कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालबाट विदेश लगिएका सांस्कृतिक सम्पत्ति र सम्पदा फिर्ता ल्याउन सकिन्छ : पुरातत्‍व विभाग

काठमाडौँ — विभिन्‍न समयमा नेपालबाट विदेश लगिएका सांस्कृतिक पुरातत्‍वका सम्पत्ति फिर्ता ल्याउन सकिने अवस्था रहेको पुरातत्व विभागले जनाएको छ । विभागका महानिर्देशक दामोदर गौतमले विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्ति फिर्ता ल्याउने नीति बनाएर कदम चालिए त्यसमा सफलता मिल्ने बताएका हुन् ।

नेपालबाट विदेश लगिएका सांस्कृतिक सम्पत्ति र सम्पदा फिर्ता ल्याउन सकिन्छ : पुरातत्‍व विभाग

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा विभागका महानिर्देशक गौतमले सरकारले स्पस्ट नीति बनाए नेपालबाट विदेशमा पुगेका सांस्कृतिक सम्पत्ति र सम्पदाहरूलाई फिर्ता ल्याउन सकिने बताएका हुन् । विदेशबाट सांस्कृतिक सम्पत्ति र सम्पदा फिर्ता ल्याउने स्पष्ट नीति तय गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनसमेत उनले संसदीय समितिलाई आग्रह गरेका थिए ।

‘युनेस्को कन्भेन्सन कन्सल्टिङ फर द प्रिभेन्सन अफ इलिसिट इम्पोर्ट एक्सपोर्ट अफ कल्चर प्रपर्टी’ को नेपाल पक्ष राष्ट्र भएकाले पनि नेपालबाट विदेशमा पुगेका नेपालका सांस्कृतिक सम्पदालाई फिर्ता ल्याउन सकिने गौतमको भनाइ थियो ।

पुरातत्व विभागले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगति र आगामी कार्य योजनाको विषयमा गरिएको छलफलका क्रममा महानिर्देशक गौतमले जनशक्तिको अभाव हुँदा देशका सबै सम्पदाको विकास र संरक्षणको काम प्रभावकारी हुन नसकेको बताए । उनले देशभरका सम्पदालाई हेर्न जम्मा ६५ जनाको दरबन्दी रहेको र काठमाडौं, नुवाकोट र गोरखामा बाहेक कतै पनि कार्यालय नरहेको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्रमा भूकम्पबाट क्षति भएका ९ सय २० सम्पदा मध्ये ४ सय ६० सम्पदाको पुननिर्माण सम्पन्न हुने गौतमको भनाइ थियो ।

स्थानीय तह, प्रदेश सरकार, पुरातत्व विभाग र पुननिर्माण प्राधिकरणबीच समन्वय हुन नसक्दा पुननिर्माणको कामले गति लिन नसकेको सांसदहरूको भनाइ थियो ।

यस्तै सांसदहरुले विभगसँग नयाँ योजना नहुँदा पनि पुरातात्विक सम्पदाहरूको संरक्षण हुन नसकेको बताएका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पुरातत्त्व विभागले नेपालमा रहेका सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास र पुनर्उत्थान गर्न नसकेको स्पस्ट देखिएको बताए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग स्पस्ट कार्ययोजना नहुनु र अर्थमन्त्रालयले समेत यस्तो विषयमा महत्त्व नदिँदा पुरातत्विक सम्पदाको संरक्षणमा समस्या देखिएको बताए ।

सांसद पुष्पा भुसालले नेपालको सांस्कृतिक सम्पदाको संरक्षणका लागि नयाँ ढंगबाट योजना बनाउन विभागका महानिर्देशक गौतमलाई आग्रह गरेकी थिइन् । नेपालको पर्यटन विकासका लागि पनि नयाँ ढंगबाट योजना ल्याएर पुरातात्त्विक सम्पदको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

नेकपाका सांसद नारनमुनि रानाले विभागले स्थानीय तहसँग समन्वय गर्न नसक्दा सांस्कृतिक सम्पदाको संरक्षण हुन नसकेको बताए । यस्तै पशुपति क्षेत्रमा भएका महत्त्वपूर्ण पुरातात्‍विक वस्तुहरू विभिन्न व्यक्तिको घरमा पुगेको, विदेशमा पुगेकोले त्यसलाई फिर्ता गर्न विभागको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

बैठकमा सांसदहरूले भूकम्पपछि क्षति हुन पुगेका सम्पदाको पुननिर्माणलाई तिव्रता दिन आफ्नो भूमिकालाई थप प्रभावकारी रूपमा अगाडि बढाउन विभागलाई आग्रह गरेका छन् । यस्तै सम्पदाहरूको खोज र अनुसन्धान कार्यलाई अगाडि बढाउन र प्राप्त भएका पुरातात्विक सम्पत्तिहरूको व्यवस्थित संरक्षण गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।

प्रकाशित : असार १४, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?