राष्ट्रपतिले बुधबार साँझ शीर्ष नेताहरुसँग सामूहिक छलफल गर्ने
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छन् ।
राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कान्तिपुरलाई बताए ।
मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको अधिकारीले बताए । लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले चियापानको कार्यक्रम आयोजना गर्न लागेको हो भन्ने जिज्ञासामा राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले उल्टै प्रश्न गर्दै भने,'यो कोरोना महामारी र लकडाउनका बेला पनि काहीँ चियापनको कार्यक्रम हुन्छ ?'
प्रकाशित : असार १०, २०७७ ११:०७