुनअनुसार गाउँपालिका अध्यक्षले मासिक ३५ हजारसम्म पाउँथे । नयाँ कानुनले गाउँपालिका अध्यक्षले ५० हजारभन्दा बढी रकम सुविधाका नाममा लिने भएका छन् । उपाध्यक्षले मासिक ४२ हजारसहित यी सबै सुविधा पाउनेछन् ।

नगरपालिका प्रमुखले मासिक सुविधाका नाममा ५१ हजार रुपैयाँ बुझ्ने भएका छन् । उपप्रमुखले ४६ हजार रुपैयाँ बुझ्नेछन् । उपमहानगर प्रमुखले ५८ हजार र उपप्रमुखले ५२ हजार रुपैयाँ पाउनेछन् । गाउँपालिकाका वडाध्यक्षले मासिक ३० हजार, नगरका वडाध्यक्षले ४२ हजार र उपमहानगरका वडाध्यक्षले ४४ हजार रुपैयाँ पाउने भएका छन् । कार्यपालिका सदस्यतर्फ गाउँपालिकाकाले मासिक १७ हजार, नगरले १८ हजार र उपमहानगरले २० हजार रुपैयाँ बुझ्नेछन् । गाउँपालिका सदस्यले १० हजार ५ सय, नगरकाले ११ हजार, उपमहानगरकाले १३ हजार रुपैयाँ पाउनेछन् । स्थानीय तहका प्रमुख र उपप्रमुखदेखि सभाका सदस्यलाई समेत वार्षिक रूपमा चाडपर्व खर्च, दैनिक भ्रमण, बैठक भत्ता र यात्रा बिमाको पनि व्यवस्था गरिएको छ ।

संशोधित कानुनमा गाउँपालिकाका वडाध्यक्षलाई अतिथि सत्कारमा चार हजार र नगरपालिकाका वडाध्यक्षलाई मासिक ६ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । उपमहानगर र नगरपालिका वडाध्यक्षलाई खानेपानी तथा सरसफाइमा पाउने मासिक ५ हजार र मर्मत सम्भार एवं विद्युत् ऊर्जामा मासिक ५ हजार छुट्याइएको छ । गाउँपालिका वडाध्यक्षलाई खानेपानी तथा सरसफाइमा मासिक २ हजार र मर्मत सम्भार एवं विद्युत् ऊर्जामा दिने मासिक २ हजार दिने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले समय र महँगीलाई ध्यानमा राखेर स्थानीय तहका सदस्य तथा पदाधिकारीको सेवा सुविधा बढाएको तर्क गरे । कार्यकारी भूमिका भएकाले सुविधा नै नदिई काममा लगाउन नसकेकाले केही परिमार्जन गरेको उनले बताए । ‘आफ्नो जागिर, व्यवसाय, आर्थिक कारोबारका सबै काम छोडेर जनताको सेवाका लागि आएका सदस्य तथा पदाधिकारीलाई हामीले दिएको सुविधा धेरै होइन, एकदमै न्यून हो,’ उनले भने, ‘हामीले मापन गरेर अति न्यून सुविधा दिएका हौं । यसलाई अन्यथा लिनु हुँदैन ।’ बुटवल उपमहानगरका प्रमुख तथा नगरपालिका संघ प्रदेश ५ का अध्यक्ष शिवराज सुवेदीले स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक नभई दैनिक कामका लागि सुविधा लिएकाले त्यसको विरोध र आलोचना गर्न नहुने बताए । ‘जनताका घरघर र दैलोदैलोमा सेवा पुर्‍याएका छौं । २४ घण्टा स्थानीयको काममा खटेका छौं,’ उनले भने, ‘त्यो काममा व्यक्तिगत रकम लगाउन नपरोस् भनेर मात्रै राज्यबाट सुविधा लिएका हौं ।’ उनले कोरोना भाइरसको महामारी र लकडाउनमा समेत जनप्रतिनिधि खटेको सम्मानस्वरूप प्रदेशसभाले सुविधा हेरफेर गरेको दाबी गरे ।

