पाल टाँगेर क्वारेन्टाइन !

प्रतीक्षा काफ्ले

गण्डकी — बागलुङको निसीखोला गाउँपालिका–६ पुतलीबजारमा चौरमा बाँसको टेको लगाएर त्रिपाल टाँगिएको छ । पछाडिपट्टि खोला । घाम, पानी, हावा जुनै बेला पनि उस्तै सास्ती । न सुत्ने गतिलो ठाउँ, न त खाना । जहाँ तीन सय जनाभन्दा बढी बसिरहेका छन् ।

बागलुङको निसीखोला गाउँपालिका–६ मा निर्माण गरिएको क्वारेन्टाइन । बाँसको टेको लगाएर त्रिपालको कच्ची क्वारेन्टाइन निर्माण गरिएको हो । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

स्थानीय ज्ञानेन्द्र माविको भवन भरिएपछि चौरमा त्रिपाल टाँगेर क्वारेन्टाइन बनाइएको हो । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले संख्या बढी भएकाले व्यवस्थापन गर्न नसकेर पालमुनि राख्नुपरेको बताए । पालिकाभरि क्वारेन्टाइनमा सात सय जनाभन्दा बढी छन् । उनीहरू सबै जना रोजगारीमा भारत गएर फर्किएकाहरू हुन् ।

स्वास्थ्यकर्मी नियमित जान नसक्ने र स्वाबका रिपोर्ट पनि ढिलो आउने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा बस्न झन् समस्या भएको छ । ‘हामीलाई न बस्ने ठाउँ गतिलो छ । न खाने कुरा नै,’ अनुगमनमा गएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँग उनीहरूले भने, ‘सँगै बसेका कोरोना पोजिटिभ देखिएकाहरू निको भएर आइसोलेसनबाट पनि घर फर्किसके हाम्रो परीक्षण रिपोर्ट अझै आएको छैन । यस्तो अवस्थामा कति दिन बिताउनुपर्ने हो ?’

बागलुङ सदरमुकामस्थित धौलागिरि बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको आइसोलेसनमा रहेकाहरूले मन्त्री देख्दा आन्दोलन गरे । पिउने पानीसमेत पर्याप्त नभएको उनीहरूको भनाइ थियो । लामखुट्टेले हैरान पार्ने भन्दै झुलको व्यवस्था गरिदिन उनीहरूले माग राखे । ‘हाम्रो रिपोर्ट कहिले आउने हो रु हामीलाई कोरोनासोरोना केही लागेको छैन । हामी ठीक छौं, ३७ दिन भयो अब तपाईंहरूले नभने हामी आफैं बाहिर निस्कन्छौं,’ उनीहरूले भने ।

भारतीय सीमामा बसेर आएको र जिल्ला भित्रिएपछि पनि ३७ दिन बसिसकेको उनीहरूले बताए । ‘स्वाब परीक्षण गरेको ३७ दिनसम्म किन रिपोर्ट आउँदैन ?’ एक युवाले भने, ‘क्वारेन्टाइनमा बसेको १० दिनपछि स्वाब संकलन गर्ने, ३५-४० दिनसम्म रिपोर्ट नआउने ? पोजिटिभ र नेगेटिभ देखिएका एकै ठाउँमा राख्ने । संक्रमित निको भएर घर गए हाम्रो रिपोर्ट अझै आएको छैन । अब भागेर नै घर जान्छौं ।’

मन्त्री बस्नेतले बागलुङ बढी जोखिमपूर्ण जिल्ला भएकाले सतर्कता अपनाउनुपर्ने र स्वाब परीक्षणको रिपोर्ट अब छिट्टै आउने आश्वासन दिए । बागलुङमा २१ सय जना अटाउने क्वारेन्टाइन निर्माण भएको छ । हालसम्म १४ सय ८१ जना क्वारेन्टाइनमा छन् । कोरोना संक्रमितको संख्या १ सय ७८ पुगेको छ भने २३ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : असार १६, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

असफल भए क्वारेन्टाइन

अत्यावश्यक सुविधा त छैन नै, त्यसमाथि बाढी र डुबानको समस्या, सर्पको डर, संक्रमणको जोखिम बढी, बलत्कार र मृत्युका घटनासमेत भएका कारण मानिसहरू क्वारेन्टाइनमा बस्न नमानेपछि स्थानीय निकायले घरमै बस्ने अनुमति दिन थालेका छन् । सयौं क्वारेन्टाइनका एक लाखभन्दा बढी शय्या अहिले खाली भइसकेका छन् ।
प्रदेश ब्युरो

