कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमको सञ्‍चालक समितिमा पौडेल र शेर्पा

सुरज कुँवर

काठमाडौँ — वर्ष दिनदेखि रिक्त नेपाल वायुसेवा निगमको सञ्‍चालक समिति सदस्यमा पर्यटनमन्त्री योगेश भट्टराईले व्यवस्थापन विज्ञ प्रकाश पौडेल र पर्यटन व्यवसायी फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेका छन् । 

निगमको सञ्‍चालक समितिमा पौडेल र शेर्पा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पौडेल र शेर्पालाई ४ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले कान्तिपुरलाई बताए । पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सीज प्रालिका प्रमुख कार्यकारी अधिृकत हुन् । नक्सालमा रहेको यो कम्पनीले नेपालभर भारतीय कम्पनी आइसरका चार पाङ्ग्रे सवारी साधान बिक्रीको जिम्मा लिएको छ ।

बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेलसँग चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेको अनुभव छ ।

गत साउनमा पर्यटनमन्त्री भट्टराईले गठन गरेको ‘नेपाल वायुसेवा निगम सुझाव कार्यदल’मा पौडेल ५ जनामध्येका एक थिए । पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा गठन गरिएको कार्यदलले असोजमा पर्यटनमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।

प्रधानमन्त्री केपी ओलीले महाप्रबन्धक छँदै झापाका मदन खरेललाई ०७५ भदौमा ४ वर्षका लागि कार्यकारी अध्यक्ष पद दिएका थिए । तर, खरेलले ०७६ माघमा राजीनामा दिएपछि मन्त्री भट्टराईले यसै कार्यदलको नेतृत्व गरेका पूर्वसचिव घिमिरेलाई बैशाख २ गते कार्यकारी अध्यक्षमा नियुक्त गरिसकेका छन् ।

त्यस्तै पर्यटन क्षेत्रमा तीन दशकदेखि कार्यरत शेर्पा हेलिकप्टर कम्पनी अल्टिच्युट एयरका अध्यक्ष हुन् । पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्य शेर्पाको लगानीमा सगरमाथा पदयात्रा क्षेत्रमा पर्ने क्वाङदेमा रिसोर्ट, फाक्दीङमा होटल र काठमाडौंमा ट्रेकिङ कम्पनी छ ।

निगमको सञ्‍चालक समितिमा ६ जना रहने व्यवस्था छ । जस्मा सरकारका तर्फबाट अर्थ र पर्यटन मन्त्रालयका दुई जना सहसचिव रहन्छन् । बाँकी तीन जनालाई पर्यटन मन्त्रालयले नियुक्त गर्छ । बाहिरबाट जाने तीन सदस्यमा एक जना वायुसेवासँग सम्बन्धी विज्ञता भएको र दुई जना निजी क्षेत्रको प्रतिनिधित्व गर्छन् ।

गत साउनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने व्यवसायी निमा नुरु शेर्पा र मुक्तिराम पाण्डेको कार्यकाल सकिएपछि निगममा दुइटा सञ्‍चालक समिति सदस्य पद खाली थियो ।

प्रकाशित : असार १५, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?