कानुनविद्हरू भने कोरोना संक्रमणका बेला प्रदेश सरकारले खुसुक्क स्थानीय तहका सदस्य एवं पदाधिकारीको सुविधा बढाउनु गैरजिम्मेवारीपन भएको बताउँछन् । उनीहरूले यसलाई कानुन बनाउने अधिकारको दुरुपयोग र कानुनी भ्रष्टाचारको संज्ञा दिएका छन् । सर्वाेच्च अदालतको आदेश उल्लंघन हुने गरी कानुन संशोधन गरिएको अधिवक्ता बाबुराम पाण्डेले बताए । गत कात्तिक १ गते सर्वाेच्च अदालतको संवैधानिक इजलासले प्रदेश १ बाहेक ६ वटा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले पाउने पारिश्रमिकसम्बन्धी कानुन खारेज गरेको थियो । राज्यलाई समस्या परेका बेला कर्मचारीले सरह पारिश्रमिक लिने र बढाउने गर्नु जनप्रतिनिधिको आम परिभाषाविपरीत भएको पाण्डेले दाबी गरे । उनले भने, ‘न्यूनतम सुविधा लिए पनि राज्यलाई आपत् परेका बेला पारिश्रमिक बढाउनु लज्जास्पद हो ।’

पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्रप्रसाद पाण्डेयले जनप्रतिनिधिमा सेवाभावभन्दा जागिरे भाव हाबी भएको बताए । ‘राज्यका आम्दानी र राजस्वका स्रोत गुम्दा कर्मचारीलाई समेत तलब दिने रकम नभएको संघीय सरकारले बताइरहेको छ,’ उनले भने, ‘यस्तो बेलामा राज्यलाई सहयोग गर्नुको साटो आफ्नै तलब बढाउनु राज्यमाथिको गद्दारी हो । कानुन बनाउने अधिकार आफूमा रहेको दुरुपयोग र कानुनी भ्रष्टाचारको चरम नमुना हो ।’

चर्को दबाबपछि संशोधनको तयारी

जनप्रतिनिधिको सुविधाबारे आलोचना बढेपछि प्रदेश ५ सरकारले पुन: त्यसलाई संशोधनको तयारी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वडाध्यक्षलाई दिएको दुई शीर्षकको मासिक सुविधा हटाउने गरी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको हो । जसमा उपमहानगर र नगरपालिकाका वडाध्यक्षले खानेपानी तथा सरसफाइका नाममा पाउने मासिक ५ हजार र मर्मत सम्भार एवं विद्युत् ऊर्जामा दिने मासिक ५ हजार रुपैयाँ खर्च कटौती हुनेछ । यस्तै गाउँपालिकाका वडाध्यक्षले पाउने उक्त दुई शीर्षकका गरी ४ हजार रुपैयाँ कटौती गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित : असार १८, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

चोटबाट उम्कँदै स्वर्णधारी सन्तोषी

‘हामीले पुरानै लयमा आउन जति समय घरमा छौं, त्यसको दुई गुणा समय मिहिनेत गर्नुपर्छ,’ १३ औं सागकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठले भनिन्, ‘सबै कुरामा नकारात्मक सोचेर मात्र पनि हुँदैन । मेरा लागि यो लकडाउन इन्ज्युरीबाट मुक्त हुने अवसर पनि रह्यो ।’
कुशल तिमल्सिना

काठमाडौँ — मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले एथलेटिक्सबाट अहिलेसम्म नपाएको सफलता हासिल गर्‍यो । सागमा पुरुष धावकहरूको इतिहास गर्विलो नै छ । तर महिलातर्फ पहिलो स्वर्ण पदक जित्ने कीर्तिमान यसपल्ट सन्तोषी श्रेष्ठले रचिन् । उनले १० हजार मिटर दौडमा स्वर्ण जितिन् ।

२६ वर्षको उमेरमा ऐतिहासिक उपलब्धि हासिल गर्नका लागि सन्तोषीको तयारी जम्माजम्मी दुई वर्षको थियो । विद्यालयदेखि नै दौडमा सहभागी हुने उनले अध्ययनलाई प्राथमिकता दिइन् । खेल र अध्ययन सँगै अगाडि बढाएर दुवैमा सफलता हासिल गर्ने उनी थोरै नेपाली खेलाडीमा पर्छिन् ।

