कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समातिए हाइप्रोफाइल वन्यजन्तु तस्कर

अब्दुल्लाह मियाँ

काठमाडौँ — फरार भएको करिब १६ वर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विदेश घुम्दै नेपालका वन्यजन्तु तस्करी गर्ने एक जना हाई प्रोफाइल वन्यजन्तु तस्करलाई पक्राउ गरेको छ ।

समातिए हाइप्रोफाइल वन्यजन्तु तस्कर

२०६२ को भदौ १६ गते रसुवाको साविक स्याफ्रु गाविस ९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुको ठूलो संख्यामा अंग बरामद गरिएको थियो । ती वन्यजन्तु ओसार पसार र बेचविखनमा संलग्‍न भएको भनिएका तर फरार सूचीमा रहेका कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई सीआईबीले असार ११ गते काठमाडौंमा समात्‍न सफल भएको हो ।

वन्यजन्तुका विभिन्‍न ठूला अपराधमा संलग्‍न भएका भनिएका उनी सीआईबी र इन्टरपोलसमेतको सर्वाधिक खोजीको सूचीमा थिए । नागरिकता र बोलाइने नाम फरकफरक भएको र उनको नामसँग मिल्ने धेरै व्यक्ति भएकाले प्रहरीले उनलाई समात्न सकेको थिएन । हुम्लाको नाम्खा गाउँपालिका ६ (साविक लिमि गाविस ४) का स्थायी बासिन्दा उनको अस्थायी ठेगाना काठमाडौं, बौद्ध हो ।

काठमाडौं महानगरपालिका ६ सिमलटारबाट पक्राउ गरिएका उनलाई सीआईबीले शुक्रबार लामटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । अहिले उनी धुन्चेस्थित निकुञ्ज कार्यालयको थुनुवा कक्षमा छन् । निकुञ्जकी प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) शुष्मा रानाले सरकारी वकिलसँग राय लिएर तामाङलाई कारबाहीका लागि आइतबार जिल्ला अदालतमा पेश गर्ने तयारी भएको जानकारी दिइन् ।

२०६२ को भदौ १६ मा सुराकीको सूचनाका आधारमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले स्याफ्रुबेसीबाट ५ वटा पाटेबाघको छाला, ३६ वटा चितुवाको छाला, २३८ वटा ओंतको छाला र ११३ किलो बाघको हड्डीसहित ५ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेका सबै कैद सजाय पाएर निस्किसकेका छन् ।

निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत जगन्नाथ सिंहले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा भएको व्यवस्थानुसार अधिकतम सजाय फैसला गरे पनि सर्वोच्च अदालतको आदेशअनुसार ७ वर्ष कैद भुक्तान गरेर निस्किएका छन् । ऐनमा बाघलगायतका वन्यजन्तुको हकमा ५ देखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ । उक्त घटनामा कुन्जोकसहित ३ जना फरार थिए । अरु दुई जना निटुप लामा र ढण्डुप लामा फरार सूचीमै छन् ।

वन्यजन्तु अपराधबारे अनुसन्धान गरेका कुमार पौडेलका अनुसार कुन्जोक अमेरिकालगायतका मुलुक आउजाउ गरिरहन्थे । लामो समय उनी अमेरिका बसेर केही अघि नेपाल फर्किएका हुन् । नेपालमा भएका बखत सीआईबीले कुन्जोकलाई भेटे पनि नाममा अलमल भएका कारण उनलाई पक्राउ गरेको थिएन ।

विगतमा नेपालका विभिन्न स्थानमा वन्यजन्तुसम्बन्धि अपराधमा पक्राउ परेका व्यक्तिहरूले आफूहरूले कुन्जोककै लागि काम गर्ने गरेको बताउने गरेबाट उनी 'हाइप्रोफाइल' तस्कर भएको पुष्टि हुने अनुसन्धानकर्ता पौडेलको तर्क छ ।

उनलाई संशोधित निकुञ्ज ऐनमा भएको व्यवस्थाअनुसार कारबाही प्रस्ताव गर्ने तयारी छ । बाघलगायतका संरक्षित वन्यजन्तुको कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद, ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : असार १३, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?