कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतबाट फर्किए १४६ जना नेपाली

नवीन पोखरेल

लन्डन — लकडाउनका कारण लामो समयदेखि बेलायतमा रोकिएका १ सय ४६ नेपाली लिएर पहिलो चार्टर फ्लाइट बुधबार दिउँसो नेपाल प्रस्थान गरेको छ ।

बेलायतबाट फर्किए १४६ जना नेपाली

दिउँसो २ बजेर ५० मिनेटमा लन्डन गेटविक विमानस्थलबाट जजिरा एयरलाइन्सको ‘ए ३२० एयरबस’ नेपाल उडेको हो । विमान कुवेत ट्रान्जिट हुँदै बिहीबार बिहान ११ बजेतिर काठमाडौंमा अवतरण हुने जनाइएको छ । जहाजको १ सय ५० सिट क्षमता भएपनि पछि केहीले टिकट रद्द गरेका हुन् । नेपाल फर्कन लागेका नेपाली केही हदसम्म खुसी देखिन्थे तर बाध्यताको यो फर्काइ उनीहरूमा त्यति उत्साहजनक थिएन ।

राजदूत दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरनसहित दूतावास कर्मचारी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलगायत बिदाइ गर्न विमानस्थल पुगेका थिए ।

भ्रमणका क्रममा भिसा म्याद समाप्त भएका, रोजगारी गुमाएर बिचल्ली परेका, अध्ययनका क्रममा आएर हाल पूरा गर्न असमर्थ रहेका विद्यार्थी, तालिमका लागि आएका सरकारी कर्मचारी, सेना, परीक्षा दिन आएका चिकित्सक एवं पारिवारिक तथा अन्य कारणले फर्किनुपर्ने नेपाली उडानमा छन् । उनीहरू नेपाल पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

कोभिड–१९ महामारीको परिणामस्वरूप बन्दाबन्दीले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्यान्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने व्यवस्था सरकारले गरेको थियो ।

दोस्रो उडान शुक्रबार जुन २६ का दिन उही समय र विमानस्थलबाट उड्ने तालिका छ । दूतावासले अर्को उडानमा पर्याप्त सिट बाँकी रहेको जनाउँदै टिकेट लिइहाल्न अनुरोध गरेको छ ।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता आरनले पहिले करिब ५ सय नेपालीले फर्कन नाम दर्ता गरे पनि अन्तिममा धेरैले रद्द गरेपछि अर्को उडानको सिट भरिन हम्मे परेको बताए ।

दूतावासले यसअघि कोरोनाको पीसीआर तथा आरडीटी परीक्षण गरी नेगेटिभ रहेको प्रमाणपत्र अनिवार्य पेस गर्न भनेपछि कतिपयले झन्झटिलो बताएका थिए । बेलायतमा कोभिड–१९ संक्रमण फैलने क्रम घटेर लकडाउन खुकुलो भइरहँदा कतिपय फर्कने मनस्थितिमा रहेका विद्यार्थीले पनि मन परिवर्तन गरेका बताइएको छ । भाडा ९ सय २० पाउन्डलाई पनि कयौंले महँगो बताएका थिए ।

तर, दूतावासले पछि प्राविधिक वा अन्य कारणवश टेस्ट गर्न नभ्याएको वा सम्भव नभएको अवस्थामा पनि काठमाडौं जान सकिने र काठमाडौंमा कोरोना टेस्टपश्चात् रिजल्ट नेगेटिभ भएमा होम क्वारेन्टाइनमा रहन सकिने बताएको थियो । बेलायतमा रोकिएका नेपालीको तथ्यांक संकलनमा एनआरएनए यूकेले पनि सहयोग गरेको थियो ।


स्वदेश फर्किनुअघि बेलायतको गेटविक विमानस्थलमा बुधबार नेपालीहरु । तस्बिर सौजन्य : शिव भण्डारी


प्रकाशित : असार १०, २०७७ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?