नेपाली समाजले अहिलेसम्म पनि खेलकुद र पढाइ एकैसाथ अगाडि बढाउने वातावरण दिएको छैन । त्यस किसिमको प्रणाली पनि विकसित भइसकेको छैन । प्रतियोगिता र परीक्षा एकसाथ पारिदिँदा जोसुकैले पनि दुईमध्ये एक रोज्नुपर्ने स्थिति छ । सन्तोषी पनि आफ्नो करिअरमा धेरैपल्ट यस्तै द्विविधाबाट गुज्रिइन् । छैटौं राष्ट्रिय खेलकुदको विकल्पमा उनले पढाइ रोजेकी थिइन् ।

‘विद्यालयमा रहँदा दौडमा राम्रो गर्दै आएकी थिएँ । पढाइ पनि राम्रो थियो,’ स्वयम्भूस्थित गीतामाता स्कुलबाट एसएलसी उत्तीर्ण सन्तोषीले भनिन्, ‘दौडका प्राविधिक पक्षबारे केही थाहा थिएन । स्थानीय दौड प्रतियोगितामा निरन्तर सहभागी भइरहें । पढाइलाई नै प्राथमिकता दिएकाले मैले खेलकुदलाई नै करिअर बनाउन चाहेकी थिइनँ ।’

२०७४ सालमा पब्लिक हेल्थमा स्नातक उत्तीर्ण गर्नुअघिसम्म सन्तोषीका लागि दौढ सोखमात्र थियो । सोख पूरा गर्न पहिलोपल्ट २०७१ सालमा आयोजित ४० औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप खेल्दा १० हजार मिटर दौडमा कांस्य जितिन् । ‘कान्छीमाया कोजू, विश्वरूपा बुढालगायतका दिदीहरूसँग पहिलोपल्ट दौडन पाउनु नै मेरा लागि ठूलो अवसर थियो,’ मध्यमाञ्चलबाट सहभागी उनले थपिन्, ‘त्यसमाथि पहिलो सहभागितामै पदक जित्दा केही गर्न सक्छु भन्ने लागेर आयो ।’

त्यतिबेला स्नातकको पढाइ भर्खरै सुरु गरेकी सन्तोषीले दौडलाई निरन्तरता दिन सकिनन् । जसले गर्दा सन् २०१६ मा भारतमा भएको १२ औं सागमा छनोट हुन पाइनन् । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा सहभागिता पनि अनुभवकै लागि थियो ।

४० औं राष्ट्रिय एथलेटिक्सको नतिजाका आधारमा सन्तोषी प्रशिक्षकहरूको नजरमा परिसकेकी थिइन् । प्रशिक्षकले दौडको प्राविधिक पक्षबारे जानकार नभए पनि खेलाडीमा हुनुपर्ने गुण उनमा देखिसकेका थिए । तिनैमध्येका एक थिए, रघुराज वन्त । पूर्वस्प्रिन्ट च्याम्पियन उनी एथलेटिक्स संघका पूर्वअध्यक्षसमेत हुन् ।

वन्त आफैंले फोन गरेर सन्तोषीलाई आफूसँग प्रशिक्षण गर्न भने । तर सन्तोषीले पत्याइनन् । वन्तले फोन गरेर प्रशिक्षणका लागि बोलाउँदा सन्तोषीले लामो समयसम्म त्यत्तिकै टारेकी थिइन् । ‘त्यो भन्दा अगाडिसम्म मैले गुरुको नामै सुनेकी थिइनँ । मलाई प्रशिक्षणका लागि किन दबाब दिँदैछन् भने जस्तो पनि लाग्यो,’ सन्तोषीले वन्तसँगको रोचक सम्बन्धबारे भनिन्, ‘त्यसमाथि मेरो मुख्य ध्यान पढाइमै थियो । ब्याचलरको पढाइ सुरु भयो । भूकम्पपछि एकदिन मैले उहाँसँग पहिलोपल्ट भेटें । चिनजान हुँदै गएपछि र उहाँबारे धेरै कुरा सुनेपछि मैले यस्तो मान्छेलाई किन नराम्रो सोचेछु भन्ने लाग्यो ।’