काठमाडौँ — विदेशबाट आउनेहरु सिधै घर जान थालेपछि कोरोना संक्रमित भए/नभएको थाहा पाउन परीक्षण अवधिभर अलग्गै राख्ने विधि (क्वारेन्टाइन प्रणाली) नेपालमा असफल देखिएको छ । भद्रगोल व्यवस्थापनका कारण क्वारेन्टाइनबाटै संक्रमण फैलिन थालेपछि र क्वारेन्टाइनमा बसेकाको मृत्यु हुने क्रम पनि बढेपछि सुरुदेखि नै आलोचित बनेका सयौं क्वारेन्टाइनका एक लाखभन्दा बढी शय्या अहिले खाली भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिका-६ मा निर्माण गरिएको क्वारेन्टाइन तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर

एक साताअघिसम्म मानिसले भरिभराउ क्वारेन्टाइनको खर्च व्यवस्थापनसमेत धान्न नसक्ने अवस्थामा स्थानीय पुगेका थिए । यही बेला बाढीदेखि सर्पको डर, तीव्र संक्रमण वृद्धि तथा मृत्युका घटनाका कारण मानिस क्वारेन्टाइनमा बस्न तयार नभएपछि स्थानीय निकायले घरमै बस्ने अनुमति दिएका छन् ।

खासगरी भारत र अन्य देशमा संक्रमण बढ्न थालेपछि घर फर्किएका लाखौं नेपाली राख्नका लागि रातारात बनाइएका क्वारेन्टाइन खाली भइरहेकै बेला देशभित्र कोरोना पोजिटिभको संख्या भने तीव्र गतिले बढोत्तरी भइरहेको छ ।

प्रदेश ५ मा ४५ हजार बेड खाली

एक महिनाअघि जेठ १४ मा प्रदेश ५ का ११ सय २१ क्वारेन्टाइनमा बस्नेको संख्या ३३ हजार ५ सय ६ थियो । शनिबारसम्ममा क्वारेन्टाइनको संख्या बढेर १८ सय १ पुगेको छ । तर, बस्नेको संख्या घटेर १५ हजार ५२ मा सीमित भएको छ ।

भारतबाट धमाधम नेपाली फर्कन थालेपछि अत्तालिएको प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई वडा तहसम्मै क्वारेन्टाइन स्थापना र व्यवस्थापन गर्न निर्देशन दिएको थियो । स्थानीय तहमा धमाधम क्वारेन्टाइन निर्माण पनि गरियो । तर, व्यवस्थापन राम्रो हुन नसक्दा क्वारेन्टाइनमा बस्नेको संख्या घट्यो । वडाले अधिकांश क्वारेन्टाइन विद्यालयमै निर्माण गरेको थियो, जहाँ बिजुली, खानेपानी, शौचालयदेखि इन्टरनेटको असुविधा थियो । गर्मीको समय भएकाले लामखुट्टेको समस्या पनि उस्तै थियो । त्यसले वडाध्यक्षसँगको पहुँच र राजनीतिक दबाबकै कारण धेरै सर्वसाधारण होम क्वारेन्टाइनमै बस्ने गरी घर जान थालेपछि अहिले ५० प्रतिशतभन्दा बढी क्वारेन्टाइन खाली भएका हुन् ।

