कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आवेगले धेरै आत्महत्या

पारिवारिक कलह, हिंसा र तनावका कारण आत्महत्या गर्ने बढ्दै
अमृता अनमोल

बुटवल — अर्घाखाँचीको शीतगंगा नगरपालिका–५, जकेनाका देवबहादुर विकले असार २ गते क्वारेन्टाइनमै आत्महत्या गरे । आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि तनावमा रहेका उनले राति रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

आवेगले धेरै आत्महत्या

४५ वर्षीय उनी पारिवारिक तनाव र ऋणको बोझमा थिए । अति विपन्न परिवारका उनले कोरोना पुष्टि भए कसरी साहूको ऋण तिर्ने र घर खर्च चलाउने भन्दै आवेशमा आएर आत्महत्या गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ ।

जेठ २२ मा बुटवल–११ की १९ वर्षीया सिर्जना बस्यालले आत्महत्या गरिन् । घरकै कोठामा पासो लगाएको अवस्थामा उनी भेटिइन् । प्रहरी अनुसन्धानमा पारिवारिक कलह र प्रेमवियोगका कारण आत्महत्या गरेको उल्लेख छ । ‘अन्तरजातीय प्रेम घरलाई स्वीकार्य थिएन । यही कारण घरमा बसेकी हजुरआमा र विदेश रहेका अभिभावकसँग झगडा भइरहन्थ्यो,’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘जसका कारण उनी आवेशमा आइन् र मृत्यु रोजिन् ।’

कोरोना भाइरसको सन्त्रास र लकडाउनले अहिले धेरै मानिस घरमै छन् । परिवारका सदस्य सँगसँगै छन् । यद्यपि, पारिवारिक कलह, हिंसा र तनाव कम हुन सकेको छैन । गरिबी, बेरोजगारी एवं लैंगिक तथा परम्परागत हिंसाका कारण हुने पारिवारिक कलहले मानिस तनावमा छन् । त्यही तनावका कारण आत्महत्या बढेको प्रहरीको तथ्यांक छ । प्रदेश ५ प्रहरीका अनुसार चैत ११ देखि जेठ मसान्तसम्म यहाँ ३ सय १३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये चैतमा ६९, वैशाखमा १ सय १७ र जेठमा १ सय २७ जनाले आत्महत्या गरेका हुन् । सामान्य अवस्थामा व्यक्तिगत, सामाजिक र आर्थिक कारणले आत्महत्या भएका छन् । तिनका कारणमा धेरै पारिवारिक कलहले उत्पन्न हिंसा र आवशेलाई देखाइएको छ । जसमा १ सय ४१ घटना आवेशमा आएर गरेको उल्लेख छ । यसमा आफन्तबाट हुने हिंसा, भेदभाव, दबाब र कलहका कारण आवेशमा आउने र आत्महत्या गर्ने धेरै छन् ।

पति–पत्नी, बाबु–छोरा, आमा–छोरी, सासू–बुहारीलगायतबीचमा हुने मनमुटाव र कलह बढ्दै जाँदा आत्महत्या गर्ने ५४ जना छन् । गरिबीका कारण २४, प्रेममा धोका पाएर १६ र दीर्घरोगका कारण २२ जनाले आत्महत्या गरेका छन् । ‘लैंगिक तथा सामाजिक विभेदले कलह हुँदै हिंसा जन्माउँदो रैछ । त्यही हिंसा सहन नसकेर आत्महत्या गर्ने धेरै छन्,’ प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले भने, ‘यस्तो समस्या महिलामा बढी देखियो ।’ आफ्ना कुरा निर्धक्क भन्न, समस्यासँग जुध्न नसक्दा चिन्ता एवं छटपटी बढेर आत्महत्या गर्ने पनि धेरै महिला रहेको उनले बताए । चैतयता प्रदेशमा आत्महत्या गर्नेमा १ सय ७७ पुरुष र १ सय २९ महिला छन् । ७ जना यौनिक अल्पसंख्यकले पनि आत्महत्या रोजेका छन् ।

पुरुषको आत्महत्याको कारणमा आवेश र तनाव धेरै छ । प्रहरी अनुसन्धानमा रोजगारी खोसिनु, पारिवारिक चाहना पूरा गर्न नसक्नु, अब जीवन कसरी चलाउने भन्ने डर हुनु र आर्थिक संकटले योजना तुहिएका कारण आत्महत्या गरेका पुरुष धेरै छन् । यस्तो आत्महत्यामा कोरोना भाइरसको सन्त्रास र लकडाउनलाई मुख्य कारण मान्न सकिने प्रहरीको भनाइ छ । उमेरका हिसाबले कमाउने र घरपरिवारको जिम्मेवारी लिने समयका व्यक्तिले आत्महत्या गरेका छन् । जसमा १६ देखि ३५ वर्षका १ सय ८० जना छन् । पेसाका आधारमा आत्महत्या गर्नेमा कृषक, मजदुर र गृहिणी धेरै छन् । किसान १ सय ४४, ज्यामी मजदुरी गर्ने ४५ र गृहिणी ४३ ले आत्महत्या गरेका छन् । बेरोजगार ३० र विद्यार्थी २९ ले आत्महत्या रोजेका छन् ।

प्रहरी अनुसन्धानअनुसार अहिले व्यक्तिमा ससाना कुरामा तनाव लिने, ननिदाउने, चिन्ता लिने र डिप्रेसनमा जाने क्रम धेरै छ । त्यसलाई हटाउन रक्सीलगायतका नसालु पदार्थ खाँदा घरझगडा बढ्छ । यसले मानसिक छटपटी र चिन्ता बढाउने र त्यही कारण आत्महत्या गरेका घटना धेरै छन् । प्रदेश प्रहरी प्रवक्ता वैदवारले लकडाउनमा भएको आत्महत्याको कारण यकिन नभए पनि हिंसा र आर्थिक कारण प्रमुख रहेको बताए ।

मनोविश्लेषक डा. नारायण पन्थ भने लकडाउन जति लम्बियो त्यति आत्महत्या दर बढ्ने बताउँछन् । ‘एकातिर हिंसा बढेका छन् । त्यसको सरल कानुनी उपचार र व्यवस्थापन नहुँदा आत्महत्या दर बढेको छ । अर्कोतिर महत्वाकांक्षा धेरै भएका मान्छे अहिले खुम्चिएका छन्, एक्लिएका छन् र आर्थिक समस्या भोगेका छन्,’ उनले भने, ‘यिनमा जुध्न नसकी आत्महत्या दर घट्दैन ।’ त्यसका लागि स्थानीय तहले टोलटोलमा सामाजिक मनोविमर्श, नैतिक शिक्षा र सामाजिक क्रियाकलापबारेका कार्यक्रम चलाउनुपर्ने उनले बताए ।

प्रकाशित : असार १५, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?