सन्तोषीभन्दा अगाडिदेखि नै वन्तले भूमिराज राई, कान्छीमायालगायत तत्कालीन राष्ट्रिय च्याम्पियनहरूलाई प्रशिक्षणदेखि आफ्नै खर्चमा डाइटसमेत उपलब्ध गराउँदै आएका थिए । त्यसमा सन्तोषी थपिइन् । वन्त र सन्तोषी दुवैका लागि चुनौती थियो । त्यसपछि नै हो सन्तोषीले प्रशिक्षणका लागि पहिलोपल्ट दशरथ रंगशालाको ट्र्याकमा दौडिएको अनि एथलेटिक्सका पूर्वप्रशिक्षक र पूर्वअध्यक्षले १५ वर्षपछि रंगशालाको ट्र्याकमा पाइला राखेको । ‘गुरुको एथलेटिक्समा पुनरागमनको कारक म नै भएछु । मेरो बहानामा उहाँ रंगशाला पुग्नुभयो । पछि सुनेर खुसी लाग्यो,’ सन्तोषीले सम्झिइन्, ‘हप्ताको एकदिन मात्र प्रशिक्षण गर्न पाउँथें । कान्छीमाया दिदीसँगै उहाँले जे गर्नुहुन्छ त्यही गर्थें ।’

२०७४ सालमा राखेप च्याम्पियनसिपमा ५ किलोमिटरतर्फ दोस्रो भएपछि मात्र हो सन्तोषीले दौडलाई प्राथमिकतामा राख्नेबारे सोच्न थालेको । त्यतिबेला स्नातकको पढाइ सकिएको थियो र १३ औं साग नजिकिँदो थियो । ‘त्यसपछि मैले सबै छाडेर प्रशिक्षण सुरु गरें । टाइमिङ राम्रो भइरहेको थियो । तर एसियाली खेलकुदमा छनोट हुन सकिनँ । त्यसपछि मेरा लागि आफूलाई प्रमाणित गर्ने अन्तिम विकल्प यही साग बन्यो,’ सन्तोषीले थपिन् । १८ औं एसियाली खेलकुद र भुटानमा सम्पन्न दक्षिण एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा सहभागी हुन नपाएकोमा उनलाई अहिले पनि पछुतो छ ।

लामो समयपछि नेपालले मध्यम दूरीमा उत्कृष्ट धावक पायो । त्यो भन्दा ठूलो कुरा देशले शिक्षित खेलाडी पायो । खेलकुद र पब्लिक हेल्थ आपसमा सम्बन्धित हुन्छ । त्यसबाहेक आफ्नो विधाको खेलबारे स्वअध्ययन गर्नका लागि पनि सन्तोषीलाई सहज भएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा जनप्रशासनतर्फ स्नातकोत्तर गरिरहेकी सन्तोषीले अर्को वर्ष पब्लिक हेल्थमै स्नातकोत्तर गर्ने योजना बनाएकी छन् । सागको सफलता तथा बायाँ खुट्टाको चोटका कारण आराममा रहेकी सन्तोषी कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणका लागि देशभर गरिएको लकडाउनका कारण चैत दोस्रो सातादेखि घरमै बस्नुपरेको छ ।

लामो दूरीका धावकका लागि बिना प्रशिक्षण घरमै रहनु निकै नै घातक हुन्छ नै । तर त्यसको विकल्प पनि थिएन । ‘सक्रिय खेलजीवनमा रहेकाका लागि प्रशिक्षण र प्रतियोगिताबिना घरमै रहनु भनेको निकै नै कठिन कुरा हो । अझ हाम्रो जस्तो खेलमा नियमित प्रशिक्षण अनिवार्य हुन्थ्यो । अब पुरानै लयमा आउनका लागि हामी जति समय घरमा छौं त्यसको दुई गुणा समय मिहिनेत गर्नुपर्छ,’ उनले थपिन्, ‘सबै कुरामा नकारात्मक सोचेर मात्र पनि हुँदैन । मेरा लागि यो लकडाउन इन्ज्युरीबाट मुक्त हुने अवसर पनि रह्यो ।’

लकडाउन नभएको भए सन्तोषीको व्यस्तता उस्तै हुन्थ्यो । कान्तिपुर हाफ म्याराथनलगायत देशका अन्य प्रतियोगिता तथा विदेशका प्रतियोगितामा पनि सहभागिताको योजना बनाइरहेकी थिइन् । कोरोनाको त्रास र लकडाउनले गरेको मनोवैज्ञानिक असर कम गर्न सन्तोषीलाई आफूले पढेको ज्ञानबाट धेरै राहत मिलेको छ ।