गत जेठ १४ सम्म प्रदेश ५ का १२ जिल्लामा क्वारेन्टाइनको बेड संख्या ३८ हजार ४ सय ३९ थियो । शनिबारसम्ममा प्रदेशमा बेड संख्या ५९ हजार ६ सय ५० पुगेको छ । तीमध्ये १५ हजार ५२ बेड प्रयोग भएका छन् भने ४४ हजार ५ सय ९८ बेड खाली छन् । सबैभन्दा बढी बेड कपिलवस्तुमा निर्माण गरिएको थियो । यहाँका क्वारेन्टाइनमा १० हजार ३ सय १० बेड रहेकामा शनिबारसम्म ३ सय ८८ जना मात्र छन् । कपिलवस्तुबाट मात्र १० हजार ७ सय ४७ जना आरडीटी परीक्षण गरेर घर फर्केका छन् । बाँकेका क्वारेन्टाइनमा ६ हजार ७६ बेड निर्माण गरिएकामा अहिले ५ हजार १ सय ८८ बेड खाली छन् । बाँकेमा दुई साताअघिसम्म पनि झन्डै ७ सयलाई बेड अभाव थियो । रूपन्देहीमा ४ हजार २ सय १७ बेड खाली छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ फोकल पर्सन डा. उमाशंकर चौधरीले पछिल्लो चरण आरडीटी परीक्षण गरेर धेरै जना होम क्वारेन्टाइनमै बस्ने गरी घर फर्केपछि बेड खाली भएको बताए । ‘लक्षण नदेखिएपछि क्वारेन्टाइनमा बसिरहनु पर्दैन,’ उनले भने, ‘त्यसैले पनि अहिले क्वारेन्टाइनमा बस्नेको संख्या घट्दो र होम क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो छ ।’ भारतबाट स्वदेश फर्कने क्रम रोकिए अबको एक महिनामा सबै क्वारेन्टाइन खाली हुने अवस्था रहेको उनले बताए । प्रदेश ५ मा ३ हजार ४ सय ३९ जना संक्रमित छन् । तीमध्ये १ हजार ६ सय ३७ जना निको भएर घर फर्केका छन् । ११ जनाको मृत्यु भएको छ ।

अहिले आइसोलेसन सेन्टरमा लक्षण भएका कोभिड–१९ संक्रमितको संख्या बढिरहेकाले समुदायका लागि चिन्ताको विषय भएको बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘आइसोलेसन र क्वारेन्टाइनमा १४ दिन बसेर लक्षण नदेखिए निको भएको मान्न सकिन्छ,’ उनले भने, ‘तर सिधै घर पठाउनाले संक्रमण समुदायमा फैलिने बाटो खुल्छ ।’

बिरामीका लागि छुट्टै कोठा र शौचालय सबै घरमा उपलब्ध नभएको उनले बताए । यस्तो बेला क्वारेन्टाइनमा नराखी घर पठाइएका व्यक्तिको अनुगमन कसले गर्ने भन्ने पनि प्रश्न उठेको उनले बताए । यसका साथै संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको छिटो पीसीआर परीक्षणमा उनले जोड दिए । ‘परीक्षणमा ढिलाइ गरे संक्रमण समुदायमा फैलिनेछ,’ उनले भने, ‘त्यसपछि लक्षण भएका बिरामी बढनेछन् ।’

स्वास्थ्य मन्त्रालयले १४ दिन क्वारेन्टाइनमा राखेर १५ औं दिनमा आरडीटी परीक्षण गरेर घर पठाउने निर्देशिका लागू गरेपछि अधिकांश क्वारेन्टाइन खाली भएका हुन् । अहिले एकै दिन ४०/५० जना क्वारेन्टाइनबाट फर्किरहेका छन् । भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति तथा फिजिसियन डा. संकेतकुमार रिसालले आरडीटी परीक्षण बढाइएकाले नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरु घर फर्किने गरेको बताए । ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार हामीले काम गर्ने हो,’ उनले भने, ‘कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको मात्रै पीसीआर गर्ने निर्देशिकामा छ ।’ क्वारेन्टाइनबाट बाँकेका ९ हजार ६ सय ५ जना घर फर्किसकेका छन् । आइसोलेसनमा राखिएका ३ सय १८ मध्ये ३५ जना मात्रै घर फर्किन बाँकी छन् ।

कर्णालीका क्वारेन्टाइन पनि रित्तै

कर्णाली प्रदेश सरकारले चैत ७ गते वीरेन्द्रनगरमा १ हजार बेडको क्वारेन्टाइन बनाउने निर्णय गर्‍यो । तीमध्ये ४ सय बेडको जिम्मा सेनालाई दिइयो तर २ सय १० बेड मात्र सञ्चालनमा आएका छन् । अहिले उक्त क्वारेन्टाइनमा ६८ जना बसिरहेका छन् ।

संक्रमित मुलुक र देशका अन्य क्षेत्रबाट आउनेलाई राख्न कर्णालीमा बनेको व्यवस्थित क्वारेन्टाइन यही एउटा हो । अन्य क्वारेन्टाइनहरु सम्बन्धित जिल्लाका स्थानीय तहले विद्यालय वा क्याम्पसमा सञ्चालन गरेका छन् । ती क्वारेन्टाइनको भद्रगोल अवस्थाले मान्छेहरु भाग्ने, उपचार नपाएर भित्रै मृत्यु हुने र कोरोना संक्रमण फैलिने केन्द्र पनि बन्न पुगेका छन् ।

कर्णाली प्रदेश सरकारका अनुसार प्रदेशका ९ सय ८४ स्थानमा ४३ हजार २ सय ५५ बेड क्षमताको क्वारेन्टाइन छन् । हालसम्म ६२ हजार ४ सय ५३ जना व्यक्ति क्वारेन्टाइनमा बसेर आफ्नो घर फर्केका छन् ।

मुख्यमन्त्री कार्यालयले शुक्रबार आफ्नो वेबसाइटमा गरेको अपडेटअनुसार अहिले ६ हजार ७ सय ६६ जना व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् । निश्चित समय अवधि पूरा गरेर आरडीटी वा पीसीआर परीक्षणपछि उनीहरुलाई घर पठाएको कार्यालयका उपसचिव हेमबहादुर रानाको भनाइ छ ।

लकडाउन सुरु भएयता कर्णालीमा भारतबाट ४८ हजार ११ जना व्यक्ति आएका छन् । २ सय ७५ जना तेस्रो मुलुकबाट आएका छन् । भारतबाट आउनेमा सबैभन्दा बढी दैलेखका छन् । जेठ महिनामा मात्र त्यहाँ करिब १२ हजार व्यक्ति आएका जिल्ला प्रशासन कार्यालयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार दैलेखमा संक्रमण बढ्नुको एक कारण क्वारेन्टाइनको अस्तव्यस्तता पनि हो । ‘भारतबाट मान्छेको ओइरो लाग्न थालेपछि एउटै कोठामा २०–२५ जनासम्म राख्नुपर्‍यो, बेन्च र टेबुलमा पनि सुत्ने अवस्था आयो,’ उनले भने, ‘बरु घरमै गएर सावधानीका साथ बस भनेर पठाइदिएको भए यस्तो अवस्था आउँथेन कि ?’

आइतबारसम्म कर्णालीमा १ हजार ४ सय २८ जना संक्रमित देखिएमा दैलेखमा मात्र ७ सय ६० जना रहेका छन् । दुल्लुका नगर प्रमुख घनश्याम भण्डारी सुरुवाती चरणमा भारतबाट आउनेलाई व्यवस्थित बसोबासको व्यवस्था गरिए पनि पछि संख्या अधिक भएपछि व्यवस्थापनमा चुनौती भएको बताउँछन् ।

प्रदेश सरकारले सुरुमा भारतबाट आउनेलाई सुर्खेतको क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि संख्या अत्यधिक हुँदा सम्बन्धित स्थानीय तहलाई नै व्यवस्थापन गर्न भनेको थियो । यसले गर्दा स्रोतसाधन न्यून भएका स्थानीय तहलाई थेग्न हम्मे भयो । सुर्खेतको भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य भन्छिन्, ‘प्रदेश सरकारले सहयोग गर्दैन, हामीसँग स्रोतसाधन छैन, जेजस्तो हुन्छ, मिलाएर बसाल्ने गरेका छौं ।’ प्रदेश प्रवेश गर्ने प्रमुख नाका भएकाले बाहिरबाट आएका मान्छेहरुलाई पनि राख्नुपरेको उनले बताइन् ।

गण्डकीमा पनि आधाभन्दा बढी खाली

लकडाउन सुरु हुनसाथ गण्डकी प्रदेशका स्थानीय तहमा क्वारेन्टाइन बनाउन होड चल्यो । विद्यालय, सामुदायिक भवन तथा स्वास्थ्य संस्थामा बनाएका क्वारेन्टाइन लकडाउनको दुई महिनासम्म पनि खासै प्रयोगमा आएनन् । पछिल्लो समय भारत र अन्य मुलुकबाट फर्किएकाहरु बढेपछि क्वारेन्टाइनमा बस्नेहरु पनि बढेका छन् ।

क्वारेन्टाइन निर्माणसँगै बेड, सरसफाइका सामग्री, औषधि, खाना, खाजाखर्च स्थानीय तहले व्यहोर्दै आएका छन् । तर क्वारेन्टाइनमा धेरैजना एकै ठाउँमा खाँदेर राख्दा औचित्यहीनजस्तै बनेका छन् । व्यवस्थित नहुँदा क्वारेन्टाइनबाटै कोरोना संक्रमण फैलिएको सार्वजनिक भइसकेको छ ।