‘निरन्तरतामा ब्रेक लागेपछि हामीलाई सबैभन्दा कठिन काम भनेको तनाव व्यवस्थापन हो । लकडाउन इन्ज्युरीका कारण मनोविज्ञानलाई कमजोर हुन नदिन मलाई पढाइको ज्ञानले धेरै सहयोग गर्‍यो । पब्लिक हेल्थ र खेलकुदको सम्बन्धसँगै हरेक नेपालीका लागि नयाँ बनेको कोभिड–१९ रोगबारे आफ्ना साथीभाइ र परिवारलाई पनि सहयोग गर्न सकें ।’

उनले बुझेकी छन् कि यस्तो कठिन परिस्थिति सधैं रहँदैन । सामान्य दैनिकीसँगै उनलाई ट्र्याकमा फर्केर अझै धेरै सफलता हासिल गर्न बाँकी छ । लकडाउनको समयको उपयोग गरी उनले ट्र्याक बाहिरबाट एथलेटिक्सलाई थप बुझिरहेकी छन् । पब्लिक हेल्थमा स्नतकोत्तर गर्ने योजना छँदै छ । नेपालको परिप्रेक्ष्यमा सबै खेलाडीले खेल र अध्ययनलाई एकसाथ लैजान सम्भव छ त ? सन्तोषीको जवाफ छ, ‘लगभग असम्भवजस्तै छ ।’ असम्भवलाई सम्भव बनाउने उनको अनुभवचाहिँ एउटै छ, ‘आफ्नो लक्ष्यमा अडिग रहनुहोस् ।’

त्यसका लागि पारिवारिक सहयोग महत्त्वपूर्ण छ र खेलकुदमा त्यस्तो संस्कारको विकास गर्नुपर्छ जसले अध्ययनरत खेलाडी समेटिने गरी कार्यक्रम सञ्चालन गरोस् । ‘ठूलो स्तरमा पुग्न नसके पनि अरुका लागि प्रेरणा बन्न सक्छु भनेर मैले खेलकुद र अध्ययनलाई निरन्तरता दिएको हो । पढाइ छाडेर खेलकुदमा आएको भए सायद यो सफलता मैले ५–७ वर्षअघि नै पाउन सक्थें । ढिलै भए पनि मैले अध्ययन र खेल दुवैमा सफलता पाएको छु,’ धादिङमा जन्मिएकी उनले थपिन्, ‘पारिवारिक जिम्मेवारी थियो, आर्थिक समस्या त्यस्तै थियो जसकारण खेलकुदको ठाउँमा अध्ययनलाई प्राथमिकता दिनुपरेको थियो ।’

सन्तोषीले अबका दिनमा भने खेलकुदलाई नै प्राथमिकता दिने बताएकी छन् । वीर गणेशमान सिंह स्मृति १० किलोमिटर दौडमा स्वर्ण जितेयता उनी आराममा छिन् । एसियाली खेलकुद र ओलम्पिक खेल्ने उनको लक्ष्य हो । ‘१० किलोमिटरमा स्वर्ण जिते पनि ५ किलोमिटरमा राम्रो भएन । त्यसबेला राम्रो आराम पाइनँ र विपक्षीको रणनीति बुझ्न पाइनँ,’ उनले थपिन्, ‘दौडका प्राविधिक पक्षबारे बुझ्दै छु, अझै पनि सिकिरहेको छु र योभन्दा ठूलो सफलताका लागि प्रयास गर्नेछु ।’

१३ सागमा कीर्तिमानी स्वर्ण जितेयता उनको दैनिकी फेरिएको छ । लजालु स्वभावकी उनले धेरै ठाउँमा भाषण गर्नुपरेको छ, अन्तर्वार्ता दिनुपरेको छ । यसले उनलाई आफ्ना कुरा सबैसँग साट्न पाउनुको खुसी दिएको छ । कान्तिपुर हाफ म्याराथनमा दुईपल्ट सहभागी भएकोमा दुवैपल्ट कान्छीमायासँग पछि पर्दै दोस्रो भएकी सन्तोषीले भनिन्, ‘सागमा स्वर्ण जितेयता धेरैभन्दा धेरै मान्छेसँग भेट्न पाएको छु । आफ्ना कुरा राख्न पाएकी छु । स्थापित खेलाडीको पहिचान बनाएकी छु । परिवारलाई गर्व गर्ने वातावरण मिलेको छ ।’

प्रकाशित : असार १८, २०७७ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×