गण्डकी प्रदेशभरि आइतबारसम्म ११ हजार १ सय ३४ क्वारेन्टाइन बेड छन् । तिनमा ४ हजार ९ सय ३४ जना बसेका छन् । सबैभन्दा बढी बाग्लुङमा १७ सय ८६ बेड मध्ये १४ सय ८१ जना बसेका छन् ।

कास्कीमा १४ सय १४ बेडमा २ सय ९३, गोरखामा १ हजार ३७ बेडमा ३ सय ७५ जना बसेका छन् । पूर्वी नवलपरासीमा १६ सय ६८ बेडमा ४ सय, तनहुँमा ९ सय ९३ बेडमा ८ सय ९, पर्वतमा ९ सय ७२ मा ४ सय २६, म्याग्दीमा २ सय ७८ मा १ सय, स्याङ्जामा १५ सय ५० बेडमा ८ सय ६ जना बसेका छन् । मुस्ताङमा १ सय १७ बेड भए पनि कोही छैनन् । लमजुङमा १२ सय २६ बेडमा २ सय ४३ र मनाङमा ९३ बेड क्वारेन्टाइनमा एक जनामात्रै बसेका छन् ।

स्थानीय तहले क्वारेन्टाइनको संख्या बढाएर आवश्यक तयारी गरेको र कास्कीको हकमा सोहीअनुसार विदेशबाट वा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थाका व्यक्ति नआएकाले कम बसेको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए । पर्वत जिल्ला प्रशासनका सूचना अधिकारी घनश्याम गौतमले पछिल्लो समय भारतलगायतबाट आउनेको संख्या कम भएकाले पनि क्वारेन्टाइनमा कम बसेको बताए ।

प्रदेश २ मा होम क्वारेन्टाइनमा बस्ने बढे

कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा क्वारेन्टाइनको व्यवस्थापन फितलो भएपछि अहिले होम क्वारेन्टाइनलाई प्राथमिकता दिइएको छ । स्थानीय तहले बनाएका क्वारेन्टाइनमा खाना, बस्न–सुत्न, शौचालय र अन्य आधारभूत सुविधा नहुँदा त्यहाँ बस्नेहरु सास्ती भोग्न बाध्य छन् ।

भारत र अन्य मुलुकबाट घर फर्किनेको संख्या पातलिएको र होम क्वारेन्टाइनलाई प्राथमिकतामा राखिएकाले क्वारेन्टाइन रित्तिँदै गएको सरकारी अधिकारीहरुको दाबी छ । तर, क्वारेन्टाइनमा थुनुवाको जस्तो व्यवहार गरिएको र एउटा संक्रमणबाट बच्न बसिएको क्वारेन्टाइनमा अन्य रोगको सिकार हुने दुरअवस्था रहेको गुनासो छ । प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले एउटा, क्वारेन्टाइनमा बसेकाको जाँचको रिपोर्ट धमाधम आएपछि पोजिटिभ हुने आइसोलेसनमा र नेगेटिभ आउने घर फर्किएको बताए ।

प्रदेश २ को ८ वटै जिल्लामा क्वारेन्टाइनको संख्या ५ सय ८१ छ । आइतबारसम्म क्वारेन्टाइनमा बसिरहेकाको संख्या ५३ सय ११ छ । होम क्वारेन्टाइनमा १७ सय ५२ जना छन् । सप्तरीमा मात्रै ११ सय १२ जना क्वारेन्टाइनमा बसेका छन् भने सबैभन्दा कम बारामा ८४ जना क्वारेन्टाइनमा छन् । प्रदेश २ मा शनिबारसम्म कुल संक्रमितको संख्या ३ हजार ५ सय ५४ छ ।

प्रदेश २ को रौतहट र सर्लाहीमा कोरोना संक्रमितको संख्या उच्च छ । रौतहटमा ११ सय ७७ र सर्लाहीमा ६ सय १५ जना कोरोना संक्रमित छन् । करोडौं खर्च गरेर स्थानीय तहले व्यवस्थापन गरिरहेको क्वारेन्टाइनमा भने १५ दिनसम्म बस्दा पनि स्वाब परीक्षण नभएको गुनासो पनि बढेको छ । प्रदेश २ का क्वारेन्टाइनहरुबाट हालसम्म ३१ हजार ८३ जना बसेर घर फर्किसकेका छन् ।

प्रकाशित : असार १६, २०७७ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×